आफ्नै लगानीमा वृद्धवृद्धालाई तिर्थयात्रा

बर्दिया/भावुक योगी

बर्दिया ठाकुरबाबा नगरपालिकाको जेष्ठ नागरिक चौतारीका ३५ जना वृद्धवृद्धाहरुलाई एक समाजसेवी युवाले आफ्नै लगानीमा तिर्थयात्राका लागि शुक्रवार वेलुका पशुपतिनाथ दर्शका लागि काठमाडौँ लगेका छन् । ठाकुरबाबा नगरपालिका २ सतघरुवा हाल काठमाडौं बस्दै आएका युवा विनय रावलले नगरपालिका क्षेत्रका जेष्ठ नागरिक चौतारीका ३५ जना बृद्धबृद्धाहरुलाई तिर्थयात्राका लागि काठमाडौ लगेका हुन् । तिर्थयात्राका लागि हिँडेको वृद्धवृद्धाको टोली अहिले शनिबार काठमाडौं पुगिसकेको रावलले जानकारी दिए ।


जेष्ठ नागरिक चौतारी भुरीगाँउको आयोजना र रावलको सहयोगमा बृद्धबृद्धाहरुलाई काठमाडौंको पशुपतिनाथ मन्दिर दर्शन र अवलोकनका लागि लगिएको वडाध्यक्ष श्यामलाल थारुले जानकारी दिए । समाजमा केही गर्ने मनसाय भएर उदार सोंचाईका साथ गाउँमा आएर सामाजिक कार्यमा लागि परेका ४३ वर्षिय रावलले आफ्नै लगानीमा वृद्धवृद्धालाई पवित्र धार्मिक तिर्थस्थल पशुपतिनाथ दर्शन गराउन लगेर गएपछि यतिवेला उदाहरणीय व्यक्तिका रुपमा चर्चामा छन् ।
विदेशी लगानी भित्राएर ठुलठुला पूर्वाधारहरु समयमा विकास गर्ने क्षेत्रमा काम गर्ने रावल दोस्रो अन्र्तराष्ट्रिय विमास्थल निजगढको काममा लागेको र काठमाडौँमा मेट्रो रेल प्रोजेक्टमा कन्सल्टिङमा समेत सहभागी रहेको बताउँछन् । ‘आफ्नो दैनिक जीवनमा आफु निकै व्यस्त रहेको बताउँदै बर्दिया मेरो लागि नौलो ठाउँ पनि होइन, मेरो वुवा बाजेले निकै लामो समयसम्म बसोवास गरेको ठाउँ पनि हो,’ उनले भने ।


‘सतघरुवामा आफ्नो खेतियोग्य जमिन पनि छ । हजुरवुवाको आफ्नो जीवनमा गाउँ समाजमा सधैँ सहयोग गर्ने भावना थियो र वुवाले पनि विभिन्न पदमा हुँदा गाउँठाउँको लागि सहयोग गर्नुहुन्थ्यो, त्यहि सहयोगलाई निरन्तरता दिन र गाउँसमाजमा सानो सहयोग गरेर सामाजिक उत्तरदायित्व वहन गरौं भन्ने सोंचले केही परिवर्तन गर्न गाउँठाउँका आमावुवा दाजुभाई दिदिवहिनीलाई सहयोग गर्नुपर्छ भन्ने उद्देश्य राखेको छु’, रावलले भने ।
‘जसरी आफुले काठमाडौंमा बसेर आफ्नो गाउँठाउँ सम्झेर सहयोग गरिरहेको छु, त्यसरी नै काठमाडौमा बस्ने अरु ठुलठुला व्यक्तिहरुले पनि आफ्नो गाउँठाउँलाई सम्झेर गाउँसमाजका लागि केही सहयोग गर्नुपर्छ,’ रावलले आग्रह गरे । रावल पूर्व गभर्नर डा. तिलक रावलका जेठो छोरा हुन् ।


मानव जो जहाँ भएतापनि अन्त्यमा सबैको दायित्व मानव सेवा नै सही ज्ञान हो भन्ने भनाई राख्दै आफुले पहिलो चरणमा जेष्ठ नागरिक चौतारीका ३५ जना वृद्धवृद्धाहरुलाई आफ्नै लगानीमा तिर्थस्थल घुमाउन पशुपतिनाथ दर्शनका लागि काठमाडौँ लगेको रावलले बताए । आफुहरु तिर्थस्थल पशुपतिनाथ दर्शन गर्न जान पाएकोमा आफु सहित सबै वृद्धवृद्धाहरु पनि खुसि भएको चन्द्रबहादुर कठायतले बताए ।

 
चार दिनको तिर्थयात्राको कार्यक्रममा पशुपतिनाथ क्षेत्रका मठमन्दिरहरुको दर्शन गराउनुका साथै सन्ध्याकालिन आरतिमा सामेल गराइने र पशुपतिनाथका ४ वटै ढोका खोल्न लगाई प्रहरीको सुरक्षा घेरामा पशुपति मन्दिरका मुल भट्टद्वारा उनीहरुलाई पशुपतिनाथको खुल्ला दर्शन गराइने विनयका दाई सतिस रावलले जानकारी दिएका छन् ।
वृद्धवृद्धाहरुलाई तिर्थयात्रा जाँदै गर्दा एक औपचारिक कार्यक्रममा प्रमुख अथितिका रुपमा रहेका ठाकुरबाबा नगरपालिका १ का वडाअध्यक्ष श्यामलाल थारुले एकजना व्यक्तिले आफ्नै लगानीमा खानवस्न सुविधा सहित वस रिजर्भ गरि वृद्धवृद्धालाई तिर्थस्थल घुमाउन लगेकोमा प्रशंसा गरे ।

 
यसअघि रावलले भुरिगाउँ क्षेत्रका खोखो खेलका खेलाडीलाई झण्डै ६० हजार मुल्य बराबरका खेल सामाग्री र खाजा व्यवस्थापनका लागि ३० हजार नगद पनि प्रदान गरेको उद्योगा बाणिज्य संघ भुरिगाउँका महासचिव महेन्द्र पंंगेनीले जानकारी दिए ।

 
यस्तै रावलले आफ्नै गाउँ सतघरुवाका युवाहरुलाई पनि ३७ हजार मुल्य बराबरका खेलकुद सामाग्री र वृद्धवृद्धाहरुको जेष्ठ नागरिक चौतारी भुरिगाउँको भवन निर्माणका लागि नगद ३० हजार रुपैँया पनि सहयोग गरेका थिए । सामाजिक कार्यका लागि यसरी सहयोग गर्नु हुने रावलको चौतर्फी प्रशंसा हुन थालेको छ । मानिस एक उच्चतम सामाजिक प्राणी भएकाले व्यक्तिगत साथै सामाजिक कार्यमा पनि लाग्नु पर्दछ भन्ने शन्देस दिनुभएका समाजसेवी युवा रावलले जस्तै उदाहणीय कार्यमा तपाईँ हामीहरु पनि लाग्ने पो हो की ?

प्रतिक्रिया

प्रतिक्रिया