नेत्र विक्रम चन्द (विप्लव) समूहको नेकपाले बन्द आव्हान गरेकै दिन नेपालगन्ज उपमहानगरपालिकाको राँझास्थित मुख्य सडकमै बम फेला परेको बम नेपाली सेनाले निस्कृय पारेको छ ।
विहीवार बिहानै नेपालगन्ज–कोहलपुर चारलेन सडकमै बम फेला परेपछि सेनाले निस्कृय पारे हो । सानो बाल्टिन जस्तो देखिने भाँडोमा खतरा लेखेर छाडिएको उक्त बस्तु बम नै भएको आशंका गरी प्रहरीले डिस्पोजका लागि राँझास्थित नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेको थियो । ‘सेनाले सुरक्षित रुपमा निस्कृय पारे छ,’ बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक अरुण पौडेलले भने ।
केही दिनअघि पार्टीका गतिविधिलाई नियन्त्रण गर्न सरकारले कडाइ गर्दै कार्यकर्ता पक्राउ गरेको विरोधमा विप्लवले बन्द आव्हान गरेको थियो । यसबीच सरकारले विप्लवका गतिविधिलाई प्रतिबन्ध गर्ने निर्णय पनि गरिसकेको छ ।
बन्दका कारण बाँके, बर्दिया, दाङ लगायतमा आंशिक प्रभाव प¥यो । बन्दको सबैभन्दा ठुलो प्रभाव यातायातमा परेको छ । बिहानैबाट निजी सवारी साधन निर्वाध रुपमा चलेपनि सार्वजनिक सवारी साधनमा भने बन्दको प्रभाव पर्यो । जिल्लामा छोटो दुरीका सार्वजनिक सवारी कम चल्दा यात्रुले सास्ती पाएका थिए । बाँकेबाट बाहिरिने लामो दूरीका सवारी साधन भने चल्न सकेनन् । शैक्षिक संस्थाहरुमा पनि बन्दको प्रभाव परेको थियो ।
बन्दका कारण कलेज तथा विद्यालय नखुलेपछि पठनपाठन प्रभावित भएको हो । सरकारले उसका गतिविधिमाथि प्रतिबन्ध लगाएका कारण कहिं पनि बन्दकर्ता सडकमा देखिएनन् । बिहीबार साँझबाट बन्द फिर्ता भएसँगै जनजीवन समेत सामान्य बनेको थियो । बन्दलाई मध्यनजर जिल्लाका सबैतिर कडा सुरक्षा व्यवस्था मिलाइएको थियो ।