भेरीमा अर्थाेस्कोपी प्रबिधिबाट कुम र घुँडाको शल्यक्रिया

कृष्ण अधिकारी

 

नेपालगन्जको भेरी अस्पतालले अर्थाेस्कोपी प्रविधिबाट घुँडा र कुमको शल्यक्रिया गरी बिरामीको उपचार सुरु गरेको छ ।
नेपालका सरकारी अस्पतालहरु मध्ये काठमाडौको राष्ट्रिय ट्रमा सेन्टर र चितवनको भरतपुर अस्पतालमा मात्रै उपलब्ध भएको आर्थाेस्कोपी सेवालाई देशका प्रमुख सरकारी अस्पतालहरुमा बिस्तार गर्ने क्रममा नेपालगन्जमा आर्थाेस्कोपी क्याम्प राखेर उपचार सेवा सुरु गरिएको हो ।

 
सैनिक अस्पताल काठमाडौका अर्थाेपेडिक सर्जन डा अमित जोशीको नेतृत्वमा भेरी अस्पतालका अर्थाेपेडिक सर्जन डा तिर्थेन्द्र खड्का सहितको चिकित्सकहरुको टोलीले दुरपिनका माध्यमबाट घुँडा र कुम भित्रको मांसपेशी, नशा तथा कुरकुरे हाडमा भएको समस्याको शल्यक्रिया गरि उपचार गरेका हुन् ।

 
सम्बद्ध विज्ञका अनुसार, आर्थाेस्कोपी सेवामा दुरविनको माध्यमबाट सानो प्वाल बनाएर जोर्नी भित्र अत्याधुनिक पद्दतिको प्रयोग गरी बिरामीको उपचार गरिन्छ । बिभिन्न कारणले घुँडा र कुममा समस्या भएका बिरामीहरुलाई सहज रुपमा उपचार सेवा पुराउने उद्देश्यले भेरी अस्पतालले सैनिक अस्पताल काठमाडौसंग समन्वय गरेर अप्रेशन क्याम्प संचालन गरेको हो ।

 
यस पटकको क्याम्पमा ८ जना बिरामीको अप्रेशन गरी उपचार गरिने अस्पतालका अर्थाेपेडिक सर्जन डा तिर्थेन्द्र खड्काले बताए । दुर्गम क्षेत्रका गरिब तथा बिपन्न समुदायका बिरामीहरुलाई सहज रुपमा उपचार सेवा प्रदान गर्ने उद्देश्यले भेरी अस्पतालमा आर्थाेस्कोपी क्याम्प मार्फत बिरामीहरुको घुँडा र कुमको शल्यक्रिया गरिएको सैनिक अस्पताल काठमाडौका अर्थाेपेडिक सर्जन डा. अमित जोशीले बताए ।

 
काठमाडौका निजी अस्पातलहरुमा आर्थाेस्कोपी मार्फत घुडा तथा कुमको अप्रेशन गर्दा अप्रेशन चार्ज मात्रै करिब एक लाख रुपैयामा लाग्ने भए पनि भेरी अस्पतालले अप्रेशन शुल्क ४ हजारमा मात्रै लिने गरेका छ । अप्रेशन र औषधीहरु समेत गरेर करिब ८० हजारमा बिरामीहरुले उपचार सेवा पाएका छन् । भेरी अस्पतालमा सहज रुपमा उपचार सेवा पाएको बर्दियाका बिरामी शिब दमाईले बताए । नेपालगन्जमै आर्थाेस्कोपी सेवा सुरु भए पछि यस क्षेत्रका बिरामीहरु लाभान्वित भएका छन ।

प्रतिक्रिया

प्रतिक्रिया