बाँकेमा सञ्चालित पानी उद्योगहरुले मापदण्ड पूरा नगरेको अनुगमनका क्रममा खुल्ने गरेको छ । संयुक्त अनुगमनका क्रममा पटकपटक चेतावनी दिंदा पनि पानी उद्योगहरुले मापदण्ड पूरा गर्न अटेरी गरेको पाइन्छ ।
आइतबार संयुक्त बजार अनुगमन समितिले अनुगमनका क्रममा मापदण्ड विपरित सञ्चालित एक पानी उद्योग शिल नै गरिदिएको छ । समितिले मापदण्डमा लापरवाही गरेको पाइएपनि नेपालगन्जको न्यू लहर ड्रिकिङ्ग वाटर इन्डष्ट्रिजलाई शिल गरिदिएको हो । समितिले उक्त उद्योगले मापदण्ड पूरा नगरुञ्जेल शिल नखोल्ने चेतावनी दिएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय प्रमुख ज्योत्सिना श्रेष्ठ, वाणिज्य कार्यालय कृष्ण पौडेल, उपभोक्ता संरक्षण मञ्चका केन्द्रीय सदस्य बसन्त गौतम, जिल्ला प्रशासन कार्यालय बाँकेका प्रतिनिधि सहभागी समितिले पानी उद्योगको अनुगमन गरेको हो । ‘साइनबोर्ड नै नभेटिने, बिल पनि नकाट्ने जस्ता लापरवाही पानी उद्योगबाट भएको भेटिएको छ’, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय प्रमुख ज्योत्सिना श्रेष्ठले भनिन् । समितिले गत असोजमा पनि मापदण्ड विपरित सञ्चालित दुई पानी उद्योगलाई कारवाहीको दायरामा ल्याएको थियो । समितिले अनुगनमका क्रममा खानेपानी सहि तरिकाले प्रशोधन नगरेको, पानीका जारहरु जथाभावी फालेको जस्ता लापरवाही फेला पार्ने गरेको जनाएको छ ।
केही उद्योगहरुले अझै पनि ल्याब टेष्ट नगरी उपभोक्ताको स्वास्थ्यमा खेलावाड गरिरहेको अनुगमनमा संलग्न एक सदस्यले बताए । ‘चेतावनीले मात्रै अवस्थामा सुधार नआए कारवाहीको विकल्प रहँदैन’, उपभोक्ता हित संरक्षण मञ्च बाँकेका अध्यक्ष बसन्त गौतमले भने, ‘मानव स्वास्थ्यको विषय भएकाले अटेरी गर्नेलाई कारवाही गर्नुपर्छ ।’