पर्वका बेला मौका छापेर चोरी गर्ने एउटा गिरोहलाई पक्राउ गर्न बाँके प्रहरी सफल भएको छ । चैते दशैंको अवसरमा नेपालगन्जको प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरमा भक्तजनहरुको गहना चोर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेले अनुसार, पाँच जना गहना चोर्ने कार्यमा संलग्न भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो । त्यसबाहेक नेपाली तीन जना युवा र दुई भारतीय महिलालाई पनि प्रहरीले चोरी कार्यमा संलग्नताको आशंकामा छानबिनका लागि नियन्त्रणमा लिएको छ ।
‘पर्वका बेला भीडभाड हुने ठाउँमा चोरी गर्नका लागि ग्याङ नै भारतबाट आउने गरेको खुलेको छ’, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक दिपक मल्लले भने, ‘नियन्त्रणमा परेकाहरुले कहाँ के–के अपराध गरेका छन् भन्ने अनुसन्धान भैरहेको छ । उनले चोरी गर्ने कार्यमा संलग्न भारत विहारका रमेश रावत, सुजित प्रसाद, विनोद रावत, प्रमेश राई र निपेन्द्रकुमारलाई पक्राउ गरिएको जानकारी दिए । उनीहरुबाट दुई थान सिक्री समेत बरामद भएको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेको गिरोह भीडभाडको मौका छोपी चोरी गर्न केही दिनदेखि नेपालगन्जको एउटा होटलमा कोठा नै लिएर बसेको पाइएको प्रहरी निरीक्षक मल्लले बताए । उनीहरु बुटवलको बाटो हुँदै नेपालगन्ज आएको अनुसन्धानका क्रममा खुलेको मल्लले बताए ।
चैते दशैकै बेला बिहीवार र शुक्रवार मन्दिरमा पुजा गर्न पुगेकी नेपालगन्ज निवासी सरस्वती रसाइली र तारादेवी मल्लले लगाएको सिक्री चोरी भएपछि प्रहरी सक्रिय भएको थियो । सरस्वतीको डेढ तोला तथा मल्लको तीन तोलाको सिक्री चोरी भएको बताइएको छ ।