बर्दियामा अपाङ्गता भएका बालबालिकाहरुलाई लक्षित गरी दुई वटा छुट्टाछुट्टै सुविधासम्पन्न छात्राबास सञ्चालनमा ल्याइएको छ । बाँके नेत्रहीन संघले प्लान इन्टरनेशनल नेपालसँगको सहकार्यमा डेढ करोड बढी लागतमा निर्माण गरेका दुई वटा छुट्टाछुट्टै छात्राबास बुधबार औपचारिक कार्यक्रम बीच शुभारम्भ गरिएको हो ।
बाँके नेत्रहीन संघले बर्दियामा सञ्चालन गरिरहेको समावेशी शिक्षा प्रवद्र्धन परियोजनाद्वारा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बाँसगढी र नेपाल राष्ट्रिय नमूना मावि मधुवनमा छात्राबास निर्माण गरिएको हो । ‘बाँसगढीमा ७८ लाख ९० हजार बढीको र मधुवनमा ८३ लाख २८ हजार बढीको लागतमा छात्राबास भवन निर्माण गरिएको हो’, बाँके नेत्रहीन संघका कोषाध्यक्ष भोलानाथ त्रिपाठीले दैनिक नेपालगन्जसँग भने ।
बाँसगढी स्थिति छात्राबासको बाँसगढी नगरपालिकाका नगरप्रमुख शालिकराम अधिकारीले उद्घाटन गरे । त्यस्तै, मधुवन नगरपालिकाका प्रमुख गणेश बहादुर केसीले नेपाल राष्ट्रिय नमूना मावि मधुवनको छात्राबास शुभारम्भ गरेका हुन् ।
प्लान इन्टरनेशनल नेपालका क्षेत्रीय प्रबन्धक मिना पराजुलीले दुवै कार्यक्रममा आफ्नो धारणा राख्दै दृष्टिविहीन बालबालिका र सुस्त श्रवण बालबालिकाहरुको सुरक्षा र संरक्षणमा ध्यान दिइनुपर्ने कुरामा जोड दिइन् ।
प्लान इन्टरनेशनल नेपाल संगको सहकार्यमा बाँके नेत्रहीन संघले बर्दिया जिल्लामा संचालन गरिरहेको समावेशी शिक्षा प्रवद्र्धन परियोजनाद्वारा नेपाल राष्ट्रिय माध्यामिक विद्यालय बाँसगडीमा दृष्टिविहीन बालबालिकाहरुको लागि निर्माण गरिएको ६ कोठे भवनमा २० जना बालबालिकाहरु बस्न सक्ने आवासीय छात्राबासको व्यवस्था छ ।
बिशेषगरी अपांगता भएका बालबालिकाहरु सुरक्षित तवरले बसोबास गरी गुणस्तरीय शिक्षा प्रदान गर्ने गराउने उद्देश्यका साथ निर्माण गरिएको उक्त भवन प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा बाँके नेत्रहिन संघद्वारा विद्यालय संगको समन्वय र सहकार्यमा निर्माण भएको हो ।
कार्यक्रममा बाँके नेत्रहीन संघका कोषाध्यक्ष भोलानाथ त्रिपाठीले भवनको लागत तथा खर्च प्रतिवेदन प्रस्तुत गर्दै भवन प्लान इन्टरनेशनल नेपालको ७१ लाख १३ हजार ९ सय ७३ र विद्यालयको रु. ७ लाख ७७ हजार ५६९ गरी जम्मा रु. ७८ लाख ९० हजार ५ सय ४२ रुपैयाँ भवन निर्माण कार्य सकिएको बताए ।
उद्घाटन कार्यक्रममा बाँसगडी नगरपालिकाका उप–प्रमुख सुष्मा चौधरी, प्रमुख प्रशासकीय अधिकृत अमरराज खत्री, ईलाका प्रशासन कार्यालयका प्रमुख डिल्लीराज आचार्य, प्लान इन्टरनेशनल नेपालका क्षेत्रीय प्रबन्धक मिना पराजुली, बाँके नेत्रहीन संघका सचिव भावुक जंग थापा लगायत शिक्षक, विदयार्थी र अभिभावकहरुको उपस्थिति थियो । विदयालयका प्रधानाध्यापक निराजन चापागाईले स्वागत मन्तव्य राखेका थिए ।
त्यस्तै, नेपाल राष्ट्रिय नमुना मावि मधुवनमा बहिरा तथा सुस्तश्रवण बालबालिकाहरुको लागि निर्माण गरिएको आवासीय छात्राबास ८३ लाख २८ हजार ४ सय ७३ रुपैयाँमा खर्च भएको कोषाध्यक्ष त्रिपाठीले जानकारी दिए । उक्त रकम मध्ये प्लानको ७५ लाख ५१ हजार ४ सय ७३ र विद्यालयको ७ लाख ७७ हजार खर्च भएको हो ।