रोकिएन मटर तस्करी

तेस्रो मुलुकबाट नेपाल भित्रिएको सस्तो दरको केराउ भारत तिर तस्करी हुने गरेको छ । भित्री नाका प्रयोग गरी भारत लैजान लागिएको आशंकामा इलाका प्रहरी कार्यालय मटेहियाले बिहीबार दुई ट्रली केराउ बरामद गरेको छ । ट्रलीमा मसुरो समेत रहेको प्रहरीले जानकारी दिएको छ ।

 
इलाका प्रहरी कार्यालयले ५० केजीका दुई सय बोरा केराउ नियन्त्रणमा लिएको जानकारी दिएको छ । ‘२ सय बोरा केराउ र ४० बोरी मसुरो ढुवानी गर्न लागिएको ट्याक्सर सहित नियन्त्रणमा लिएका हौं’, इलाका प्रहरी प्रहरी कार्यालय भगवानपुर बाँकेका इन्चार्ज प्रहरी निरीक्षक विरेन्द्र विश्वकर्माले भने, ‘आधिकारिता र थप कारवाहीबारे माथिल्लो निकायसँग राय लिइरहेका छौं ।’ प्रहरीले नरैनापुर गाउँपालिका वडा नं. ५ दोन्द्रा नजिकबाट मटर बरामद गरेको हो ।

 
तेस्रो मुलुकबाट आयात गरिएको दाल, कालो मरिच भारतबाट नेपाल भित्रिएर उतै तस्करी हुने गरेको हो । गत बर्षपनि नेपालगन्ज–२२ पुरैनीबाट जिल्ला प्रहरी कार्यालय बाँकेले १२ हजार किलो केराउ नियन्त्रणमा लिएको थियो । सीमापारी नेपालमा भन्दा बढी मूल्यमा बिक्री हुनेभएपनि तस्करी हुने गरेको प्रहरी अनुमान छ ।
नेपाल केराउमा आत्म निर्भर छैन । भारतीय क्षेत्रबाट ६५ रुपैयाँ प्रति केजी आयात हुने केराउ भारत तर्फ नै ५० रुपैयाँमा तस्करी हुने गरेको तथ्य बाहिर आएको छ । नेपालगन्ज नाका र बाँकेका ग्रामीण बाटो भएर साइकलदेखि ट्रालीमै बोकेर भारतीय बजारसम्म केराउ पुग्ने गरेको खुलेको हो । विरगन्ज भएर नेपाल भित्रिएको केराउ देशका विभिन्न नाका हुँदै भारतीय क्षेत्रमा ५० रुपैयाँ प्रति केजी बिक्री हुँदै आएको छ । नेपालगन्जमा खुद्रा मुल्य ७० रुपैयाँ प्रतिकेजी रहेको केराउ भारतीय क्षेत्रबाट ६५ रुपैयाँमा आयात हुन्छ । तेस्रो मुलुकबाट आयात गरिएको केराउ नेपालगन्ज आसपास जम्मा गर्ने र भित्री नाकाबाट ट्रली तथा साइकलमा भारत ढुवानी गरेको छ ।

 
इलाका प्रहरी कार्यालय भगवानपुरका इन्चार्ज विश्वकर्माले नाकाहरु आवतजावत गर्ने सवारी साधन, मालबाहक ट्याक्टर र सामाग्री बोकेको अन्य सवारी साधन चेकजाँच अघि बढाइएको बताएका छन् । केराउ भारतीय क्षेत्र तर्फ गइरहेको सूचनाको आधारमा प्रहरीले बाँकेको अन्य नाका क्षेत्रमा पनि गस्ती बढाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया