कानुनविद् समेत रहेका वरिष्ठ पत्रकार स्वागत नेपालको मेची, महाकाली यात्रा आज बुधबार नेपालगन्ज आइपुग्दैछ ।
स्वतन्त्र राष्ट्रिय अभियान नेपालका नाममा भ्रष्टाचारी र तस्करहरुको स्रोत नखुलेको सम्पूर्ण सम्पत्ति राष्ट्रियकरण गर्न दबाब र जनचेतनाका लागि पत्रकार नेपालले सुरु गरेको यात्रा आज नेपालगन्ज आइपुग्ने भएको हो । सोमबार राजधानी काठमाडौंबाट यात्रा सुरु गरेका पत्रकार नेपालले बुधबार नवलपरासी र रुपन्देही आफ्नो कार्यक्रम सकी पश्चिम तर्फ लागेको जानकारी दिए ।
‘मध्यबिन्दुमा कार्यक्रम घोषणा सहित माटोको टिका लगाइसकेपछि नवलपरासीका प्रजिअमार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र पठाइएको छ’, पत्रकार नेपालले दैनिक नेपालगन्जसँग टेलिफोन सम्पर्कमा भने, ‘एक महिनाभित्र हाम्रा माग पुरा नगरे अन्य आन्दोलनका कार्यक्रम सुरु गर्ने जानकारी प्रधानमन्त्री कार्यालयमा पठाइएको छ ।’
जागरण यात्रामा निस्किएका पत्रकार नेपालसँगै बलात्कारबाट जोगिन बालिकाहरुलाई आत्मरक्षा शिल्प पनि सिकाउँदै स्वतन्त्र राष्ट्रिय खेलकुद महासंघका अध्यक्ष सेफड लिम्बु पनि यात्रामा छन् । ‘हामी छोरीहरुलाई बलात्कारीलाई ठाउँका ठाउँमा थला पार्ने कला पनि सिकाउँदैछौं’, यात्रामा मिक्स मार्सल आर्टका प्रमुख प्रशिक्षक लिम्बु साथ रहेको जानकारी दिंदै नेपालले भने, ‘सीप सिक्न चाहने छोरीहरुले सम्पर्क गर्न सक्नुहुनेछ ।’
पत्रकार नेपालका अनुसार आज बुधबार दिउँसो १ बजे धम्बोझी बलात्कार विरुद्धको आत्मरक्षा कला प्रस्तुति, अभियानबारे पत्रकार सम्मेलन र त्यसपछि प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउने कार्यक्रम सकेर टोली बर्दिया प्रस्थान गर्नेछ । ‘त्यसबीच पत्रकारसँग अन्तरक्रिया र विद्यार्थीहरुसँग भेटघाट गर्ने योजना पनि बनाएका छौं’, नेपालले भने ।