बाँकेको कोहलपुर नगरपालिका क्षेत्रमा मात्रै ५० बढी सर्वसाधारणको सडकबास पाइएको छ । नेपालगन्ज स्थित निल सागर असहाय, अशक्त तथा ज्येष्ठ नागरिक सेवा केन्द्रले त्यस क्षेत्रमा गरेको उद्दार प्रयासका क्रममा ५४ जनालाई सडकमै फेला पारेको जनाएको छ ।
‘उहाँहरुलाई आश्रय स्थलमा पुर्याउनु पर्ने आवश्यक छ’, निल सागरका उपाध्यक्ष अमन सुवेदीले कोहलपुर क्षेत्रका चप्परगौडीदेखि मदनचोक, हवल्दापुर लगायतका क्षेत्रमा सडकमै बास भएका ५४ जनालाई उद्दार गर्नुपर्ने अवस्थामा भेटिएको जानकारी दिंदै भने । उपाध्यक्ष सुवेदीका अनुसार, इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख, डिएसपी रमेश बहादुर शाह, नयाँ जीवन पुनस्र्थापन केन्द्र चटारका सञ्चालक शाहिद सिंह ठकुरी लगायतको सहयोगमा निल सागरका स्वयंसेवकहरुले त्यस क्षेत्रमा गरेको अध्ययनका क्रममा जोखिमपूर्ण सडकबासका उनीहरुलाई उद्दारको आवश्यकता देखिएको हो ।
‘त्यति ठूलो संख्याका सर्वसाधारणलाई कसरी कहाँ लगेर आश्रय दिने ?’, उपाध्यक्ष सुवेदीले दैनिक नेपालगन्जसँग भने, ‘उद्दार गर्नुपर्ने अवस्थामा रहेका अधिकांस असहाय र अशक्त अवस्थाका छन् ।’ निल सागरले सडकमा भेटिएकाहरुका आफन्त खोजी र आश्रय स्थलसम्म लैजानेबारे पहल सुरु गरेको जनाएको छ । ‘यो राज्यको दायित्व हो’, सुवेदीले भने, ‘तर, मानवीय दृष्टिले जो कसैले पनि यस पुण्यकार्यमा सहयोगी भूमिका खेल्न जरुरी छ ।’
नेपालगन्जका सडकमा बास बस्नेहरुलाई नियमित उद्दार र पुनस्र्थापनामा सक्रिय निल सागरले क्रमशः कोहलपुरमा स्थानीय सरकारसँग समेतको समन्वयमा सडक आश्रित सर्वसाधारणको उद्दार र पुनस्र्थापनामा सेवा बिस्तार गर्न थालेको हो । ‘हामी चाहन्छौं प्रदेश ५ का कुनै पनि सडकमा अशक्त, असहाय मानिसहरुको बास नहोस्’, निल सागरको उद्देश्य प्रष्ट पार्दै उपाध्यक्ष सुवेदीले त्यस अवस्थामा रहेका कोहलपुर क्षेत्रका बासिन्दाहरुलाई संरक्षण सहित आश्रयको प्रयास थालिएको जानकारी दिंदै भने । त्यसका लागि कोहलपुर क्षेत्रमा अञ्जु न्यौपानेको संयोजकत्वमा नियमित पहलकदमी अगाडि बढाइएको छ ।
शनिबारबाट सुरु गरिएको अभियानलाई स्थानीय सरकारसँग सहयोगको अपेक्षा गरिएको उपाध्यक्ष सुवेदीले जानकारी दिए । शुक्रबार मात्रै कोहलपुरका नगरपालिकाका उपप्रमुख सञ्जु कुमारी चौधरी, पूर्व सांसद देवराज भार लगायतले निलसागरको प्रयासमा राज्यले साथ दिनुपर्ने धारणा व्यक्त गरेका थिए ।
कैलाश भवनलाई मुख्यमन्त्रीको आश्वासन
निल सागर असहाय, अशक्त तथा ज्येष्ठ नागरिक सेवा केन्द्र नेपालगन्जले अशक्तहरुको आश्रय स्थलका लागि निर्मार्णाधिन ‘कैलाश भवन’ लागि प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले सरकारी सहयोगको आश्वासन दिएका छन् ।
दुई बर्षदेखि परोपकारीहरुको सहयोगबाट सञ्चालित निल सागरले आफ्नै पहलमा निर्माण गर्न लागेको कैलाश भवनका लागि मुख्यमन्त्री पोखरेलले शनिबार सामाजिक विकास मन्त्रालय मार्फत सहयोगको आश्वासन दिएका हुन् ।
पहिलो पटक निल सागर पुगेका मुख्यमन्त्री पोखरेललाई संस्थाका अध्यक्ष सरिता खनालले ज्ञापनपत्र बुझाउँदै ३० कोठाको १ सय ५० जना आश्रितहरुलाई राख्न सकिने भवन निर्माणको पहल सुरु भएको जानकारी दिंदै सहयोग माग गरेकी थिइन् । मासिक २ लाख बढी खर्चमा सञ्चालित निल सागरका लागि सरकारबाट अहिलेसम्म कुनै सहयोग नपाएको अध्यक्ष खनालको गुनासोपछि मुख्यमन्त्री पोखरेलले भवन निर्माणका लागि आश्वस्त पारेका हुन् ।
‘मुख्यमन्त्री पोखरेलको आश्वासनबाट हामीलाई ठूलो राहत महसुस भएको छ’, निल सागरका उपाध्यक्ष अमन सुवेदीले दैनिक नेपालगन्जसँग भने । सुवेदीका अनुसार, २ कठ्ठा जग्गामा निर्मार्णाधीन कैलाश भवन निर्माणका लागि ५ करोड आवश्यक छ । ‘हामीलाई एक पैसा चाहिएन’, अध्यक्ष खनालले मुख्यमन्त्रीसँग भनिन्, ‘भवन बनाइदिनु भए हुन्छ ।’ मुख्यमन्त्री पोखरेलले मानवीय सेवामा निल सागरले महत्वपूर्ण काम गरेको भन्दै खुलेर प्रशंसा गरे ।
२०७३ बैशाखदेखि सञ्चालनमा आएको निल सागरले ९० जनालाई सडकबाट आश्रय स्थलमा ल्याइ स्नेहपूर्व गृह पुनस्र्थापन गरिसकेको छ । हाल ३९ जना निल सागरमा आश्रित रहेको र ती मध्ये १५ जना मानसिक रोगी रहेको संस्थाले जनाएको छ । ‘उनीहरुका लागि मात्रै मासिक ४५ हजार बराबरको औषधी आवश्यक पर्छ’, ज्ञापनपत्र बुझाउँदै अध्यक्ष खनालले भनिन्, ‘यसका लागि राज्यले एक पैसा पनि सहयोग नगर्दा दानवीरहरुकै भरोसामा चल्नु परेको छ ।’
मुख्यमन्त्री पोखरेलले सडकमै आश्रितहरुलाई पहिलो प्राथमिकता गृह पुनस्र्थापनमै हुनुपर्ने बताए । ‘पुनस्र्थापना सम्भव नभएकाका लागि यसखालका आश्रय स्थल आवश्यक छ’, पोखरेलले भने । कार्यक्रममा निल सागरका अभिभावक विजय कुमार गुप्ता, प्रमुख जिल्ला अधिकारी मदन भुजेल, पूर्व सांसद देवराज भार, नेपालगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष समेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक अरुण पौडेल लगायत पनि सहभागी थिए ।