बाँके : होलीमा सय जना समातिए

ट्राफिक प्रहरीद्वारा ४८ वटा दुई पाङ्ग्रेलाई कारवाही, २६ हजार राजश्व संकलन

 

होलीमा उच्छृङ्खल गतिविधि गरेको आरोपमा प्रहरी र ट्राफिकले झण्डै १ सय जनालाई नियन्त्रणमा लिएको छ । मापसे गर्ने, झैझगडा गर्ने, नियम विपरित सवारी साधन चलाउने ९६ जना प्रहरी नियन्त्रणमा परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेले १६ जनालाई नियन्त्रणमा लिएको छ । ‘नियन्त्रणमा परेकालाई दिनभर राखेर बिहीबार साँझ छाडिएको छ’, जिल्ला प्रहरी कार्यालय बाँकेका, प्रहरी निरीक्षक दिपक मल्लले भने, ‘प्रहरी सतर्कताका कारण कुनै अप्रिय घटना भएनन् ।’ प्रहरीले होलीलाई मध्यनजर माइकिङ्ग गरी सचेत बनाएको थियो भने नगरमा प्रहरी निगरानी बढाएको थियो ।

 
इलाका प्रहरी कार्यालय कोहलपुरले होलीमा ३३ जनालाई नियन्त्रणमा लियो । ‘मादक पदार्थ रक्सी सेवन गरी नियम विपरीत सवारी साधन चलाउने, उछ्श्रृखंल गतिबिधि गरी शान्ति सुरक्षामा खलल पुर्याउने लगायतका कार्य गर्नेलाई नियन्त्रणमा लिइएको’ प्रहरीले जानकारी दिएको छ । नियन्त्रणमा लिइएका सबैलाई बिहीबार साँझ नै अभिभावकको जिम्मा लगाएको प्रहरीले बताएको छ ।

 
होलीमा सबैभन्दा बढी जिल्ला ट्राफिक कार्यालय बाँकेले कारवाही गरेको छ । जसमा सबै मोटरसाइकल चालकहरु मात्रै रहेका छन् । ‘नियम विपरित जथाभावी मोटरसाइकल चलाउन ४८ जनालाई कारवाही गरिएको हो’, जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख, प्रहरी निरीक्षक हिरेन्द्र रोकायले भने, ‘उनीहरुबाट करिब २६ हजार राजश्व समेत संकलन भएको छ ।’ ट्राफिक प्रहरीको कारवाहीमा पर्नेमा ५ वटा मापसेका छन् ।

 
पर्वका बेला मापसे सेवन गरी सवारी चलाउँदा दुर्घटना हुने र ज्यान जाने जस्ता घटनाहरु विगतमा भएका थिए । ‘दुर्घटना न्यूनीकरणका लागि हामी सडकमा चेकजाँच कडा बनाएका थियौं’, जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख, प्रहरी निरीक्षक रोकायले भने ।

प्रतिक्रिया

प्रतिक्रिया