प्रदेश ५ सरकारले माघे सङ्क्रान्तिका अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
प्रदेश सरकार मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले माघ १ र २ गते दुई दिन बिदा दिने निर्णय गरेको हो । प्रदेशमा मगर र थारु जातिको बाहुल्य रहेकाले माघे सङ्क्रान्तिका अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता वैजनाथ चौधरीले जानकारी दिएका छन् ।
माघीकै अवसरमा पुस ३० गते आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयोजनमा मुख्यमन्त्री शङ्कर पोखरेलको निवासमा शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रमसमेत आयोजना गर्ने निर्णय भएको छ । प्रदेशस्तरीय नेपाल मगर सङ्घ र थारु कल्याणकारी सभाका पदाधिकारी तथा सदस्यको सहभागिता रहने कार्यक्रममा मगर समुदायमा प्रचलित खानाका परिकार बटुक र बङ्गुर तथा थारु समुदायको प्रचलित खाना ढिकरी, माछा र घोगी खुवाइने प्रवक्ता चौधरीले बताउनुभयो ।