उपभोक्ता सचेतन नहुँदा गुणस्तरहीन सामानको प्रयोग

उपभोक्ता सचेत नभएसम्म गुणस्तरीय बस्तु र सेवा उपभोगमा समस्या रहीरहने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । विश्व उपभोक्ता दिवसकको सन्दर्भमा नेपालगन्जमा आयोजित कार्यक्रमका सहभागीहरुले गुणस्तरीय बस्तु तथा सेवा प्रदान गर्न सेवा प्रदायक निकाय प्रतिवद्ध हुनु पर्नेमा जोड दिए ।

 
जिल्ला प्रशासन कार्यालय, बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयको आयोजना र इन्सेक, उपभोक्ता हित संरक्षण मञ्च नेपाल, फियान नेपाल लगायतको सहकार्यमा आयोजित कार्यक्रममा बोल्दै नेपालगन्ज उपमनपाका उपप्रमुख उमा थापा मगरले ब्यवसासी र उपभोक्ता एक अर्काको परिपूरक भएकाले ब्यवसायीले नाफा कमाउने मात्रै नभई उपभोक्ता अधिकारलाई पनि ध्यान दिनु पर्ने बताइन् ।

 
‘गुणस्तरीय बस्तु र सेवामा उपभोक्ताको अधिकारः हामी सबैको सरोकार’ भन्ने मुल नाराका साथ सम्पन्न कार्यक्रममा उपप्रमुख थापाले जबसम्म उपभोक्ता सचेत हुन सक्दैनन् तबसम्म व्यापारीहरुले कसरी नाफा कमाउने भन्ने भएको हुँदा उपभोक्ता सचेत हुनु आवस्यक भएको बताइन् ।

 
उनले उपमनपाभित्र अनुगमन समिति भए पनि आवश्यकता अनुसार अनुगमन गर्न नसकी रहेको स्वीकार्दै अबका दिनमा समन्वय र सहकार्यमा अनुगमनलाई तिब्र बनाउने प्रतिवद्धता जनाइन् । त्यसैगरी प्रमुख जिल्ला अधिकारी मदन भुजेलले नेपालगन्जलाई मात्र फोकस गरेर अनुगमन गरिएको मा यसलाई आठ वटै स्थानीय तहमा अनुगमन समिति गठन गरेर अनुगमनलाई नियमित बनाउनु पर्ने बताए ।

 
उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य अधिवक्ता बसन्त गौतमले उपभोक्ताका अधिकार र उपभोक्ता संरक्षण सम्बन्धि कानुनी प्रावधानको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका प्रमुख कृष्ण पौडेलले अनुगमनमा देखिएका समस्याका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले ब्यवसायीले नाफा मात्रै नभई गुणस्तरीय बस्तुको बिक्रि बितरण गर्नु पर्नेमा जोड दिए । सस्तो भन्दै नेपाली उपभोक्ता रुपैडिया बजार जाँदा उपभोक्ता ठगिने र नेपाली ब्यापारी मर्कामा पर्ने गरेको बैश्यले बताए ।

 
कार्यक्रममा फियान नेपालका मुकुन्द राना, अधिवक्ता बल बहादुर चन्द, बिश्वजित तिवारी रतिलाल पराजुली लगायतले उपभोक्ता अधिकार संरक्षण हुनु पर्नेमा जोड दिएका थिए । उपभोक्ता अधिकार दिवसका सन्दर्भमा कोहलपुर नगरपालिकाले पनि कोहलपुरमा एक कार्यक्रमको आयोजित गरेको थियो । कोहलपुर डेरी एशोसिएसन संगको सहकार्यमा भएको कार्यक्रममा अहिले पनि उपभोक्ताहरु बिभिन्न बहानामा ठगिनु परेको गुणस्तरिय बस्तु तथा सेवा पाउनका लागि उपभोक्ता आफै पनि सचेत हुनु पर्नेमा जोड दिइएको थियो ।

 
मेयर लुट बहादुर रावतको अध्यक्षता भएको कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य वसन्त गौतमले संविधान र कानूनले गुणस्तरिय बस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ता अधिकारको ब्यवस्था गरेको भन्दै आफ्नो अधिकारमा उपभोक्ता सचेत हुनु पर्नेमा जोड दिए ।

 
कोहलपुर नगरपालिका अधिकृत कर्ण कर्ण बहादुर थापाले संचालन गरेको कार्यक्रममा खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालयकी नेपालगन्ज प्रमुख जोत्सना श्रेष्ठ, बाणिज्य कार्यालयका प्रमुख कृष्ण प्रसाद पौडेल, उपभोक्ता अधिकार र कानूनी ब्यवस्थाका बारेमा बोलेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया