बर्दिया/भावुक योगी
बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाले निकुञ्जको उत्तरी क्षेत्रबाट ३ थान भरुवा बन्दुक र विभिन्न बन्दोबस्तीका सामाग्री सहित एकजना महिलालाई पक्राउ गरेको छ । निकुञ्जको उत्तरी क्षेत्रमा पर्ने खयरभट्टी पोष्टबाट निकुञ्ज सुरक्षार्थ खटिएको शिव दल गणको नेपाली सेनाको टोलीले स्विप अपरेसन गस्ति गर्दै गएका बेला निकुञ्जको उत्तरी क्षेत्रमा पर्ने पाताचुली इलाकाको खोँचमा लुकाई राखेको अवस्थामा ३ थान भरुवा बन्दुक सहित एकजना महिलालाई पक्राउ गरेको हो ।
निकुञ्जको उत्तरी क्षेत्र तेलपानी नजिकको पाताचुली इलाकाबाट सेनाले सुर्खेत शुकरमाला की ५० वर्षीया नन्दकली खत्रीलाई उक्त सामाग्री सहित पक्राउ गरेको शिव दल गण ठाकुरद्वाराका गणपति प्रमुख सेनानी चन्द्रप्रसाद चापागाईले जानकारी दिए ।
निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको टोलीले ३ नाल भरुवा बन्दुक सहित १५ थान फलामको गोली, केप १ थान, बारुद ३ सय ग्राम, गन्धक बारुद १ पाकेट, ४ किलो वन्यजन्तुको सुकुटी, २ किलो भाँडाकुडा लगायत शिकार खेल्न प्रयोग गरिने थुप्रै बन्दोबस्तीका सामाग्रीहरु पनि बरामद गरेको जानकारी दिएको छ ।
अनुसन्धानका क्रममा पक्राउ परेकी महिलाले ४ जना शिकारी रहेको बताएपछि उनीहरुको पनि खोजी भइरहेको निकुञ्ज सुरक्षार्थ वि दल गणका गणपति चापागाइँले जानकारी दिए । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको उनले बताए । पक्राउ परेकी महिलाले शिकारीलाई खाना पकाएर खुवाउने लगायत शिकारीलाई विभिन्न सहयोग गर्दै आएको बताएकी छन् ।
पछिल्लो समय बर्दिया निकुञ्जमा सेनाले गस्ति अपरेसन तीव्र पारेको छ । केही दिन अघि नेपाली सेनाको सहयोगमा निकुञ्ज प्रशासनले मध्यवर्ती क्षेत्रमा चिरानी गरी लुकाई राखेको ३ सय २३ क्युफिट सालका चिरान काठ समेत बरामद थियो ।
निकुञ्जले सवारी गस्ती गर्न नसक्ने स्थानहरुमा छिटो पुग्नका लागि नेपाली सेनालाई २० वटा साइकल समेत उपलब्ध गराएको छ । निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाले निकुञ्जमा हुने अवैध गतिविधि रोक्न पैदल गस्ति संगै मोटरसाइकल, साइकल, हात्ती र सवारी गस्तीलाई प्राथमिकता दिएको छ ।