बर्दियामा जंगली हात्तीबारे पहिलो पटक अध्ययन गरिंदै

बर्दिया/भावुक योगी


बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र र खाता जैविक मार्ग तथा कर्णाली जैविक मार्गमा समुदायमा आधारित जंगली हात्तीको अध्ययन र अनुगमन कार्य सुरु गर्न थालिएको छ । सम्भवतः नेपालमै पहिलो पटक व्यवस्थित रुपमा जंगली हात्तीको अध्ययन र अनुगमन गर्न थालिएको हो ।

 
जंगली हात्तीको बढी प्रकोप रहेको गेरुवा नदी तटीय क्षेत्रको पाताभार, गोला, मनाउ, पशुपतिनगर, खाता जैविक मार्गमा पर्ने सूर्यपटुवा, ठाकुरद्वाराको भूभागका साथै शिवपुर, नेउलापुर र बगनाहा क्षेत्रमा जंगली हात्ती अनुगमनका लागि चोरीशिकार नियन्त्रण युवा परिचालन अभियान र रेपिड रेस्पोन्स टीम (आरआरटी) को टोली परिचालन गरिंदैछ ।
जंगली हात्ती सम्बन्धि अध्ययन यही बैशाख पहिलो सातादेखि चैत्र मसान्तसम्म एक वर्ष सञ्चालन गरिने उज्यालो नेपाल बर्दियाका अध्यक्ष रमेशकुमार थापाले जानकारी दिए । जंगली हात्तीको अध्ययन र अनुगमन गर्न थालिएको सम्भवतः नेपालमै पहिलो भएको जनाइएको छ । ‘जंगली हात्तीको संख्या कति रहेछ, कति हात्ती निकुञ्ज बाहिर आए, के कति नोक्सानी पुर्याए, के गर्दा निकुञ्ज भित्र भागे भन्ने रिपोर्ट तयार गर्न लागिएको हो,’ बर्दिया निकुञ्जका निर्वतमान प्रमुख संरक्षण अधिकृत एवं उज्यालो नेपाल बर्दियाका अध्यक्ष रममेश कुमार थापाले भने ।

 
जंगली हात्तीको आवागमन, हात्तीको संख्या, हात्तीले गर्ने हानी नोक्सानी र गाउँमा पसेका हात्ती धपाउन कुन प्रबिधि प्रभावकारी हुन्छ भन्ने समेत अध्ययन गरिने जानकारी चोरीशिकार नियन्त्रण युवा परिचालान अभियान सञ्जाल बर्दियाका अध्यक्ष हेमन्त प्रसाद आचार्यले दिए । हात्ती अनुगमनका लागि खटिएका रेपिड रेस्पोन्स टिमका सदस्यहरुलाई उज्यालो नेपाल बर्दियाले इन्टरनेसनल एलिफेन्ट फाउन्डेसनको सहयोगमा २५ जना आरआरटी सदस्यहरुलाई तालिम दिई क्यामरा, जिपिएस, झोला, युनिफर्म र फिल्ड सामाग्रीहरु बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले वितरण गरेको भएको उज्यालो नेपालका अध्यक्ष थापाले बताए ।

 
पछिल्लो समय बर्दिया निकुञ्ज आसपासका क्षेत्रमा वर्षेनी जंगली हात्तीबाट जनधनको क्षति पुर्याउने क्रम बढेको छ । बर्दिया निकुञ्जमा एक सयको हाराहारीमा जंगली हात्ती रहेको अनुमान गरिएको छ । यसैबीच उज्यालो नेपाल बर्दियाको आयोजनामा जंगली हात्ती संरक्षणका लागि सरोकारवालाहरु बिच एक दिने कार्यशाला गोष्ठी ठाकुरद्धारामा आयोजना समेत गरिएको थियो ।

 
उज्यालो नेपाल बर्दिया, बर्दिया निकुञ्ज, राष्ट्रिय प्रकृती संरक्षण कोष, युएसफिस एण्ड वाईल्ड लाइफको सहयोगमा सरोकारवालाहरु बिच जंगली हात्तिबाट बच्न पूर्व तयारीका लागि कार्ययोजना बनाउन गोष्ठीको आयोजना गरिएको उज्यालो नेपाल बर्दियाका अध्यक्ष रमेश थापाले बताए । यसैबीच, वन्यजन्तु सप्ताहको अवसर पारेर आयोजना गरिएको हात्ती मेलामा बर्दिया राष्ट्रिय निकुञ्जमा हात्तीको विशेष पूजा गर्न लागिएको छ । नयाँ वर्षसंगै आज सोमबार र मंगलबार निकुञ्जको हात्तीसारमा हात्ती बाँध्ने स्तम्भ सहित हात्तीको पूजा गर्न लागिएको हो ।

 
परम्परागत रूपमा दशैँका अवसरमा हात्तीबाट सुँगुरका पाठा कुल्चाउने परम्परा तथा हात्तीबीच खेलाइने फुटबल प्रतियोगिता अन्त्य गर्दै हात्ती पूजा गर्ने परम्परा थालिएको आयोजक चोरीसिकार नियन्त्रण युवा परिचालन अभियान संजाल बर्दियाका अध्यक्ष हेमन्त आचार्यले जानकारी दिए ।

 
‘संरक्षित जनावरलाई कष्ट नदिने नीति अपनाउँदै बर्दिया राष्ट्रिय निकुञ्जलाई विश्वमा चिनाउने एसियाकै ठूलो हात्ती राजागज निकुञ्जबाट हराएपछि उसैको सम्झनामा एउटै काठबाट निर्माण गरिएको खमारी गाडेका छौं र केही वर्षदेखि हात्तीपूजा गर्ने परम्परा थालनी गरेका छौं’, अध्यक्ष आचार्यले भने ।

 
यस किसिमको कार्यले संरक्षणसँगै स्थानीयको धार्मिक परम्परा जोगाउँदै पर्यापर्यटन विकासमा समेत टेवा पुग्ने विश्वास लिईएको छ । पाँचौं हात्ती मेला तथा पूजाका अवसरमा आउने पर्यटकलाई ध्यानमा राखेर होटल व्यवसायीले लजिङमा छुट तथा प्याकेजको व्यवस्था समेत गरेका छन् ।

 
वन्यजन्तु सप्ताह वैशाख १ देखि ७ गते सम्मको अवसर पारेर आयोजना गरिएको हात्ती मेला तथा पूजाले स्थानीय संस्कृति एवं पर्यापर्यटनमा सहयोग पुग्ने बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए । वन्यजन्तु सप्ताहाको अवसरमा आइतबार नयाँ वर्षको शुभकामना आदानप्रदानसंगै ग्रह शान्तिका लागि ठाकुरद्वारा मन्दिर परिसरमा धार्मिक अनुष्ठान कार्यक्रम समेत गरिएको पर्यापर्यटन विकास मञ्चका अध्यक्ष मोहनलाल चौधरीले जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया