नेपालगन्ज उपमहानगरपालिकाले शनिबार विभिन्न संघ, संस्थासँगको सहकार्यमा आयोजना गर्न लागेको सरसफाई महाअभियानका लागि जिम्मेवारी बाँडफाँड गरेको छ । उपमहानगरपालिकाका सूचना अधिकारी शरद पौडेलले उपमहानगरका २० वटै वडा सरसफाईका लागि छुट्टाछुट्टै टोली बनाइएको जानकारी दिए । ‘सरसफाई हुने रुट, सहभागिता जनाउने संस्था र सम्पर्क व्यक्ति तोकिएको हो’, पौडेलले भने ।
महाअभियानमा सहभागी हुने प्रत्येक व्यक्तिले ६ मिटरको क्षेत्र सफा गर्नुपर्ने उपमहानगरपालिकाले जानकारी दिएको छ । त्यसैगरी, प्रत्येक वडा कार्यपालिकाले आफनो वडाका संघ संस्थालाई परिचालन गरि वडा सफा गर्नुपर्ने सूचना अधिकारी पौडेलले बताए । महाअभियानका क्रममा राँझाचोकदेखि नेपालगन्ज बजारका विभिन्न चोक तथा अन्य २० स्थानमा सरसफाई गरिने छ ।
महाअभियानमा विभिन्न सरकारी तथा गैरसरकारी कार्यालय, स्थानीय तह, विद्यालय, नेपाल प्रहरी लगायतको सहभागिता हुने सूचना अधिकारी पौडेलले बताए । यस्तै नेपालगन्जमा जारी एकिकृत शहरी विकास आयोजनाले सरसफाई तथा फोहरमैला व्यवस्थापन सम्बन्धि जनचेतना तालिम दिन थालेको छ । पहिलो चरणमा नेपालगन्ज उपमहानगरपालिकाको २५ वटा टोल बस्तीका लागि एक दिने टोल वस्ती स्तरीय सरसफाई तथा फोहरमैला व्यवस्थापन सम्बन्धि जनचेतना तालिम दिइने छ । बिहीबार वडा नं. २३ का वडावासीलाई तालिम दिइएको छ । मदन झा, राजन कुमार श्रेष्ठ र डा. जनार्दन आचार्यले सहभागिलाई प्रशिक्षण दिएका हुन् । तालिम शुभारम्भमा नगर प्रमुख डा. धवल समशेर राणाले नागरिकहरुको सहभागिता र सहयोगले मात्र नेपालगन्जलाई फोहरमुक्त बनाउन सकिने बताए ।