पत्रकारितामा लामो समयदेखि सक्रिय, त्रिभुवन विश्वविद्यालय, महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक मुना श्रेष्ठले विद्यावारिधी गरेकी छन् । २०५० सालदेखि मब क्याम्पसमा अध्यापनरत अंग्रेजी विषयकी उपप्राध्यापक श्रेष्ठले भारतको डा. केएन मोदी युनिभर्सिटी राजस्थानबाट अंग्रेजी साहित्यमा विद्यावारिधीको उपाधी लिएकी हुन् ।
महेन्द्र बहुमुखी क्याम्पसमा अध्यापनरत श्रेष्ठ विद्यावारिधी गर्ने सम्भवत नेपालगन्जकी पहिलो महिला उपप्राध्यापक हुन् । ‘विकट पहाडी क्षेत्र वा दुर्गम ग्रामिण वस्तीमा पुगेर शिक्षाको महत्वबारे सचेतना गर्ने सोंच छ,’ दुई विषयमा स्नातकोत्तरपछि विद्यावारिधी श्रेष्ठले दैनिक नेपालगन्जसँग भनिन्, ‘प्राविधिक शिक्षालयमार्फत शिक्षाको महत्व नबुझेको वर्गलाई शिक्षित गराउने इच्छा छ ।’ उनले शिक्षालय पैसा कमाउनका लागि नभइ शिक्षाको क्षेत्रमा केही गरौं भन्ने चाहनाले सञ्चालनको सोंच रहेको बताइन् ।
उज्यालो साप्ताहिकमार्फत पत्रकारितामा तीन दशकदेखि सक्रिय डा. श्रेष्ठ पत्रकार महिलाहरुको सशक्तिकरणमा लागेको संस्था, सञ्चारिका समूहको मध्यपश्चिम क्षेत्रीय संयोजक रहिसकेकी छन् । ‘विद्यावारिधीले स्वाभाविक रुपमा आत्मविश्वास बढाएको छ,’ महिला सशक्तिकरणको क्षेत्रमा समेत उत्तिकै सक्रिय डा. श्रेष्ठले भनिन् ।