नेपालगन्जको गनापुर स्थित नमस्ते भिलेज रिसोर्ट प्रा.लि.मा यस पटकको अंग्रेजी नयाँ बर्षको पहिलो दिन म्युजिक फेष्टिबलका रुपमा मनाइने भएको छ । चर्चित गायक राजेश पायल राईदेखि सुजाता पाण्डेसम्मका कलाकारहरुको उपस्थितिमा न्यू इयर इभ मनाइने भएको हो ।
‘अंग्रेजी नयाँ बर्षलाई भव्य रुपमा स्वागत गर्न बलामी फिल्म इन्टरटेन्मेन्टले म्युजिक फेष्टिबल आयोजना गर्न लागेको हो’, नमस्ते रिसोर्टका प्रबन्ध निर्देशक पशुपति दुलालले कार्यक्रमबारे जानकारी दिन मंगलबार पत्रकार सम्मेलन राखिएको जानकारी दिंदै भने, ‘अहिलेसम्मकै सांस्कृतिक कार्यक्रमहरुमा उत्कृष्ट आयोजनाका रुपमा भव्यता दिइने तयारी छ ।’
फ्राइडे नाइट लाइभका रुपमा नमस्ते भिलेज रिसोर्टले गनापुरमा प्रत्येक शुक्रबार सांस्कृतिक प्रस्तुति आयोजना गर्दै आएको छ । ‘प्रत्येक साताको लाइभ म्युजिकसँगै बेलाबेलामा यसखालका उत्सवहरुलाई पनि हामी प्राथमिकतामा राख्दैछौं’, प्रबन्ध निर्देशक दुलालले दैनिक नेपालगन्जसँग भने, ‘हरेक दृष्टिले ग्राहकहरुको सन्तुष्टिका लागि हामी तत्पर छौं ।’