भ्रष्टाचार विरुद्ध क्रियाशिल संस्था, बासको केन्द्रीय नेतृत्वमा रमेश सिटौला निर्वाचित भएका छन् । शनिबार अबेर राती सार्वजनिक भएको मतपरिणाम अनुसार, सिटौलाले निकटम प्रतिद्वन्ती वहालवाला अध्यक्ष मन भण्डारीलाई ६ भोटले पछाडि पारी नेतृत्वमा निर्वाचित भएका हुन् । अध्यक्ष सिटौलाले ७६ र मन भण्डारीले ७० मत प्राप्त गरेका थिए ।
दुई महिला सदस्य पदका लागि चार जनाको उम्मेदवारी परेकोमा निर्वाचन मार्फत डिला शाह, मुना विष्ट निर्वाचित भए ।
नेतृत्वमा सर्वसम्मतको निरन्तरको प्रयास सफल नभएपछि निर्वाचन संयोजक चन्द्र प्रसाद तिमिल्सिनाले मतदान घोषणा गरेका थिए । त्यसअघि अध्यक्ष र महिला सदस्य बाहेकका पदहरुमा सर्वसम्मत भएको थियो । मतदानमा १ सय ९७ मतदाता मध्ये १ सय ४७ जनाले सहभागिता जनाएका छन् ।
२३ सदस्यीय केन्द्रीय समितिमा दुई जना मनोनित र दुई जना पदेन बाहेक १९ सदस्यको टुङ्गो महाधिवेशनले लगाउने व्यवस्था भएको शाहीले जानकारी दिए । निर्विरोध हुनेहरुमा उपाध्यक्ष लुना बुढाथोकी, महासचिव शिव कुमार बर्मा, सचिव खुमेश सुवेदी र कोषाध्यक्ष छविलाल सुनार छन् ।
प्रदेश १ का संयोजक इश्वर दाहाल, ५ का राधिका गिरी, कर्णालीका रमेश परियार, सुदूरपश्चिमका लक्ष्मी प्रसाद जैसी लगायतका प्रदेश संयोजकहरु पनि सर्वसम्मत भए । खुलातर्फ खेम विष्ट, मेघ रेउले र दशरथ कोरी, मधेशी, मुस्लिम तर्फ मकबुल अहमद मुकेरी, दलित तर्फ मोहनलाल सोनखर लगायत केन्द्रीय सदस्य सर्वसम्मत भए ।
दुई महिला सदस्य पदका लागि डिला शाह, अस्मिता शाह, मुना विष्ट र नुरी कुमारी चौधरीले उम्मेदवारी दिएका छन् । यसअघि शुक्रबार भ्रष्टाचार विरुद्धको चौथो राष्ट्रिय युवा सम्मेलनसँगै बासको आठौं महाधिवेशन शुभारम्भ भएको थियो ।
नयाँ निर्वाचनको परिणामसँगै महाधिवेशन सम्पन्न हुने पूर्व वरिष्ठ उपाध्यक्ष शाहीले जानकारी दिए । भ्रष्टाचार विरुद्धको राष्ट्रिय युवा सम्मेलनले विभिन्न आठ बुंदे घोषणा पनि गरेको थियो ।