कोहलपुर/प्रमोद रिजाल
कोहलपुरको मुख्य सडकमै रहेको एउटा इलेक्ट्रोनिक्स पसलमा मंगलबार राती चोरी भएको छ । सुरक्षित मानिएको क्षेत्रमा चोरीको घटना भएपनि व्यवसायीहरुले सुरक्षा अवस्थामा प्रश्न समेत उठाएका छन् ।
उद्योग वाणिज्य संघ कोहलपुरका वरिष्ठ उपाध्यक्ष प्रदिप भट्टराइको पप लाइफ इलेक्ट्रोनिक्स पसलमा चोरी भएको हो । ‘सटरको ताला फोडेर ७ लाख मूल्य बराबरका ३५ वटा मोबाइल सेट चोरी भएको छ’, भट्टराईले भने । कोहलपुरको मुटु मानिने न्यूरोड चोकमा रहेको उक्त पसलको डेढ सय मिटरमा रहेको चोकमा प्रहरी २४ सै घण्टा तैनाथ रहने गरेका छन् ।
‘यति सुरक्षित ठाउँमा त चोरी भयो कसरी ढुक्क सँग व्यवसाय गर्ने ?’, व्यवसायी भट्टराईले भने, ‘चोरीका घटनाहरुले व्यवसायिक सुरक्षामा चुनौति देखिएको छ ।’ पसलमा रहेको सिसि टिभिमा चोरी हुँदै गरेको भिडियो समेत रेकर्ड भएको पसल संचालक भट्टराईले बताएका छन् । दिनप्रतिदिन घटना हुँदा पनि प्रहरीले अपराधी पत्ता लाउन नसक्नुले सुरक्षा अवस्था कमजोर देखिएको कोहलपुर इलेक्ट्रोनिक्स ब्यवसायी संघका वरिष्ठ उपाध्यक्ष परशुराम लामिछानेले बताएका छन् ।
उक्त स्थलमा करिब दुइ महिना अगाडि राप्रपाका नेता हिक्मत ढकालको कार तोडफोड गरी कारको सामान चोरी भएको थियो । कान्तिपुर होटेलमा पनि सामान्य चोरी भएको सञ्चालकले बताएका छन । उनको पसलबाट करीब २ केजी मासु र केही मदिरा चोरी भएको हो ।
१० वटा चोरीका घटना
पछिल्लो समय कोहलपुर क्षेत्रमा चोरीका घटना बढ्दै गएको भन्दै स्थानीय ब्यापारीहरूले चिन्ता ब्यक्त गरेका छन । पछिल्लो एक महिनामा नगरभित्रका १० वटा पसलमा चोरी भएपछि स्थानिय व्यवसायीहरू त्रसित भएका हुन् ।
उनीहरूले सुरक्षाको प्रत्याभुति दिलाउन इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख रमेश सिहलाई ध्यानाकर्षण समेत गराएका छन् । सुरक्षित वातावरणमा व्यवसाय संचालन गराउन विशेष सुरक्षा नीति लागू गर्न व्यवसायीहरूले माग गरेका छन् ।
यस अघि इलेक्ट्रोनिक्स पसलबाट चोरी भएका मोबाइलहरु सिराहामा प्रयोगमा आएको पत्ता लागेपनि प्रहरीले अपराधी भारत तिर भागेको भन्दै पञ्छिएको कोहलपुर इलेक्ट्रोनिक्स ब्यवसायी संघका बरिष्ठ उपाध्यक्ष परशुराम लामिछानेले बताए । इलाका प्रहरी कार्यालय कोहलपुरले घटनाबारे गम्भीर रुपमा अनुसन्धान भैरहेको बताएको छ ।