योजना माग्नै ढिलाई

स्थानीय तहको बजेट तथा योजना तयार गर्दा जनताको भूमिका महत्वपूर्ण हुन्छ । जनताकेन्द्रित अवधारणाको प्रक्रियामा जनताको स्वामित्व हुन्छ । प्रत्येक योजनामा जनताको अपनत्व रहने गरी समुदायको क्षमतासँग तालमेल गराएर जनताकेन्द्रित विकास योजना सञ्चालनमा ल्याउनुपर्छ । योजना छनोट गर्दा सामाजिक मूल्य, मान्यता र सांस्कृतिक पक्षलाई समेटिएको समेत हुनुपर्छ ।

 
बाँकेका स्थानीय तहहरुले पहिलो चरणमा जनता समक्ष पुगेर माग गर्नुपर्नेमा अझै पुगिसकेका छैन । टोलटोलमा आगामी आ.व.का लागि स्थानीयबासीले योजना बनाएका छन् । उनीहरु आफ्ना योजना सुनाउनलाई तयार छन् । तर, स्थानीय तहले टोलसम्म पुग्ने योजना अझै बनाइ सकेको छैन । यसले गर्दा जनताका योजना उनीहरुकै हातमा सीमित छन् । ‘योजना छनोटका लागि छलफल होला र आफ्ना योजना सुनाउला भनेर कुरिरहेको छु’, बाँके जानकी गाउँपालिकाका तुलसा सुनारले भनिन् ।

 
जनताको जीवनस्तरमा प्रत्यक्ष गुणात्मक सुधार र समृद्धि हुने कार्यक्रममार्फत दिगो सामाजिक तथा आर्थिक विकास हुने खालका योजना निर्माण तथा कार्यान्वयन गर्ने गरी काम गर्नुपर्दछ । स्थानीय सरकार आफै आत्मनिर्भर हुनुपर्ने पहिलो सर्त भएको हुँदा आन्तरिक आम्दानी वृद्धि, राजस्व सङ्कलनमा दायरा वृद्धि गर्न पर्ने भएकाले योजना छनोट गर्दा पनि आन्तरिक आम्दानीमा सहयोग हुने हालका उत्पादनमूलक योजनाको कार्यान्वयन गर्न सके मात्र स्वतन्त्र र आन्मनिर्भर स्थानीय सरकार बनाउन सकिन्छ । बसन्त गौतम भन्छन्, ‘योजना छनोटका लागि समयमै नपुग्ने हो भने पछि सबै प्रक्रियाहरु हतारमा पुरा गर्नुपर्छ, यसले योजनाको प्राथमिकीकरणमा समेत असर पर्न सक्छ ।’
स्थानीय तहले गाउँ पुग्न ढिलाई गरिरहेका छन् । ‘पुसमा भएपनि योजना छनोटका लागि स्थानीय टोलटोलमा पुग्नुपर्ने हो, तर कुनै तयारी भएको पाइँदैन’, जिल्ला समन्वय समितिका संयोजक मीन बहादुर मल्लले भने, ‘यसले स्थानीयका योजना उनीहरुकै हातमा सीमित भएको छ ।’ तत्काल योजना छनोटका लागि स्थानीय तह गाउँ पुग्नु पर्ने मल्ल बताउँछन् ।

 
नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, बैजनाथ, खजुरा, जानकी, राप्तीसोनारी, डुडवा र नरैनापुर गाउँपालिका गरी ८ स्थानीय सरकार छन् । तर, कुनै पनि पालिकाले योजना छनोट गर्न सुरु गरेका छैनन् ।
योजना छनोटका लागि धेरै चरण पार गर्नुपर्छ । सुरुमा गाउँ पुगेर विकासका योजना लिने, तिनलाई संकलन गरी बस्तीमै सुनाउने र योजना फाराम भरी स्थानीय भेलामा सुनाउनु पर्छ । वस्तीबाट आएका मागको टुङ्गो लगाउन वडा भेला आवश्यक पर्छ । सबै वडाबाट योजना एकीकृत भएपछि प्राथमिकीकरण गर्दै गाउँसभामा पेश गरिनुपर्छ । लामो प्रक्रियापछि मात्रै योजना छनोट गर्न सकिने भएकाले तत्काल योजना छनोटका लागि गाउँ नजाने हो पनि यसले पछि हतार गर्न बाध्य हुनुपर्छ ।
‘योजना छनोटको सम्पूर्ण प्रक्रिया फागुनसम्म भ्याइसक्नु पर्छ,’ सामाजिक विकास अधिकृत मल्लले भने, ‘त्यसैले योजनाको छनोट गर्न स्थानीय सरकारले ढिलाइ गर्न हुँदैन ।’ ‘स्थानीय स्रोत साधनको समुचित उपयोगमा अझ बढी ध्यान दिनुपर्छ । तलदेखि माथि बन्ने योजना प्रक्रियामा नागरिक प्रत्यक्ष सहभागी हुनैपर्छ,’ सामाजिक विकास अधिकृत मल्लले भने, ‘तर, दुर्भाग्य, अहिलेसम्म स्थानीय तहले यस्तो प्रक्रियालाई अवलम्बन गर्न रुचाएको देखिंदैन ।’

जानकी गाउँपालिका–२ का मोहनलाल सुनार गाउँसभा कुरेर बसेको बताउँछन् । गाउँसभामा गाउँका वृद्धहरुलाई बस्नका लागि चौतारा बनाउने प्रस्ताव राख्नका लागि उनी आतुर छन् । जानकी २ का आनन्द रावत ५ बर्षदेखि बैदेशिक रोजगारीमा थिए । स्थानीय तहको निर्वाचनपछि गाउँमै रोजगारीको अवसरको पर्खाइमा रहेका उनी गाउँसभामा वैदेशिक रोजगारी ताक्ने युवाका लागि गाउँमै रोजगारको अवसर सिर्जनाको माग गर्न आतुर छन् । उनीहरुको हतारोलाई गाउँपालिकाले कहिले सम्बोधन गर्ने हो भन्ने टुङ्गो लागि सकेको छैन ।

प्रतिक्रिया

प्रतिक्रिया