प्रदेश विकास परिषद्मा बाँकेको प्रतिनिधित्व

बुटवल/समाचारदता

प्रदेश ५ सरकारले गठन गरेको प्रदेश विकास परिषद्मा बाँकेबाट पनि प्रतिनिधित्व गराइएको छ । मुख्यमन्त्री शंकर पोखरेलको संयोजकत्वमा प्रदेश सरकार मन्त्री परिषद्को मंगलबार बसेको बैठकले परिषद् गठनको निर्णय गरेको थियो ।

 
मुख्यमन्त्री कार्यालयका प्रेस सल्लाहकार शेर बहादुर केसीका अनुसार, मुख्यमन्त्री पोखरेलको अध्यक्षतामा गठन भएको विकास परिषद्मा प्रदेशमा रहेका स्थानीय तहका प्रमुख तथा अध्यक्ष मध्येबाट १५, राष्ट्रिय जीवनमा योगदान पु¥याएका विभिन्न विज्ञहरुबाट एक तिहाइ संख्या महिलासहित २५ जनालाई प्रदेश सरकारले नियुक्त गर्ने व्यवस्था छ ।

 
परिषद्मा बाँकेबाट नेपालगन्ज नगर प्रमुख डा. धवल समशेर राणालाई स्थानीय तहका प्रमुख मध्येबाट प्रतिनिधित्व गराइएको छ । विज्ञहरुबाट प्राध्यापक डा. जनार्दन आचार्य नियुक्त भएका छन् । राजनीति शास्त्री र समाजशास्त्री डा. आचार्यलाई विज्ञका रुपमा नियुक्त गरिएको हो । त्यस्तै, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यलाई पनि परिषद्मा निजी क्षेत्रमा प्रतिनिधित्व गर्दै नियुक्त भएका छन् । ‘नयाँ अवधारणा हो’, संवैधानिक व्यवस्था अनुसार गठन भएको परिषद्मा समाजशास्त्रीका रुपमा नियुक्त भएका प्राध्यापक डा. आचार्यले दैनिक नेपालगन्जसँग भने, ‘विकासमा योजना निर्माणका लागि सहभागितामूलक अवधारणा हुनसक्छ ।’ अध्यक्ष वैश्यले निजी क्षेत्रलाई परिषद्मा महत्वका साथ समेटिएकोमा हर्ष प्रकट गरे ।

 
समितिमा प्रदेश सरकारका मन्त्रीहरु, सरकारका प्रमुख सचिव, सम्बन्धित मन्त्रालयका सचिवहरु, प्रदेश योजना आयोगका उपाध्यक्ष र सदस्यहरु, प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलका नेता, प्रदेशसभाका विभिन्न समितिका सभापतिहरु र जिल्ला समन्वय परिषद्का सभापतिहरु रहने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया