आज शुक्रबार नेपालगन्जमा ‘मिस नेपाल–२०१९’ को लागि नेपालगन्ज छनोट गरिंदैछ । मिस नेपालको आयोजक संस्था हिडन ट्रेजरले नेपालगन्जमा बिहिबार पत्रकार भेटघाटको आयोजना गरी आज मिस नेपालका लागि नेपालगन्जमा छनोट कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिएको हो ।
आयोजक संस्था हिडन ट्रेजरका निर्देशक प्रमोद कंसकारका अनुसार ‘मिस नेपाल–२०१९’ को लागि देशका विभिन्न ठुला सहरहरुमा छनौट चरणका कार्यक्रमहरु भइरहेका छन । देशैभरीका लगभग ५ सय सहभागी मध्येबाट मिस नेपाल छानिने निर्देशक कंसकारले जानकारी दिए ।
मिस नेपालमा सहभागीता जनाउनका लागि १९ बर्ष देखि २५ बर्ष उमेर सम्मका अविवाहित नेपाली महिलाले आबेदन दिन सक्ने व्यवस्था गरिएको छ । त्यसैगरी न्युनतम उचाई ५ फुट चार ईन्च हुनुपर्ने तथा सहभागी हुन चाहने महिलाले कम्तिमा पनि प्लस टु उत्तीर्ण गरेको हुनु पर्ने मापदण्ड बनाइएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।
नेपालगन्जमा मिस नेपाल प्रतियोगितामा छनोका लागि नेपालगन्ज जेसिसले सहजीकरण गरिरहेको छ । नेपालगन्ज कार्यक्रमका मिडिया संयोजक प्रज्वल श्रेष्ठका अनुसार शुक्रबार नेपालगन्जमा रहेको होटल किचन हटमा छनौट चरणको कार्यक्रम सुरु हुनेछ । कुनै कारणबश सहभागिले उक्त मितिमा सहभागिता जनाउन नसकेमा २१ मार्चमा काठमाडौंमा हुने अडिसनमा गएर पनि भाग लिन पाउने श्रेष्ठले बताए ।
पत्रकार भेटघाटमा आयोजक संस्था हिडन ट्रेजरका निर्देशक प्रमोद कंसकार, २०१६ की मिस अर्थ रोशनी खत्री, २०१८ की मिस सुपरनेसनल महिमा सिंहको उपस्थिति रहेको थियो । त्यसै गरि स्थानीय आयोजक संस्था नेपालगन्ज जेसिसका अध्यक्ष रत्नकाजी शाक्य र नेपालगन्ज जेसिसकी कार्यक्रम संयोजक रिया श्रेष्ठको पनि कार्यक्रममा उपस्थिति रहेको थियो ।