बुधबार रामलीला मैदानमा खसी जम्मा गरियो । खसी ट्रकमा लोड गर्न सुरु गरियो । २÷४ वटा गर्दै रामलीला मैदानमा ८० वटा खसी जम्मा गरियो । खसीलाई बाहिरी जिल्ला पठाउन ट्रकमा लोड गर्ने तयारी गरियो । त्यसैबेला वडा प्रहरी कार्यालय नेपालगन्ज सूचना पायो, रामलीला मैदानमा फुटकर रुपमा जम्मा गर्दै खसी लोड हुँदैछ ।
वडा प्रहरी कार्यालय फिल्डमा पुग्यो । कागजपत्र माग्यो ? कहाँबाट खरिद गर्नुभयो, कसरी खरिद गर्नुभयो ? जवाफ आएन । त्यसपछि वडा प्रहरीले खसी नियन्त्रणमा लिएर अनुन्धान सुरु गर्यो । ‘हामीले खसी कहाँबाट ल्याएको हो सोधपुछ गर्यौं’, वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज, प्रहरी निरीक्षक नारायण डाँगीले भने, ‘तर खसीधनीले कुनै कागजात र विश्वस्त जवाफ दिन सकेनन् ।’
प्रहरीले कागजात विनाका खसी भन्सार कार्यालय नेपालगन्जमा बुझायो । कागजात नभएपछि उक्त खसी भारतबाट विना भन्सार ल्याएको प्रहरीको आशंका गर्यो । ‘नेपालबाटै खरिद गरिएको हो भन्ने विश्वस्त हुनसक्ने कुनै कागज खसी धनीले दिएनन्’, वडा प्रहरी कार्यालयका इन्चार्ज, प्रहरी निरीक्षक डाँगीले भने, ‘त्यसपछि आवश्यक कारवाहीका लागि हामीले नियन्त्रणमा लिएका खसी र ३ जना खसीधनीलाई नेपालगन्ज भन्सार कार्यालयमा बुझायौं ।’
पशु, पन्छीजन्य भारतबाट नेपालगन्ज भित्र्याउँदा भन्सार र क्वारेन्टाइन आवश्यक हुन्छ । जिल्लामै जम्मा गरिएको खसी हो भनेपनि अन्य जिल्ला लैजान कागजात बनाइएको हुनुपर्छ । तर, खसीधनीले प्रहरी समक्ष कागजात बुझाउन सकेनन् ।
नेपाल–भारतको सीमा खुला छ । खुला सीमानाकै कारण भारतबाट १÷२ वटा खसी ल्याएर नेपालमा जम्मा गर्ने र अन्य जिल्लामा निकासी गर्ने प्रवृत्ति छ । भारतबाट खसी भित्र्याउनेहरु यहीका सरोकारवाला निकायबाट यही खरिद गरिएको र बाहिरी जिल्ला लैजान लागेको कागजात पनि बनाउँछन् । यसले अनाधिकृत रुपमा भित्रीने पशुपन्छीजन्य नियन्त्रणमा आउन सकेको छैन ।
‘सिफारिस गर्ने सरोकारवाला जिम्मेवार नहुँदासम्म तस्करी नियन्त्रणमा आउन सक्दैन’, वडा प्रहरी कार्यालयका इन्चार्ज डाँगी भन्छन्, ‘तस्करी नियन्त्रणका लागि सरोकारवाला निकाय जिम्मेवार हुनुपर्छ ।’
खसी मात्रै होइन नेपालगन्जमा भारतबाट भित्र्याउन प्रतिबन्ध लगाएको कुखुरा पनि अवैध रुपमा आयात हुने गरेको छ । बाँके प्रहरीले त्यस्ता अवैध कुखुरा नियन्त्रणमा लिई कारवाहीका लागि पशु क्वारेन्टाइन कार्यालयमा बुझाउने गरेको छ ।
खुला सीमानाको फाइदा उठाउँदै नेपालगन्ज नाकाबाट हुने तस्करीमा प्रहरीको निगरानी गरिरहेको छ । ‘दैनिक हामी भन्सार छलीको निगरानी गरिरहेका छौं’, वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज डाँगीले भने ।
बुधबार भन्सार बुझाइएको खसी शुक्रबार नेपालगन्ज भन्सार कार्यालयले लिलाम गरेको छ । ‘खसी भारतबाट विना भन्सार ल्याइएको पुष्टि भएको छ’, वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज डाँगीले भने, ‘हामीले भन्सार बुझाएको खसी भन्सारले लिलाम गरेको छ ।’ नेपालगन्ज भन्सार कार्यालय ७ लाख बढीमा खसी लिलाम गरेको बताइएको छ ।
वडा प्रहरी कार्यालय नेपालगन्ज भन्सार छलेर ल्याइएका कुखुरा, खाद्यान्न, लत्ताकपडा, कालिमरिच लगायतका वस्तु यसअघि बरामद गरी भन्सार दाखिला गरिसकेको छ ।