बाँकेको सुझाव : बाँके नै प्रादेशिक राजधानी

बाँकेले प्रदेश राजधानी बाँके नै हुनुपर्ने धारणा राखेको छ । प्रदेश ५ को स्थायी राजधानी र नामाकरण सम्बन्धमा आइतबार प्रदेश ५ सरकारले गठन गरेको विशेष समितिले सुझाव लिन नेपालगन्जमा आयोजना गरेको सुझाव संकलन एवं अन्तरक्रिया कार्यक्रममा बोल्दै बाँकेका राजनीतिक दल, स्थानीय जनप्रतिनिधि लगायतले बाँके नै प्रदेश राजधानीका लागि उपयुक्त रहेको धारणा राखेका हुन् ।
प्रादेशिक राजधानीको दौडमा बुटवल, दाङ्ग र बाँके छन् । यद्यपि, समितिले प्रदेशका १२ वटै जिल्लामा प्रदेश राजधानीका लागि उपयुक्त हुने स्थान र नामांकरणका लागि सुझाव संकलन गरिरहेको छ । कार्यक्रममा अधिकांश वक्ताहरुले हाल अस्थायी राजधानी रहेको बुटवल कुनै पनि हालतमा स्थायी राजधानीका रुपमा मान्य नहुने स्पष्ट पारेका छन् । उनीहरुले बुटवलको तुलनामा बाँके भौगोलिक, पूर्वधार र पहुँचको हिसाबले उपयुक्त रहेको भन्दै बाँके नै प्रदेश राजधानी बनाइनु उपयुक्त रहेको धारणा राखे । यद्यपि, दुरीका हिसाबले दाङ्गलाई पनि प्रादेशिक राजधानी बनाउन सकिने भएपछि त्यो खर्चिलो हुने सहभागीहरुको भनाइ थियो । ‘दाङ्गमा प्रादेशिक राजधानी बनाउँदा सबै पूर्वाधार बनाउनु पर्छ त्यसमा अर्बौ रुपैयाँ खर्च हुन्छ जुन हाम्रो प्रदेशले थेग्ने अवस्था छैन’, वक्ताहरुले भने, ‘त्यसैले पूर्वाधार, सरकारी भवन तथा जग्गाको उपलब्धताको हिसाबले बाँके नै प्रदेश राजधानीका लागि उपयुक्त छ ।’


नेपालगन्ज नगर प्रमुख डा. धवल समशेर राणाले नेपालगन्जलाई हेपिने प्रवृत्तिले गर्दा नेपालमै दोस्रो सहरको रुपमा रहेको सहज १४ औं स्थानमा पुगिसकेको बताए । उनले स्पष्ट रुपमा बाँकेलाई नै राजधानी बनाइनु पर्ने धारणा राखेका छन् । ‘बाँकेलाई पायक पर्ने स्थानमा राजधानी बनाइएन भने हामीलाई सलाम ठोकेर बिदा दिनुस्’, नगर प्रमुख डा. राणाले नगरबासी आन्दोलनका तयार रहेको चेतावनी दिंदै भने, ‘बुटवललाई प्रदेश राजधानी बनाउने हो त्यसको विरुद्धमा बाँके र बर्दियाका बासिन्दा उत्रँनेछन् ।’ उनले बाँके बासीलाई राजनीतिक घेराभन्दा माथि उठेर आन्दोलनका लागि तयार रहन आग्रह समेत गरे । नगर प्रमुख डा. राणाले भने, ‘कि राजधानी देउ, नत्र प्रदेशबाट बिदा गर ।’ उनले थारु, जनजाति, दलितलाई पनि प्रदेश ५ छाडेर कर्णालीमा गाभिंदा फाइदा पुग्ने धारणा समेत राखे ।
संघीय समाजवादी फोरमका कमरुद्दिन राईले संघीयतामा गलत सीमांकन हुँदा बाँकेले सास्ती ब्यहोर्नु परिरहेको बताए । ‘यो सीमांकन नै गलत छ’, उनले भने, ‘कैलाली, कञ्चनपुर सहितको सीमांकन भएको भए बाँके स्वतः प्रदेश राजधानी बन्थ्यो ।’ प्रदेश राजधानीका लागि आन्दोलन गर्दा कसैले साथ नदिएको उल्लेख गर्दै राईले भने, ‘ढिलो गरी जाग्ने बाँकेको स्वभावले जिल्लालाई नै नोक्सान पारेको छ ।’ उनले सबै राजनीतिक दल, नागरिक समाजबाट सहयोग भए राजनीति त्यागेर भएपनि बाँकेका लागि लड्न तयार रहेको बताए ।
नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले वुटवललाई कुनै पनि हालतमा प्रदेश राजधानी स्वीकार गर्न नसकिने धारणा राखे । ‘बुटवल हाम्रा लागि अपायक स्थान हो’, अध्यक्ष वैश्यले भने । उनले बाँकेले आन्दोलन नगरेका कारण यहाँको मागलाई वेवस्ता गरिएको भन्दै सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिए । ‘आपसी फुट र कमजोर आत्मबलले नै हामी पछाडी परेका हौं’, अध्यक्ष वैश्यले अब अवस्थामा परिवर्तन आएकाले बाँकेलाई बेवास्ता नगर्न प्रदेश सरकारलाई चेतावनी समेत दिए ।
नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुर सिंह थारुले प्रदेश राजधानीका लागि बाँकेमा पर्याप्त संशाधनहरु रहेको बताए । ‘बाँकेले बुटवललाई स्वीकार गर्ने अवस्था छैन’, उनले भने, ‘प्रादेशिक राजधानी बाँकेमा भए यहाँ रहेका पूर्वाधारका कारण खर्च पनि बढी हुँदैन ।’
राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले संघीयताको सीमाकंन गर्दा नै गलत तरिकाबाट गरिएको धारणा राखे । ‘गलत सीमाकंनको पीडा अहिले बाँकेले भोग्नु परिरहेको छ’, उनले भने, ‘सके बाँके नभए लमही राजधानी बनाउन सकिन्छ ।’ त्यो पनि नसक्ने हो भने बाँकेलाई कर्णालीमा गाभिदिन अध्यक्ष चौधरीको आग्रह थियो । खजुरा गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपतिले बाँकेलाई राजधानी बनाउन लिखित धारणामा हस्ताक्षरनै गरेका छन् ।
जानकी गाउँपालिकाका अध्यक्ष राम निवास यादवले पनि प्रदेश राजधानीका लागि बाँके भन्दा अन्यत्र सोंच्न नसकिने बताए । कोहलपुर नगरपालिकाका उपप्रमुख सञ्जु चौधरीले बुटवल बाँकेका लागि अप्ठ्यारो भएकाले त्यसको विकल्प दाङ्ग हुनसक्ने धारणा राखिन् । यद्यपि, उनले बाँकेको सम्बन्ध कर्णालीसँग बढी रहेकाले त्यसैतर्फ बाँकेलाई गाभ्नुपर्ने माग समेत गरिन् । राजपाका प्रतिनिधिले बाँके स्रोत, साधनले सम्पन्न रहेकाले बाँके नै प्रदेश राजधानी बनाइनु पर्ने धारणा राखे ।
नेपाली काँग्रेसका सभापति किरण कोइरालाले बर्ष दिन बित्दा पनि प्रदेश राजधानी कायम गर्न नसकेको असन्तुष्टि व्यक्त गरिन् । ‘प्रदेश राजधानीका लागि बाँकेलाई क्राइटएरिया सबै पुग्छ’, उनले भनिन्, ‘मध्य र सुदुरको व्यापारिक केन्द्र पनि भएकाले बाँके उपयुक्त छ ।’ उनले पनि बुटवललाई राजधानी स्वीकार गर्न नसकिने धारणा राखिन् ।
नेकपाका नेता अशोक कोइरालाले संघीयता र संविधानको मर्म अनुरुप प्रदेशको स्थायी राजधानी र नामाकरण हुनुपर्ने बताए । उनले राजधानी माग गर्दा अर्को स्थान किन राजधानीका लागि उपयुक्त हुँदैन भन्ने जवाफ दिन पनि तयार रहनु पर्ने धारणा राखे । नेता कोइरालाले राजधानीको नाम लुम्बिनी उपयुक्त हुने उल्लेख गर्दै स्थान भने १२ वटै जिल्लालाई पायक पर्ने स्थानमा राखिनु पर्ने बताए ।
पूर्व सांसद देवराज भारले नेपालगन्जले आफ्ना लागि आवाज उठाउनु न्यायोचित भएको बताए । यद्यपि, उनले प्रदेश राजधानी सबै जिल्लालाई उपयुक्त हुने स्थानमा राखिनु पर्ने बताए । नेकपा नेता रत्न खत्रीले सधै पीडामा बाँके रहेको उल्लेख गर्दै संविधानको मर्मका आधारमा पनि बाँकेलाई राजधानी दिनुपर्ने बताए । ‘बाँकेलाई राजधानी हुन नदिने षडयन्त्र भैरहेको छ’, उनले भने, ‘बाँकेलाई गणतन्त्रले खान सक्छ, यहाँका बासिन्दा सचेत हुन जरुरी छ ।’
अगुवा व्यवसायी दामोदर आचार्यले संघीयताका नाममा बाँकेबाट प्रदान गरिने सेवा सुविधा पनि हरण भैरहेको बताए । ‘बाँके र बर्दियालाई न्याय नभएमा यहाँका जनताले विद्रोह गर्नेछन्’, उनले भने । पर्यटन व्यवसायी देवानन्द अर्यालले राजनीतिक लडाई अन्त्य गर्न आग्रह गरे । ‘कहिले सम्म राजनीतिकै बहसमा केन्द्रित हुने ?’, उनले भने, ‘आर्थिक विकासका लागि बहस कहिले सुरु गर्ने ?’ उनले गुणस्तरीय सडक निर्माण गरी प्रदेश राजधानीको दुरी छोट्याउने सकिने उल्लेख गर्दै राजधानीका लागि बाँकेमा पर्याप्त भौतिक पूर्वाधार, जग्गा लगायत संशाधन उपलब्ध रहेको बताए ।
राजपा नेता केशवराम बर्माले नेपालगन्ज ऐतिहासिक नगरी भएकाले प्रदेश राजधानीका लागि उपयुक्त रहेको बताए । ‘बाँकेलाई राजधानी नदिन चलखेल भैरहेको छ’, उनले भने, ‘बाँके बाहेकका स्थानमा प्रादेशिक राजधानी बनाइए हामीलाई स्वीकार हुँदैन ।’
प्रदेश नामाकरण र स्थायी राजधानीका लागि सुझाव संकलन विशेष समितिका बिष्णु पन्थी संघीयताको मर्म र भावना अनुरुप हाम्रो मात्रै ठाउँ नभनेर सबैलाई पायक पर्ने स्थानका लागि सबैले सहमति जनाउनु पर्ने बताएका थिए । जिल्ला समन्वय समितिका संयोजक अजय कुमार श्रीवास्तवको अध्यक्षतामा भएको कार्यक्रम अधिकृत मीन बहादुर मल्लले सहजीकरण गरेका थिए । कार्यक्रममा विकासका लागि नागरिक सरोकार समितिले प्रदेश राजधानी र नामाकरणका सन्दर्भमा बाँकेबासीका तर्फबाट साझा धारणा समेत बुझाएको थियो । समितिले तयार पारेको धारणा वरिष्ठ पत्रकार पूर्णलाल चुकेले कार्यक्रममा पढेर सुनाएका थिए भने संयोजक कृष्ण प्रसाद श्रेष्ठले समितिलाई बुझाए ।
विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि, स्थानीयबासी लगायतको सहभागिता रहेको कार्यक्रममा समितिले निर्धारित गरिएको प्रश्नको जवाफ समेत संकलन गरेको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया