योग र ध्यानका लागि बाँकेमा पनि संगठित प्रयास सुरु भएको छ । विश्व प्रसिद्ध संस्था आर्ट अफ लिभिङको नेपालगन्जमा शाखा स्थापना गरि योग र ध्यान साधनाको विस्तारमा संगठित प्रयास थालिएको हो ।
श्रीश्री रवि शंकर संस्थापक रहेको आर्ट अफ लिभिङको भारतको बेंग्लोरमा मुख्यालय छ । काठमाडौंमा नेपालस्थित कार्यालय (एपेक्स बडी) छ । एपेक्स बडीले नेपालगन्जका संजय थापालाई संयोजक तोकेर जिल्ला संयोजन समिति (डीसीसी) गठन गरेर शाखालाई मान्यता दिएको हो । समितिमा पाँच सदस्य रहेका छन् । संयोजक थापाले वार्षिक क्यालेण्डर बनाएर योगका कार्यक्रम सञ्चालन गर्ने बताए । ‘योग साधनाका माध्यमबाट आध्यात्मिक सचेतना फैलाउने गरि संगठित प्रयास गरिनेछ,’ थापाले दैनिक नेपालगन्जसँग भने ।
योग प्रशिक्षक काव्य लम्सालका अनुसार, आर्ट अफ लिभिङले नेपालगन्जमा धेरै वर्ष अघिदेखि योग र ध्यानका कक्षा सन्चालन गरेको भए पनि एक वर्ष यता नियमित रुपमा योग तथा ध्यान शिविर सन्चालन भइरहेको छ । ‘नेपालगन्जमा विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तिहरु योगमा आकर्षित भएका छन्,’ प्रशिक्षक लम्सालले भने, ‘आर्ट अफ लिभिङका स्वयंसेवकहरुको सक्रियता पनि लोभ लाग्दो छ ।’ आर्ट अफ लिभिङले यो साता नेपालगन्ज लगायत देशका २७ वटा स्थानमा एकै पटक योग तथा ध्यान सम्बन्धी प्यान ह्याप्पीनेस प्रोगाम सन्चालन गरेको थियो ।
काठमाडौं, पोखरा, बिर्तामोड (झापा), धरान, विराटनगर, वीरगन्ज, चितवन, बुटवल/भैरहवा, दाङ र नेपालगन्जमा डीसीसी गठन गरिएको आर्ट अफ लिभिङको योग प्रशिक्षक संयोजक पुनम उप्रेतीले जानकारी दिइन् । उनका अनुसार, काठमाडौंमा मात्र नियमित रुपमा योग ध्यानका लागि १३ वटा सेन्टर छन् । देशैभरी दुई दर्जनभन्दा बढी सेन्टरबाट नियमित रुपमा योग र ध्यानका कक्षाहरु सन्चालन भइरहेका छन् ।
शनिबार नेपालगन्जको प्यान ह्याप्पीनेस समापन कार्यक्रमको अवसरमा नेपालगन्ज १८ का वडाध्यक्ष दीपक वर्माले योग र ध्यानबाट युवायुवती लगायत सबैले फाइदा लिनसक्ने बताए । उनले वडाको आगामी बजेटमा योगलाई पनि रकम विनियोजन गर्ने बताए । ६ दिनसम्म सञ्चालन भएको ह्यापिनेस प्रोग्राममा ५८ जनाको सहभागिता रहेको आर्ट अफ लिभिङ नेपालगन्जका स्वयंसेवक सरोज रेग्मीले जानकारी दिए । रेग्मीका अनुसार, यसबीच ४ सयबढीले नेपालगन्जमा ह्यापिनेस कोर्षमा सहभागिता जनाइसकेका छन् ।