बैकल्पिक रंगशालाको सपना

सतिश निरौला

नेपालगन्ज पुरानो सहर, यहाँ धेरै हुनुपर्ने हो तुलनात्मक रूपमा अन्य सहर भन्दा । तर, नेपालगन्ज अलि पछि नै छ । हामी कहाँ अहिले एउटा पुरानो रंगशाला छ जुन अब नेपालगन्जमा हुन गइरहेको आठौं राष्ट्रिय खेलकुदका कारण पुनर्जीवन मात्र होइन भब्यतम रूपमा तयार हुने कुरामा नेपालगन्ज बासी आशावादी छन् ।

 
२०७५ सालको नेपालगन्ज गोल्डकप फुटबल प्रतियोगिता नेपालगन्ज रंगशालाको दुर्दशाका कारण नेपालगन्जमा हुन सकेन र त्यस खेल नेपालगन्जदेखि करिब करिब ८ किलोमीटर टाढा रहेको आदर्श आधारभूत स्कुल को खेलमैदान मा खेलाइयो । खजुरामा रहेको पुरानो क्लब न्यू डाँफे स्पोर्ट्स क्लबको रेखदेख र संरक्षणमा रहेको उक्त फुटबल मैदान त्यतिबेलाबाट नै नेपालगन्ज रंगशालाको विकल्पको रूपमा हेरियो र राष्ट्रिय स्तरको नेपालगन्ज गोल्डकप पनि उक्त मैदान मा नै खेलाइयो ।खेलकुदका गतिविधिमा अब्बल ठाउँका रूपमा बाँके जिल्लामा नै स्थापित र चर्चित ठाउँ हो खजुरा । खजुराले थुप्रै खेलाडीहरु उत्पादन गरेको छ र खजुराबाट थुप्रै खेलाडीहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा समेत सहभागिता जनाइसकेका छन् ।

 
खजुरामा नेपालगन्ज गोल्डकप फुटबल हुँदै गर्दा अब खजुरामा बैकल्पिक रंगशाला त्यही आदर्श आधारभूत स्कुल को खेलमैदानमा बनाउ भन्ने अभियानको उठान भयो । तर, बिडम्बना नै भन्नुपर्छ जब त्यो बिषयले जिल्ला ब्यापी चर्चा पायो अनि योजना तयार हुनु पूर्व नै चर्को बिरोध र अबरोधको सामना गर्नु पर्यो । लाखौं रुपैयाँको सहयोग गर्न तम्तयार रहेका सहयोगीहरुका सहयोगका लागि उठेका हातहरु त्यसै रहे ।

 
अहिले आएर आठौं राष्ट्रिय खेलकुदको महिला फुटबल पनि यही खेल मैदानमा हुने चर्चा सङ्गै फेरि रंगशाला सपना एकपटक ब्युझिएको छ । बाँके जिल्लामा रहेका अन्य पालिकाको तुलनामा खजुरा गाउँ पालिका सहर उन्मुख र केही गर्न सक्ने अब्बल गाउँ पालिकाको भन्दा नाजायज हुँदैन । झन्डै झन्डै नगरपालिका भैसकेको खजुरा सर्बोच्च अदालतको आदेशले फेरि गाउँपालिका मै फर्किएको हो ।

 
खजुरा त्यो ठाउँ हो जहाँ जनता आफैं जागेर देशकै नमूना नेपाल क्यान्सर अस्पताल बनाए र पछि त्यसको स्वामित्व नेपाल सरकारले ग्रहण गरि सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बनायो । खजुराका जनताको अगुवाइ गर्दै क्यान्सर अस्पतालको नेतृत्व गर्ने किस्मत कुमार कक्षपति नै अहिले गाउँपालिकाको प्रमुख हुनुहुन्छ अब खजुरामा बैकल्पिक रंगशालाको जिम्मेवारी गाउँ पालिकाले लिनुपर्छ र जनता र स्थानीय सरकारको संयुक्त हातेमालोमा खजुरामा बहुउद्देश्यीय रंगशाला निर्माण प्रक्रियालाई अगाडि बढाउन पर्छ ।

 
खजुरामा रहेको निजी विद्यालयहरुको संगठन इशाकाले खेल उत्सवको रूपमा भब्य खेलकुदको कार्यक्रम बिगत ३ बर्षदेखि गर्दै आएको छ भने यसबर्षबाट गाउँपालिकाले समेत मेयर कप खेलकुदको कार्यक्रमको सुरूवात गरेको छ । न्यू डाँफे स्पोर्ट्स क्लब, बि गाउँ, राधापुर सैनिक सितापुर, उढरापुर लगायतका ठाउँमा प्रत्येक बर्ष विविध खेलकुदका कार्यक्रमहरु हुने गरेका छन् भने दर्पण युवा क्लब इ गाउँले प्रत्येक बर्ष क्रिकेटको टुर्नामेन्ट बिगत लामो समय देखि नियमित गर्दै आएको छ । अब खजुराको अर्को पहिचानका रूपमा खजुरालाई खेल पर्यटकीय पालिकाका रूपमा चिनाउन पनि खजुरा रंगशाला चाहिन्छ ।

प्रतिक्रिया

प्रतिक्रिया