बाढी पीडितलाई पक्की घर

राप्ती सोनारीका १ सय ४ बाढी पीडितका घर पक्की बन्ने भएका हुन्
बाँकेको राप्तीसोनारी–६ का बाढी पीडितहरुलाई स्थानीय सरकारले पक्की घर बनाइदिने भएको छ । गत बर्षको बाढीले क्षतिग्रस्त १ सय ४ घरलाई स्थानीय सरकारले विभिन्न गैर सरकारी संस्थासँगको सहकार्यमा पक्की घर बनाइदिन लागेको हो ।

 
‘४० घर पूर्ण रुपमा निर्माण गरिदिने काम अगाडि बढेको छ’, राप्तीसोनारी–६ का वडाध्यक्ष जनक बहादुर थारुले दैनिक नेपालगन्जसँग भने, ‘आंशिक क्षति भएका ६४ घरलाई १ लाख रुपैयाँसम्मको निर्माण सामाग्री अनुदान उपलब्ध गराइने छ ।’ वडाध्यक्ष थारुका अनुसार, यसका लागि दुई करोड ३२ लाख रुपैयाँ बजेट छुट्याइएको छ ।

 
बाढी पीडितहरुका लागि हेबीटाट फर ह्युमानिटिको सहयोगमा महिला उपकार मञ्चले वडा नं. ६ सँगको सहकार्यमा पक्की घर निर्माण कार्य सुरु गरेको हो । ‘दशैंसम्म पीडितलाई पक्की घर दिने योजना हो’, अध्यक्ष थारुले बाढी पीडितहरुलाई पुरानै ठाउँमा पक्की घर निर्माण कार्य गर्न वडा कार्यालयले आवश्यक समन्वय गरिरहेको जानकारी दिए ।

 
बर्षेनी बाढीका कारण जोखिममा पर्ने स्थानीय बस्तीमा पक्की घर भएपछि डुबानले घरमा क्षति पुग्ने क्रम रोकिने स्थानीयको विश्वास छ । ‘सामान्य डुबानले पनि घर भत्किएर सुकुम्बासी हुने स्थिति कम्तीमा अबका दिनमा आउने छैन’, वडाध्यक्ष थारुले भने । उनका अनुसार, प्राविधिक रुपमा विशेष ध्यान दिएर भुकम्प प्रतिरोधी घर बनाउन लागिएको छ ।

 
स्थानीय वडा सरकारले त्यसका लागि आवश्यक सहयोग समन्वय गरिरहेको वडाध्यक्ष थारुको भनाइ छ । राप्ती तटीय उक्त बस्तीमा बर्षेनी राप्ती नदीको कटान र डुबानले निकै ठूलो क्षति ब्यहोर्दै आउनु परेको स्थानीयबासीहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया