नेपालगन्जलाई प्रदेश राजधानीको आधार प्रस्तुत गर्दै विकासका लागि नागरिक सरोकार समिति, नेपालगन्ज बाँकेले प्रदेश सभा विशेष समितिको सुझाव संकलन कार्यदललाई साझा आवधारणा बुझाएको छ ।
समितिका संयोजक कृष्ण प्रसाद श्रेष्ठको अध्यक्षतामा शुक्रवारका भएको विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने स्थानीय प्रवुद्ध व्यक्तित्वहरुको भेलाबाट प्रदेश नं. ५ को राजधानी बाँके नै कायम गरिनुपर्छ भन्ने सर्वसम्मत निर्णय गरेको थियो । ‘त्यसका लागि विभिन्न आधार र कारणबारे गरेको वृहत छलफलका आधारमा बनाइएको साझा धारणानै बुझाइएको हो,’ पत्रकार पूर्णलाल चुकेले भने ।
‘लोकतन्त्र, नागरिक अधिकार, प्रेस स्वतन्त्रता, मुक्ति र सार्वभौमिकताका लागि हरेक कालखण्डमा भएका आन्दोलन, जनआन्दोलन, मधेश आन्दोलनको क्रममा बाँकेबासीले पुर्याएको अतुलनीय योगदान र सक्रिय सहभागिताको स्मरण जरुरी छ,’ विभिन्न ९ बूँदामा साझा धारणा प्रस्तुत गर्दै भनिएको छ । ‘प्रादेशिक राजधानीका लागि आवश्यक पर्ने पर्याप्त साधन स्रोत, पूर्वाधार र सम्भाव्यता समेतलाई दृष्टिगत गरी संविधान र संघीयताको भावना र मर्म बमोजिम बाँके जिल्लालाई ५ नं.प्रदेशको राजधानी घोषणा गरियोस्,’ लिखित धारणामा भनिएको छ । बृहत छलफलबाट बनाइएको साझा धारणामा सयबढीले हस्ताक्षर पनि गरेका छन् ।
यातायात, शिक्षा, स्वास्थ्य सेवा, औद्योगिक लगायतको हरेक दृष्टिकोणबाट पश्चिम नेपालकै केन्द्रविन्दूको रुपमा परिचित ऐतिहासिक तथा प्राचीन नगरी नेपालगन्ज प्रदेश नं. ५ को राजधानी बनाउनका लागि आवश्यक पर्ने सम्पूर्ण पूर्वाधारहरु उपलब्ध रहेको भन्दै प्रदेशको राजधानीका लागि आवश्यक पर्ने न्यूनतम पूर्वाधारहरु सहितका ९ बूँदा समितिका तर्फबाट संयोजक श्रेष्ठले बुझाएका छन् ।
[gview file=”http://www.nepalgunjnews.com/wp-content/uploads/2019/02/Nagarik-Sarokar-for-Capital-No.-5-_1_.pdf”]