नेपालगन्ज/समाचारदाता
संसदीय एउटा समितिले बिहीबार राष्ट्रिय गौरवको सिक्टा सिंचाई आयोजनाको अनुगमन तथा निरीक्षण गरेको छ । प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको टोलीले बाँकेस्थित सिक्टा सिँचाइ आयोजनाको स्थलगत अनुगमन तथा निरीक्षण गरेको हो ।
परीक्षणका क्रममा ठाउँठाउँमा नहर भत्किएपछि गुणस्तरमा प्रश्न उठाइएपछि समितिका सभापति पूर्णाकुमारी सुवेदी नेतृत्वको टोलीले आयोजनाको स्थलगत निरीक्षण गरेको हो । टोलीले मूलबाँध तथा मूलनहरको अनुगमन गरेको थियो । त्यसक्रममा टोलीले नगरबारे स्थानीयबासीसँग अन्तरक्रिया समेत गरेको थियो । ‘अनुगमनका क्रममा धेरै कमीकमजोरीहरु फेला परेका छन्’, सभापति सुवेदीले दैनिक नेपालगन्जसँग भनिन्, ‘सरकारमार्फत तत् निकायलाई कमी कमजोरी छानविन गर्ने, सुधार गर्ने र सजाय गर्ने सबै किसिमका कारवाहीका लागि निर्देशित गरिनेछ ।’
सिक्टा सिँचाइ आयोजनाको पछि सुर्खेतमा निर्माणाधीन भेरी–बबई डाइभर्सनको निर्माण कार्यको अनुगमन गरिएको सभापति सुवेदीले जानकारी दिइन् । टोलीमा सांसद सत्यनारायण शर्मा खनाल, राजबहादुर बुढा क्षेत्री, शान्तिमाया तामाङ पाख्रीन र शान्ता चौधरी छन् । सिक्टा आयोजनाको अनुगमनमा टोलीसँगै बाँकेका सांसद महेश्वर गहतराज, पूर्वसांसद देवराज भार, प्रदेशसभा सदस्य आईपी खरेल र कृष्णा केसीलगायत सहभागी छन् ।