मदिरा तस्करी रोक्दै प्रहरी

भारतीयहरुका लागि नेपाली मदिरामा आकर्षण
नेपालगन्ज हँुदै भारतीय सिमावर्ती नाकाबाट हुने मदिरा तस्करी रोक्न नेपालगन्ज प्रहरीले सक्रियता देखाएको छ । त्यसक्रममा भारत सिमा नजिकैको जमुनाहा गाउँबाट प्रहरीले १ हजार ८ सय लिटर मदिरा बरामद गरेको हो ।
‘सबै मदिरा भारततर्फ तस्करीका लागि ठिक्क पारिएको थियो,’ वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख, प्रहरी निरीक्षक नारायण डाँगीले दैनिक नेपालगन्जसँग भने । डाँगीका अनुसार अबैधरुपमा भारतर्फ चोरी निकासी गर्ने उद्देश्यले लुकाई छिपाई राखेको अवस्थामा ठूलो मात्रामा मदिरा बरामद गरिएको हो ।

 
इलाका प्रहरी कार्यालय जमुनाहा र वडा प्रहरी कार्यालय नेपालगन्जबाट खटिएको प्रहरी टोलीले गाउँमा लुकाइराखेको अवस्थामा ठूलो मात्रामा मदिरा बरामद गरेको हो । अवैध निकासी तथा तस्करी विरुद्व कारबाही तिव्र पारेको जानकारी दिंदै प्रहरीले भारततर्फ लैजान तयारी हालतमा राखेको मदिरा बरामद गरेको जनाएको छ ।

 
प्रहरी अनुसार विभिन्न ब्राण्डका सोफी मदिरा १ सय ६३ वटा कार्टुन र १ हजार लिटर घरेलु बरामद गरिएको हो । अन्दाजी १ लाख ५ हजार ४ सय मुल्य बराबरका विभिन्न ब्राण्डका सोफी मदिरा आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सारमा बुझाइएको प्रहरीले जनाएको छ । १ हजार लिटर घरेलु मदिरा भने नष्ट गरिएको छ । भारतीय क्षेत्रमा मदिरा बेचबिखनमा कडाई गरिएसँगै नेपालतर्फबाट भारतर्फ मदिरा तस्करी हुने गरेको छ । ‘तस्करीमा भारतीय नागरिकनै बढी सक्रिय रहेको’, प्रहरीको भनाइ छ ।

 
आइतवार राती पिप्रहवास्थित एउटा होटलमा नजिक छापा मारेको प्रहरीले सञ्चालक फरार भएपछि घरेलु रक्सी नष्ट गरेको थियो भने गोदाममा बरामद गरेको मदिरालाई ‘बेवारिशे’ देखाएको हो । उक्त होटलमा छापा मार्दा राजस्व अनुसन्धानका कर्मचारी समेत पुगेको बताइएको छ ।

 
सिमावर्ती क्षेत्रमा रहेका मदिरा पसलमा भारतीय क्षेत्र बाबागन्जसम्मका ग्राहक मदिराका लागि आउने गरेका छन् । स्थानीयवासीका अनुसार, रेलमै आएर मदिरा सेवन गरि फर्कंने भारतीय नागरिकको पनि उत्तिकै भिड सिमाक्षेत्रमा देखिने गरेको छ । भारतमा मदिरा विक्रीलाई कडाई गरिएपछि सिमावर्ती नेपाली बजारमा भारतीयहरु मदिराका लागि आकर्षित भएका हुन् । ‘भारतीय बजारमा कमसल रक्सी महँगो भएकाले नेपाली रक्सीमा आकर्षण बढेको हो,’ एक जना व्यापारी भन्छन्, ‘स्तरिय मदिरा भने भारतमै रस्तो हुँदा त्यसको ओसारपसार छैन ।’

प्रतिक्रिया

प्रतिक्रिया