डिएसपीलाई घुस दिन गोरु तस्कर खोज्ने खोरमा !

शुक्रबार इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख, डिएसपी रमेश बहादुर सिंहलाई भेट्न दुई जना व्यक्ति उनकै कार्यकक्षमा पुगे । कुनै उजुरी वा गुनासो होला भनेर डिएसपी सिंहले भेट्न आउनुको कारण सोधे । उनीहरुले कुराको सुरवातमै गोजीबाट निकालेर ५० हजार रुपैयाँ सिंहको टेबलमा राखिदिए र भने, ‘गोरु लैजान अवरोध गरिदिनु भएन ।’ त्यसपछि डिएसपी सिंहले प्रहरी निरीक्षकलाई बोलाएर दुवै जनालाई थुनुवा कक्षमा राख्न निर्देशन दिए ।

 
डिएसपी सिंहले कार्यक्षमै आएर घुस दिन खोज्ने दुई जना हेटौडाका अब्दुल दिवान र चप्परगौडीका नवराज थापा भएको जानकारी दिएका छन् । डिएसपी सिंहलाई उनीहरुले बिहीबार फोन गरी भेट्ने काम छ भनेका थिए । के, कति कारणले भेट्नु पर्ने हो भनि सिंहले सोध्दा भेटेरै भन्ने बताएका दिवान र थापा शुक्रबार इप्रका कोहलपुर गरेका थिए ।
‘अवैध कार्य विरुद्ध हामीले निगरानी बढाइरहेको छौं’, डिएसपी सिंहले भने, ‘त्यसक्रममा पटकपटक गोरु फर्काएका छौं ।’ उनले तस्करीहरुले गोरु लैजान सहज होस् भनेर घुस दिन खोजेको हुन सक्ने बताए । डिएसपी सिंहले केही दिनअघि पनि दिवान नामका व्यक्तिले फोन गरी गोरु सहज रुपमा लैजान दिनका लागि आग्रह गरेका थिए । ‘कानुन विपरितका कुनै पनि काम हुन दिइनेछैन’, डिएसपी सिंहले भने, ‘कानुन मिच्नेलाई कारवाहीको दायरामा ल्याउँछौं ।’

 
डिएसपी सिंहले नियन्त्रणमा लिइएका दुवैलाई म्याद थप गरी थप अनुसन्धान गर्ने बताएका छन् । उनीहरुमाथि कसुर अनुसारको मुद्दा चलाउने इलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ । डिएसपी सिंहले पछिल्ला दिनमा कोहलपुरमा लागुऔषध विरुद्ध सचेतना र कारवाही, साइबर क्राइम बारे अभिमूखिकर तथा कुलतमा फसेका युवाहरुलाई सुधार्ने अभियान चलाइरहेका छन् ।

 
बाँकेमा गोरु तस्करीका धेरै घटनाहरु सार्वजनिक हुने गरेका छन् । गोरु तस्करहरुले प्रक्रिया पुर्याइ कागजात तयार पारेका हुन्छन् । त्यसैले उनीहरुलाई कानुनी दायरामा ल्याउने गाह्रो हुने गरेको प्रहरी अधिकारीहरु बताउँछन् । ‘गोरु लैजानका लागि आवश्यक सबै कागजात उनीहरुसँग हुन्छ’, कारवाहीको दायरामा ल्याउन गाह्रो पर्ने गरेको बताउँदै प्रहरी भन्छन् ।

 

लागुऔषध सहित दुई पक्राउ
मोबाइल चोरीको आरोपमा नियन्त्रण
इलाका प्रहरी कार्यालय कोहलपुरले शुक्रबार लागु औषध ब्राउन सुगर सहित दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले ब्राउन सुगरको कारोबार भैरहेको सूचनाको आधारमा कोहलपुर बसपार्कमा निगरानी गर्दा नेपालगन्जका दुई जनालाई ब्राउन सुगर सहित फेला पारेको जानकारी दिएको छ ।

 
पक्राउ पर्नेमा साहिद खान र सद्दाव खान रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरुसँग ९ ग्राम ब्राउन सुगर फेला परेको थियो । ‘नियन्त्रणमा लिइएका दुवैमाथि अनुसन्धान गरिरहेका छौं’, इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख, डिएसी रमेश बहादुर सिंहले भने ।

 
त्यस्तै, कोहलपुर– ११का करण गाहा मगर चोरीको ३ थान मोबाइल सहित पक्राउ परेका छन् । प्रहरीले उनलाई कोहलपुर–१० स्थित मेनका कार्कीको घरबाट चोरी भएको ३ थान मोबाइल सहित शुक्रबार नियन्त्रणमा लिएको हो । करण माथि यसअघि पनि रिचार्ज कार्ड चोरीको आरोप लागेको प्रहरीले जानकारी दिएको छ । यद्यपि, उक्त आरोप प्रमाणित हुने प्रमाण नभेटिएपछि उनी इप्रकाबाटै छुटेका थिए ।

चरेश सहित नेपाली समातिए

भारतको रुपैडिहामा एक नेपाली ६ किलो चरेश सहित पक्राउ परेका छन् ।

भारतीय सीमा सुरक्षा बल एसएसबीले कोहलपुरका शिवराज सिंहलाई चरेश सहित पक्राउ गरेको जानकारी दिएको छ । नेपाल भारत सीमाको पिलर संख्या ३०/६ बाट भारत प्रवेश गर्न लागेका सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको दाबी गरेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया