बाँकेको खजुरा स्थित सुशिल कोइराला क्यान्सर अस्पतालमा नियमित किमो थेरापीको पहल थालिएको छ । जनशक्ति अभावमा रोकिएको क्यान्सरको उपचार पद्धति किमो थेरापीलाई नियमित गर्न पहल थालिएको हो ।
‘त्यसका लागि चितवन स्थित भरतपुर क्यान्सर अस्पतालसँग नियमित विशेषज्ञ चिकित्सकको सुनिश्चितता खोजेका छौं’, सोमबार भएको बैठकबारे जानकारी दिंदै अस्पतालका अध्यक्ष किस्मत कुमार कक्षपतिले दैनिक नेपालगन्जसँग भने, ‘सम्भवत छिट्टै किमोथेपारी सुरु गरिनेछ ।’
सरकारले दरबन्दी अनुसारको जनशक्ति सुनिश्चित नगरिदिंदा ओपिडीकै भरमा अस्पताल सञ्चालन गर्नुपरेको जानकारी दिंदै अध्यक्ष कक्षपतिले भने, ‘किमोथेरापी सुरु गर्दा एउटा बिरामीलाई ५० हजारको सहुलियत उपलब्ध हुन्छ ।’ औषधी, ल्याब, भिडियो एक्सरे लगायतका सबै सुविधासम्पन्न अस्पताल तयार भैसकेपछि जनशक्ति अभावले अस्पताल पूर्ण रुपमा सञ्चालनमा आउन समस्या भैरहेको छ ।
बे्रस्ट क्यान्सर विशेषज्ञ डा. विश्वराज पौडेलसँगै थप विशेषज्ञ चिकित्सकको सुनिश्चितता गरी उपचारका सेवा बिस्तार गर्न खोजिएको अध्यक्ष कक्षपतिले जानकारी दिए ।