लेखक*राजनीतिक विश्लेषक नरेन्द्र जंग पिटरले आफ्नो शरीर मेडिकल स्टुडेन्टहरुका लागि मरणोपरान्त दान गरेका छन् ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका विद्यार्थीहरुलाई स्वास्थ्य विज्ञान अध्ययनका लागि ६२ बर्षीय पिटरले मरणोपरान्त शरीर दान गरेका हुन् । झण्डै ४ बर्षदेखि विद्यार्थीहरुको अध्ययनका लागि शरीर दान इच्छाएका पिटरले पारिवारिक असहमतिका कारण ढिलो गरी सम्झौता गर्नुपरेको बताए । ‘जीवनसाथी मेनु दुलाल र ज्येष्ठ सुपुत्र विशाल दुलाल साक्षी बस्न सहमत भएपछि मेरो इच्छाले मूर्त रुप पायो’, आफ्ना १० वटा अंग प्रत्यारोपण समेत गर्न मिल्ने गरी लर्ड बुद्ध एजुकेशनल एकेडेमी, नेपालगन्ज मेडिकल कलेजसँग लिखित सम्झौता गरिएको जानकारी दिंदै पिटरले दैनिक नेपालगन्जसँग भने । उनका अनुसार, अंग दान गर्न सुविधा सम्पन्न अस्पताल र अंग बैंक आवश्यक पर्ने भएकाले त्यो सम्भव नभए मेडिकल स्टुडेन्टहरुले अध्ययन अवधीभर शरीरको उपयोग गर्नेछन् ।
‘हिन्दुहरु मानव शरीरलाई खरानी बनाउँछन्’, शरीर दानको इच्छाबारे पिटरले प्रतिक्रिया दिंदै भने, ‘क्रिश्चियन, बौद्धिष्ट, इस्लाम लगायतहरु माटो बनाउँछन्, म शरीरलाई अध्ययनरत् विद्यार्थीहरुलाई उपयोगी बनाउन चाहें ।’ मेडिकल स्टुडेन्टहरु अध्ययनका लागि मरणोपरान्त शरीर नपाउँदा अध्ययनका लागि अप्ठयारोमा पर्दै आएका छन् ।
आइतबार मेडिकल कलेजका तर्फबाट वरिष्ठ अधिवक्ता विजय कुमार गुप्ताको उपस्थितिमा प्रशासकीय अधिकृत शरद पोखरेल र श्रीमति मेनु दुलाल र छोरा विशालको उपस्थितिमा पिटरले सम्झौता गरेका हुन् ।