स्थानीय निर्वाचनमा प्रतिबद्धता जनाएको छात्रा क्याम्पस निर्माणका लागि नेपालगन्ज उमहानगरपालिकाका नगर प्रमुख डा. धवल समशेर राणाले कार्यान्वयनमा अग्रसरता देखाएका छन् । छात्रा क्याम्पसका लागि ८ करोड बजेट बिनियोजन गरेको उपमहानगरपालिकाले डिपिआर सुरु गरिसकेको हो ।
‘२ महिनामा डिपिआर तयार गरेर निर्माणका लागि ठेक्का आव्हान गर्ने गरि काम अगाडी बढाइएको छ,’ नगर प्रमुख डा. राणाले भने । डा. राणाले आफ्नो प्रतिबद्धताको प्राथमिकतामा राखेर बजेट विनियोजन गरेकाले कार्यान्वयनमा जान लागेको हो ।
नेपालगन्जमा छात्रा क्याम्पस स्थापना भए पछि मुस्लिम, मधेसी र अल्पसंख्यक समुदायका छात्राहरुलाई उच्च शिक्षा हासिल गर्न सहज हुने ठानिएको छ । खासगरि, मुस्लिम समुदायका छात्राहरुको सजिलै उच्च शिक्षामा पहुंचका लागि नेपालगन्जमा छात्रा क्याम्पस स्थापना महत्वपूर्ण हुने मुस्लिम अगुवाहरुको भनाइ छ । ‘छात्रा क्याम्पस संञ्चालनमा आएपछि मुस्लिम र मधेसी छात्राहरुलाई उच्च शिक्षाका लागि निकै सहज हुन्छ,’ मदरसा दरुल बरकतीयाका संस्थापक प्रधानाध्यापक मौलाना जियाउल मुस्तफा नुरानीले दैनिक नेपालगन्जसँग भने, ‘अहिले उच्च शिक्षामा मुस्लिम र मधेसी छात्राको पहुँच निकै कम छ ।’
बाँके जिल्लामा मधेसी र मुस्लिम समुदायको सघन बसोबास छ । यो समुदायका छात्राहरु अहिले शिक्षामा पछाडि परेको देखिन्छ । जसको कारण हो ‘छोरी बिग्रिन्छ’ भनेर अभिभावकले छात्रा क्याम्पस भन्दा बाहिर पढाउन चाहंदैनन् । यसलाई मध्येनजर गरेर अहिले मुस्लिम, मधेसी र अल्पसंख्यक समुदायका छात्राहरुका लागि नेपालगन्जमा छात्रा क्याम्पस स्थापना हुने भएको छ । ‘गल्र्स कलेज स्थापना गरिए छात्रालाई उच्च शिक्षा पढाउनका लागि क्याम्पस छैन भनेर मधेसी र मुस्लिम समुदायका अभिभावकहरु पञ्छिने अवस्था आउँदैन,’ नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष मोहम्मद अयुब सिद्दीकीले भने ।
नेपालगञ्जमा मुस्लिम, मधेसी र अल्पसंख्यक समुदायलाई लक्षित गरेर छात्रा क्याम्पस स्थापना हुने खबरले मुस्लिम र मधेसी समुदायका छात्राहरु हर्षित देखिन्छन् । नेपालगन्जको सरस्वती माध्यमिक बिद्यालय कक्षा ९ मा अध्ययनरत् छात्रा मुस्कान हल्वाइले दैनिक नेपालगन्जसँग भनिन्, ‘अब छात्रा क्याम्पस स्थापना भए पछि बिगतका दिनमा जस्तै अभिभावकले उच्च शिक्षाका लागि बञ्चित गराउन पाउने छैनन् ।’
शिक्षा नै बिकासको मेरुदण्ड मानिन्छ । शिक्षा बिना कुनै पनि समुदाय अगाडी बढ्न सक्दैन । नेपालगन्जमा छात्रा मात्रै पढाई हुने सरस्वती माध्यामिक बिद्यालय र मुस्लिम समुदायको आइसा मदरसा छ । यी दुई बिद्यालयमा माध्यमिक तह सम्म मात्रै पढाई हुन्छ । सांस्कृतिक र धार्मिक कारण मुस्लिम र मधेसी समुदायका छात्राहरु उच्च शिक्षाबाट बञ्चित हुंँदै आएका छन् । नेपालगन्जमा छुट्टै छात्रा क्याम्पस छैन । मुस्लिम, मधेसी र अल्पसंख्यक समुदायका लागि नेपालगन्ज उपमहानगरपालिकाले छात्रा क्याम्पस स्थापना गर्ने घोषणा गरेर त्यसका लागि प्रक्रिया अगाडी बढाएको हो ।
सम्बद्ध स्रोतका अनुसार, मंगल प्रसाद माध्यमिक बिद्यालयको खाली ठाउँमा ४० कोठाको छात्रा क्याम्पस निर्माण गर्नेे योजना छ । ‘जग्गा छनोट भइसकेको छ,’ आफ्नो ड्रीम प्रोजेक्ट अगाडी बढेको जनाउँ दिंदा उत्साहित नगर प्रमुख डा. राणाले दैनिक नेपालगन्ज सँग भने, ‘जिल्लाका ९० देखि ९५ प्रतिशत मुस्लिम र मधेसी बालिका उच्च शिक्षाको पहुँचबाट बाहिरै छन् ।’ उनीहरुलाई नै लक्षित गरेर योजना अघि सारिएको डा. राणाको भनाइ छ ।