मानवीय कार्यमा सहयोगी नेपालगन्ज ग्यालेरी

बिहीबार कविता सुनारले नेपालगन्ज ग्यालेरी नामक फेसबुक ग्रुपमा पोष्ट गरिन् ‘आमाको उपचारको लागि ए पोजेटिभ तत्काल रगत चाहियो ।’ उनको यो पोष्टसँगै नेपालगन्जका पाँच युवा रक्तदानका लागि तयार भए । र, तत्कालै पुगे रक्तदानका लागि रक्तसञ्चार केन्द्र नेपालगन्ज ।

 

सामाजिक सञ्जाल मनोरञ्जन र अभिव्यक्तिका लागि मात्रै होइन, सामाजिक र मानवीय कार्यका लागि पनि सहयोगी छ भन्ने कुरा नेपालगन्ज ग्यालेरीले पुष्टि भएको छ । क्यान्सर पीडित आमाको उपचारका लागि आवश्यक रगत कविताले एउटा गु्रपमा पोष्ट गरेकै भरमा प्राप्त गर्न सफल भइन् । ए पोजेटिभ त्यो पनि फ्रेस रगत, चार पिन्ट । चुनौति थियो संकलन हुन । तर, कविताको चुनौतिलाई सहजै नेपालगन्ज ग्यालेरीले पार लगायो ।

 

खजुरा क्यान्सर अस्पतालमा भर्ना कविताकी आमाले सामाजिक सञ्जालकै कारण रगत प्राप्त गरिन् । उनको पोष्ट हेरेर रक्तदान गर्न पुगेका थिए, निरज कार्की, समिरमान श्रेष्ठ, कुमार खड्का, पृथ्वी कर्माचार्य, डम्बर बस्नेत । आवश्यक रहेको चार पिन्ट रगत उपलब्ध हुन सक्यो ।
झण्डै एक दशक अघि समिरमान श्रेष्ठले बनाएको फेसबुक पेज नेपालगन्ज ग्यालेरी सूचना आदान प्रदान, सहयोग र मानवीय कार्यमा सहयोग साबित भैरहेको छ । ‘कसैले नेपालगन्जका बारेमा कुनै पनि विषयमा जान्न चाहेमा पोष्ट गर्ने वित्तिकै सुझाव पाइरहनु भएको छ’, ग्रुपका एडमिन समिरमान श्रेष्ठले भने, ‘यो मानवीय कार्यका लागि पनि सहयोग भैरहेको छ, जुन हाम्रा लागि हर्षको कुरा हो ।’ उनले सहयोग आदानप्रदानको थलो नेपालगन्ज ग्यालेरी भैरहेको सन्तोष व्यक्त गरे ।
हाल ७४ हजार सदस्य बनाइसकेको नेपालगन्ज ग्यालेरी भविष्यमा मानवीय कार्यमा जुट्ने अठोट सहित आवश्यक कानुनी प्रक्रिया पूरा गर्दैछ । ‘भविष्यमा विपत्तीमा परेका व्यक्तिहरुका लागि सहयोग जुटाउने उद्देश्य राखेका छौं’, एडमिन श्रेष्ठले भने, ‘त्यसका लागि फण्ड जुटाउन संस्था दर्ता गर्ने प्रक्रियामा रहेका छौं ।’
सामाजिक सञ्जालमा विकृति फैलिरहेको गुनासो बीच नेपालगन्ज ग्यालेरीले भने सहयोग र सूचना आदानप्रदानमा सहयोग पुर्याइरहेको छ । ‘द्वन्द्व, सामाजिक विकृति फैलाउने खालका पोष्टमा हामी निगरानी गरिरहेका हुन्छौं’, ग्रुप सञ्चालक श्रेष्ठले भने, ‘समाजमा नकारात्मक असर पार्ने, विद्वेष फैलाउने खालका पोष्टलाई एपरुभ गर्दैनौं ।’

प्रतिक्रिया

प्रतिक्रिया