पुजारीमाथि हातपातको आरोप
बागेश्वरी मन्दिर परिसरमा फुल प्रसादको कारोबार गर्ने पाँच जना व्यापारीलाई बाँके प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ ।
प्रहरी स्रोतका अनुसार, बागेश्वरी मन्दिरका पुजारी चन्द्रनाथ योगीमाथि हातपात गरेको आरोप उनीहरुमाथि लगाइएको छ । सम्बद्धका अनुसार, मन्दिर परिसरबाट उनीहरुलाई हटाउन लागिपछि गुनासो गर्न गएका महिलाहरुलाई महन्तले असुरक्षा भयो भन्दै प्रहरी बोलाएर जिम्मा लगाएका हुन् । उनीहरुमाथि मुद्दा नचलाइए पनि हिरासतमै राखिएको छ ।
सम्बद्ध स्रोतका अनुसार, बागेश्वरी मन्दिरलाई कुरुप बनाउने गरी बर्षौदेखि राखिएका झोपडपट्टी हटाएर सटर बनाएको बागेश्वरी मन्दिर गुठीले त्यसक्रममा गरेको सहमति कार्यान्वयन खोज्दा व्यापारीहरु माथि धरपकड भएको हो । ‘चाडपर्वका बेला मन्दिर परिसरमै फुलप्रसाद बेच्न पाउने सहमति गरिएको थियो’, व्यापारीहरु भन्छन्, ‘गुठीले समेत गरेको सहमति कार्यान्वयन ध्यानाकर्षणका लागि महन्तलाई भेट्दा उल्टै थुनाइयो ।’ चैते दशैं लागेपछि फुलप्रसादको पसल राख्नेहरुले महन्तसँग सहमति कार्यान्वयनका लागि पुगेका बेला भनाभन भएपछि स्थिति तनावपूर्ण भएको बताइएको छ ।