ध्वनि प्रदुषण नियन्त्रण गर्न बाँके प्रशासनको पहल, सामूहिक अभियानको थालनी

बाँकेमा बढ्दो ध्वनि प्रदुषण नियन्त्रणका लागि सामुहिक अभियान थालिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेको सक्रियतामा मंगलबार भएको सर्वपक्षिय भेला गरि बढ्दो ध्वनि प्रदुषण बारे गम्भीर चासो राखिएको हो । भेलामा सहभागीहरुले नेपालगन्जमा अत्याधिक ध्वनि प्रदुषण भैरहेको भन्दै चिन्ता व्यक्त गरेका थिए । बैठकले जिल्लामा ध्वनि प्रदुषणको मात्रा उच्च रहेको भन्दै त्यसको नियन्त्रणका लागि सामूहिक प्रयासको खाँचो औंल्याउँदै त्यसको सुरुवात गरेको हो ।

 
भेलामा बोल्दै प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जिल्लामा ध्वनि प्रदुषण नकारात्मक प्रभाव पारिरहेको भन्दै त्यसको नियन्त्रणका लागि सरोकारवाला प्रतिबद्ध भएर लाग्नु पर्ने बताएका थिए । उनले ध्वनि प्रदुषणले आफु पनि पीडित बनेको भन्दै चर्को स्वरमा लाउड स्पीकर लगाउने कार्य ध्वनी प्रदुषण हो होइन, यसको नियन्त्रण गर्नु पर्ने हो होइन, यसबाट को को पीडित छन् ? यसको नियन्त्रण गर्नु पर्ने हो होइन भन्ने सवालमा छलफल गर्ने उद्देश्यले सर्वपक्षिय भेलाको आयोजना गरिएको बताए । उनले प्रशासनले पहल थालेको भन्दै धर्म गुरु, राजनीतिक दल, जनप्रतिनिधिले त्यसलाई गम्भीरतापूर्वक लिएर कार्यान्वयनमा सघाउने विश्वास व्यक्त गरे ।

 
प्रजिअ भुजेलले प्रहरी, प्रशासनको अग्रसरता र कारवाहीले मात्रै ध्वनि प्रदुषण नियन्त्रण गर्न सहज नहुने तर्फ संकेत गर्दै स्थानीयको अग्रसरतामा जोड दिएका हुन् । ‘यो ठाउँमा भैरहेको ध्वनि प्रदुषणले यहीका जनतालाई असर गर्ने हो’, प्रजिअ भुजेलले भने, ‘त्यसलाई नियन्त्रणका लागि पनि यहीका बासिन्दा अग्रसर हुनुपर्छ ।’

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल समशेर राणाले चर्को ध्वनिले सबैलाई असर गरिरहेको उल्लेख गर्दै यसको नियन्त्रणमा सबैलाई ध्यान दिन आग्रह गरे । भेलामा बोल्दै अधिकारकर्मी वसन्त गौतमले बाँकेमा नियम बिपरित ध्वनि प्रदुषण भैरहेको उल्लेख गर्दै नियन्त्रणका लागि अदालतले आदेश दिएको सन्दर्भमा यसको नियन्त्रणमा हुनु पर्नेमा जोड दिए । ‘अदालतले समेत सम्बन्धित निकायलाई ध्वनि प्रदुषण नियन्त्रणका लागि यसअघि आदेश गरिसकेको छ’, अधिवक्ता गौतमले उक्त आदेशलाई पूर्ण रुपमा कार्यान्वयन गरिनुपर्ने धारणा राख्दै भने ।

 
कार्यक्रममा प्रहरी उपरिक्षक अरुण पौडेलले ध्वनि प्रदुषण नियन्त्रणमा लिन नेपालगन्जलाई हर्न निषेधित क्षेत्र धोषणा गरिएको प्रसङ्ग उल्लेख गर्दै नगरमा लाउण्डस्पीकरको प्रयोग गरी जडीबुटी, आयुर्वेदिक औषधीको अवैध विज्ञापन गर्ने उपर कारवाही थालिएको जानकारी दिए ।

 
कार्यक्रमका सहभागीहरुले धार्मिक पर्व तथा विभिन्न उत्सव तथा कार्यक्रमका नाममा अनावश्यक रुपमा चर्को ध्वनि बनाइने कार्य नियन्त्रण गरिनुपर्ने धारणा राखे । उनीहरुले प्रशासनलाई ध्वनिको मापदण्ड तोक्न आग्रह गर्दै कार्यक्रममा उपस्थित धर्मगुरु सामू धार्मिक पर्वका नाममा हुने ध्वनि प्रदुषण नियन्त्रणमा पहल गर्न माग गरेका थिए । कार्यक्रममा राजनैतिक दलका प्रतिनिधि, धर्मगुरुहरु, नागरिक समाजका प्रतिनिधि, प्रहरी प्रशासन लगायतका सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

धर्म गुरु मार्फत अपिल

जिल्ला प्रशासन कार्यालय बाँकेले ध्वनि प्रदुषण नियन्त्रणका लागि प्रशासन र बिभिन्न धर्म गुरु मार्फत अपिल गर्ने सहमति भेलाले गरेको जानकारी दिएको छ । ध्वनि प्रदुषण नगर्न सम्बन्धित सबैमा प्रशासन कार्यालयका तर्फबाट आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी भुजेलले बताए ।

 
भेलामा हिन्ुदु, क्रिश्चियन, शिख, बौद्ध लगायतका धार्मिक मठ मन्दिरका धर्म गुरु मार्फत ध्वनी प्रदुर्षण हटाउन अनुरोध गर्ने सहमति भएको प्रजिअ भुजेलले बताए । यसैबीच जिल्ला प्रशासन कार्यालय बाँकेले मंगलबार नै सूचना जारी गरेर नेपालगन्ज र आसपासका क्षेत्रमा विवाह, महोत्सव, जन्मदिन, धार्मिक प्रवचन, राजनीतिक दलहरुका कार्यक्रममा ठूलो आवाजमा बनाइने लाउडस्पिकरका कारण विद्यार्थी, बिरामी, ज्येष्ठ नागरिक, आम सर्वसाधारण पीडित भएकाले ध्वनि प्रदुषण न्यूनिकरण गर्ने कार्यमा सहयोग गर्न राजनीतिक दल, धर्मगुरु, नागरिक समाज, उद्योगी, व्यवसायी लगायत सर्वसाधारणसँग अपिल गरेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया