बर्दिया/दीपक श्रेष्ठ
२५ वर्षीया सुष्मा कुँवरको हत्यामा संलग्न उनका बर्षीय मोहन बोहरालाई सार्वजनिक गर्न माग गर्दै सयौंको संख्यामा महिलाहरुले जिल्ला प्रहरी कार्यालय बर्दियाको परिसर भित्रै प्रवेश गरेर नारा जुलुस गरेका छन् ।
बिहीबार दिउँसो हजार बढीको संख्यामा रहेको महिलाहरुको समुहले गुलरिया नगर परिक्रमा गर्दै जिल्ला प्रहरी कार्यालय बर्दियाको कार्यालय प्राङ्गणमा प्रवेश गरेका थिए ।
एक्कासी हजार भन्दा बढीको संख्यामा आएका महिलाहरुको समुह प्रहरी परिसरको भित्र प्रवेश गरेर आरोपित मोहन बोहरालाई सार्वजनिक गर्न माग गरेका थिए । बोहरालाई सार्वजनिक नगरेसम्म प्रहरी कार्यालय परिसर बाहिर नजाने भने पछि प्रहरीले पक्राउ गरेका मोहन बोहरालाई जिल्ला प्रहरी कार्यालय बर्दियाको भवन माथिबाट सार्वजनिक गरेको थियो । मृतकका माइती पक्षको समेत सहभागिता रहेको महिलाहरुको समुहले पक्राउ परेका मोहन बोहरालाई सार्वजनिक नगरे सम्म परिसर बाहिर नजाने भने पछि बोहरालाई सार्वजनिक गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुरेन्द्र मैनालीले बताए ।
पक्राउ परेकालाई कडा भन्दा कडा सजाय हुनु पर्ने र मृतकका दुई छोराहरुको पालन–पोषण सरकारले गर्नु पर्ने र्यालीमा सहभागी महिला अधिकारकर्मी बिष्णु नेपालीले बताइन् । गुलरिया नगरपालिका वडा नं ५ निवासी २५ वर्षिया सुष्मा कुँवर बोहराको सोमबार बेलुकी हत्या गरी भाग्दै गरेको अवस्थामा बर्दियाको गुलरिया नगरपालिका वडा नं २ को खैरापुरबाट बोहरालाई पक्राउ गरेको थियो ।
हत्याको आरोप लागेका मोहन बोहराका आमाबुवालाई समेत स्थानीयको उजुरीका आधारमा प्रहरिले पक्राउ गरेको थियो । मृतक सुष्मा बोहराका ससुरा टिकाराम बोहरा र सासु बिज्जु बोहरालाई समेत पक्राउ गरि अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक सुरेन्द्र मैनालीले बताए ।