४५ क्वीन्टल अखाद्य दाल नष्ट, आरोपी धरौटीमा छुटे

नेपाल सरकारले खान नहुने भन्दै विक्री वितरण गर्न प्रतिबन्ध लगाएको मटरा (खेसरी) दाल सहित पक्राउ परेका एक जना ४५ हजार धरौटीमा रिहा भएका छन् । बरामद गरिएको मटरा दाल जलाएर नष्ट गरिएको बर्दिया प्रहरीले जनाएको छ ।

 
बर्दिया ठाकुरबाबा नगरपालिकाको विभिन्न गाउँका स्थानीय कृषकहरुबाट प्रतिबन्धित मटरा दाल खरिद गरि गाउँबाट ट्याक्टरमा राखि भुरिगाउँ बजार तर्फ ल्याउँदै गरेको अवस्थामा नेपालगन्ज घर भई भुरिगाउँमा बस्दै आएका गुलाम नलीलाई इलाका प्रहरी कार्यालय भुरिगाउँले चारदिन अघि पक्राउ गरेको बर्दियाका प्रहरी उपरिक्षक सुरेन्द्र प्रसाद मैनालीले बताए ।

 
ठाकुरबाबा नगरपालिका ३ नेउलापुर गाउँमा घर भाडमा लिई घरभित्र राखेको झण्डै ४५ कुण्टल मटरा दाल प्रहरीले बरामद गरी ट्याक्टर र अटोमा भरेर प्रतिबन्धित दाल बिक्री वितरणमा संलग्न नेपालगन्ज घर भई भुरिगाउँमा बस्दै आएका गुलाम नलीलाई जिल्ला प्रहरी कार्यालय गुलरिया चलान गरिएको थियो ।

 
मटरा अर्थात केसरीको दाल मानव जीवनमा मात्र नभई पशुलाई समेत हानी पुर्याउने भएकाले नेपालमा विक्री वितरणमा प्रतिबन्ध लगाइएको छ । मटराको दाल खाएमा मानव सहित पशुलाई पनि अपाङ्गता बनाउने भएकाले नेपाल सरकारले केसरीको दाल बिक्री वितरणमा रोक लगाएको हो ।

माछा भन्सारमै नष्ट

भारतबाट अवैध रुपमा माछा ल्याई बर्दियाका माछापालकलाई नोक्सानी पुर्याउन थालेको भन्दै बर्दिया प्रहरीले भारतबाट आयात माछा भन्सारमै नष्ट गर्न थालेको छ ।

बर्दियाका माछापालकहरुले नसड्ने तथा नगल्ने औषधी प्रयोग गरी भारतबाट माछा ल्याई बर्दियाका विभिन्न बजार तथा गाउँमा सस्तो दरमा बिक्री गरेको भन्दै जिल्ला प्रशासन कार्यालय पुगेका थिए । माछापालकहरुले जिल्ला प्रशासन कार्यालयमा पुगेर आफ्नो गुनासो पोखेपछि प्रहरीले भारतबाट ल्याइएका माछा भन्सारमै नष्ट गर्न थालेको जिल्ला प्रहरी कार्यालय बर्दिया प्रहरी उपरिक्षक सुरेन्द्रप्रसाद मैनालीले जानकारी दिए । मधुवन नगरपालिकाको सानोश्री क्षेत्रको नाकाबाट ल्याइएका झण्डै २५ किलो माछा मंगलवार र बुधवार नष्ट गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया