खजुरा (बाँके)/समाचारदाता
बाँकेको खजुरा गाउँपालिकाले विकासका लागि गुरुयोजना बनाउने तयारी अगाडि बढाएको छ । पालिकाले गुरुयोजनाका लागि भिलेज प्रोफाइल समेत निर्माण गर्ने जानकारी दिएको छ । ‘विकास सूचकका लागि पाश्र्वचित्र र गुरुयोजना बनाउन लागिएको हो’, खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले भने, ‘ चालू आर्थिक वर्षमै यी दुबै काम सम्पन्न गर्ने गरी तयारी अगाडि बढाइएको छ ।’
भिलेज प्रोफाइल र गुरुयोजनाका लागि गाउँपालिकाले सोमबार परामर्शदाता तथा विज्ञ समूह र गाउँपालिका टीम बीच बृहत छलफल समेत गरेको छ । परामर्शदाता डा. सुनिल आचार्य, डा. गोकर्ण ज्ञावली, शहरी विकास विद् दीपक श्रेष्ठ, अर्थविद् हुमलाल भण्डारीले भिलेज प्रोफाइल र गुरुयोजनाका लागि आधारपत्र प्रस्तुत गरेका थिए ।
वडामा गणक छनौट गरेर तालिम पश्चात एकैसाथ ८ वटा वडामै पाश्र्व चित्रको काम अगाडि बढाइने खजुरा गाउँपालिका योजना प्रमुख दिलबहादुर पौडेलले जानकारी दिए ।
सवारी साधनको बजेट शिक्षालयलाई
शित भण्डारीका लागि ५ करोड, थप ५ करोडका लागि पहल गर्ने गाउँपालिका बैठकको निर्णय
खजुरा गाउँपालिकाले जनप्रतिनिधिलाई सवारी साधन खरिदका लागि छुट्याएको रकम प्राविधिक शिक्षालयका लागि लगाउने निर्णय गरेको छ ।
खजुरा गाउँपालिका गाउँ कार्यपालिकाको सोमबार बसेको बैठकले वडाहरुमा सवारी साधन खरिदका लागि छुट्याएको ३० लाख रुपैयाँ प्राविधिक शिक्षालय निर्माणका लागि खर्च गर्ने निर्णय गरेको हो । गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिको अध्यक्षतामा बसेको बैठकले वडा नं. ५, ६, ७ र ८ लाई लक्षित गरी प्राविधिक शिक्षालय स्थापना गर्ने जसका लागि १० लाख बजेट छुट्याउने निर्णय समेत गरेको छ । सवारी साधनको बजेट थप गर्दा प्राविधिक शिक्षालयका लागि बजेट ४० लाख रुपैयाँ पुगेको छ ।
बैठकले प्राविधिक शिक्षालय वडा नं. ५ मा स्थापना गर्ने निर्णय गरेको हो । त्यस्तै शीत भण्डारका लागि प्रदेशले छुट्याएको ५ करोड र थप ५ करोडको लागि पहल गर्ने निर्णय पनि बैठकले गरेको गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिले जानकारी दिए । शित भण्डारी पनि वडा नं. ५ मै निर्माण गरिने खजुरा गाउँपालिकाले जानकारी दिएको छ ।
खजुरा गाउँपालिकाले छाडा पशु चौपाया नियन्त्रणका लागि पनि अग्रसरता देखाएको छ । ‘छाडा चौपाया नियन्त्रणका लागि कार्यविधि बनाएर पेश गर्ने निर्णय बैठकले गरेको छ’, गाउँपालिका अध्यक्ष कक्षपतिले भने ।
गाउँपालिकाको बैठकले तराई मधेश समृद्धि योजना तयार गर्ने निर्णय समेत गरेको अध्यक्ष कक्षपतिले जानकारी दिए । उनले प्रदेश तथा केन्द्रबाट संचालित कार्यक्रमका लागि योजना बनाउने समेत जानकारी दिएका छन् । सडकका लागि पनि खजुरागाउँपालिको कार्यक्रम बनाउने भएको छ । ‘सडक बोर्डबाट विनियोजित रकमको कार्यक्रम बनाउने निर्णय भएको छ’, अध्यक्ष कक्षपतिले भने । २ वटा नमूना मावि जनता र ज्ञनोदयको गुरुयोजना स्वीकृत लगायतका निर्णय पनि गरिएको अध्यक्ष कक्षपतिले जानकारी दिए ।