आकर्षक बन्दै बागेश्वरी, थप २ करोडको योजना

मुलुककै प्रतिष्ठित धार्मिक शक्तिपिठका रुपमा रहेको नेपालगन्ज स्थित बागेश्वरी मन्दिर परिसरलाई आकर्षक बनाउन थप दुई करोड खर्च गरिने भएको छ । बागेश्वरी मन्दिर गुठीले मन्दिर परिसरको सुन्दरिकरणका लागि दुई करोड खर्च गर्न लागेको अध्यक्ष समेत रहेका नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल समशेर राणाले जानकारी दिए ।

 
दुई दशकपछि स्थानीय तहले जनप्रतिनिधि पाएसँगै बागेश्वरी मन्दिर गुठीको पुनर्संरचना गरिएको थियो । त्यससँगै राजनीतिक, सामाजिक तथा विभिन्न क्षेत्रका प्रतिनिधिमूलक सहभागितामा मन्दिर गुठी सञ्चालक समिति स्थापना भएयता मन्दिरलाई आकर्षक बनाउँदै जान लागिएको हो । ‘स्रोत व्यवस्थापन गर्दै बागेश्वरी परिसरलाई आकर्षक बनाउने काम भैरहेको छ’, गुठीका अध्यक्ष डा. राणाले दैनिक नेपालगन्जसँग भने, ‘१८ लाख बढी विद्युत बक्यौता सहित जिम्मेवारी सम्हालेको हाम्रो समितिले सबै बक्यौता तिरेर झण्डै २५ लाख बैंक व्यालेन्स गर्न सफल भएको छ ।’ अध्यक्ष डा. राणाले बागेश्वरी चिटिक्क पर्दै गएको जानकारी दिंदै भने, ‘बागेश्वरी तलाउमा पानीको फोहरा लगाउनेदेखि पश्चिम तर्फको सडक चौडा पार्ने काम छिट्टै अगाडि बढ्छ ।’

 
सरसफाईलाई विशेष ध्यान दिएको बागेश्वरी गुठीले पछिल्लो एक बर्ष यतामात्रै सतसंग भवनदेखि २२ वटा व्यवसायिक सटर निर्माण गरेर मन्दिरलाई कुरुप बनाइरहेको झोपडपट्टी हटाउन सफल भएको गुठीका सदस्य मधुसुदन शर्माले जानकारी दिए । ‘मन्दिरलाई दीर्घकालीन योजना बनाएर अगाडि बढाउन जरुरी छ’, शर्माले दैनिक नेपालगन्जसँग भने, ‘अबको ध्यान त्यतातर्फ जानुपर्छ ।’

 
बागेश्वरी मन्दिरमा बाल उद्यान निर्माणाधिन छ भने तलाउमा पहिलो पटक आन्तरिक पर्यटकलाई लक्षित गरी बोटिङ्ग विहारको व्यवस्था मिलाइएको छ । यसैबीच, प्रदेश ५ सरकारले प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरलाई संरचनागत सहयोगमा हातेमालो गर्ने भएको छ । प्रदेश सरकारका कृषि तथा सहकारी मन्त्री आरती पौडेलका अनुसार, प्रदेश सरकारले बागेश्वरी मन्दिर, स्वर्गद्वारी र पाल्पाको केलादीघाटलाई सहयोग गर्ने योजना अघि सारेको हो ।

 
‘सुरुवात बागेश्वरी मन्दिरबाटै गर्ने योजनामा छु’, मन्त्री पौडेलले मंगलबार बागेश्वरी गुठीको बैठकमा आफ्नो सहभागिता हुन लागेको जानकारी दिंदै भनिन्, ‘गुठीको आयआर्जनमा सहयोग गर्दै दीर्घकालीन रुपले स्रोत व्यवस्थापनका आधारहरु तयार गर्ने हिसाबले प्रदेश सरकारको हातेमालो अगाडि बढाउने सोंच छ ।’

प्रतिक्रिया

प्रतिक्रिया