मनपरेको नेपालगन्ज

रेखा थापा,
अभिनेत्री, निर्माता, निर्देशक : चलचित्र मालिका

 

रेखा थापा हिरो कि हिरोइन?
यो त दर्शकले मुल्यांकन गर्ने कुरा हो । यद्यपी म नारीलाई केन्द्रीय पात्र बनाएर फिल्म बनाउन रुचाउँछु । छोरी पनि छोरा जत्तिकै सक्षम, सबल र प्रतिभाशाली हुन्छन् भन्ने पुष्टि गर्न चाहन्छु । म स्वयं पनि त्यस्ता फिल्ममा मात्र काम गर्न मन पराउँछु ।

अहिले ‘मालिका’ चर्चाको शिखरमा छ, कत्तिको सन्तुष्ट हुनुहुन्छ?
मालिकाले निर्माण चरणमै अनपेक्षित चर्चा पाउन सफल भयो । यो दर्शकहरुको माया हो । छोरी प्रति गर्व गर्नेहरुले मालिका प्रति अपार माया दर्शाइरहनुभएको छ । कतिपय पायक पर्ने हलमा गएर फिल्म हेरिरहनुभएको छ । कतिपयले गाउँ बस्ती, दुरदराजमा यसको च्यारिटी शो गराएर पनि हेर्ने माहोल मिलाउनुपर्यो भनेर भनिरहनुभएको छ । बढीजसो हिमाल, पहाड र गाउँबस्तीबाट यसको माग बढिरहेको छ । जहाँ सुविधासम्पन्न सिनेमाहल छैनन्, त्यहाँ यसको माग बढ्दो छ । हामी सबै दर्शकहरुसम्म पुग्ने प्रयास गरिरहेका छौं । संयुक्त राष्ट्रसंघले पनि यस फिल्मको खुलेर प्रशंसा गरेको छ । यो सबका कारण म सन्तुष्ट छु । यो मेरो जीवनकै राम्रो सिर्जनामध्ये एक हो ।

 

 

तपाईं अभिनय र निर्मात्री मात्र नभई यसको निर्देशक पनि । ‘मालिका’को ककपिट सम्हाल्न कत्तिको सहज महसुस गर्नुभएको छ?
यो टिमवर्क हो । सबैजना मिलनसार हुनुहुन्छ । काममा गम्भीर हुनुहुन्छ । सबैजना कर्तव्यनिष्ट र जिम्मेवारबोध भएको हुँदा मलाई मालिका उडानमा कठिनाइ अनुभुति भएको छैन । सुरक्षित अवतरण गराउनेमा दृढ छु ।

 

‘मालिका’ प्रदर्शनका क्रमममा नेपालगन्ज पुग्ने योजना बनाउनुभएको छ?
धेरै शुभेच्छुकहरुले बोलाउनुभएको छ । नेपालगन्जबाट पनि राम्रो फिडब्याक पाएकी छु । समय मिलाएर पुग्ने सोंच बनाएकी छु ।

नेपालगन्ज कतिपटक जानुभएको छ?
दर्जनौंपटक पुगेकी छु । पश्चिम नेपालका बिभिन्न जिल्ला जानेक्रममा हरेक पटक नेपालगन्जमा नै बास बस्ने गरेकी छु । मलाई माया गर्ने मेरा धेरै शुभेच्छुकहरु हुनुहुन्छ । उहाँहरुको मायाले मलाई नेपालगन्जले तानिरहन्छ । जहिल्यै पनि जाउँ जाउँ लाग्ने शहर पो हो त नेपालगन्ज ।

नेपालगन्जका बारेमा थप केही जानकार हुनुहुन्छ?
यो जातीय, धार्मिक र साम्प्रदायिक सदभावको शहर हो । समग्र नेपाल भेटिने शहर हो । बिभिन्न जातजातिका मानिसहरु मिलेर बसेको नमुना शहर हो । त्यसैले पनि मलाई खुब मन पर्छ नेपालगन्ज ।

प्रतिक्रिया

प्रतिक्रिया