सहरी विकास मन्त्री मोइस्तियाक राईले सार्वजनिक जग्गामा बनेको एउटा निजी अस्पताल उद्घाटन गरेका छन् । शनिबार अस्पताल उद्घाटनका लागि काठमाडौंबाट आएका मन्त्री राईले डुडुवा–६ कम्दीमा सार्वजनिक जग्गा कब्जा गरेर बनाइएको इकरा पोलिक्लिक एण्ड डाइग्नोसिस सेन्टर प्रा.लि.को उद्घाटन गरेका हुन् ।
मन्त्री राईले गुणस्तरीय स्वास्थ्य सेवा ग्रामीण क्षेत्रमा पुर्याउनु निजी क्षेत्रसँग समन्वय तथा सहकार्य गर्दै आएको बताए । ‘सरकारले एक्लै ग्रामीण क्षेत्रमा पर्याप्त स्वास्थ्य सेवा पुर्याउन सक्दैन त्यसैले गाउँपालिकाका जनतालाई विशेषज्ञ सेवा दिने गरी निजी क्षेत्रबाट अस्पताल सञ्चालन गर्नु स्वागत योग्य कुरा हो मन्त्री राईले उद्घाटन मन्तव्य व्यक्त गर्दै भने ।
नेपालगन्ज बजारदेखि झण्डै ९ किलोमिटर पूर्व कम्दीको मिलनचोक नजिक सञ्चालनमा ल्याइएको इकरा पोलिक्लिक एण्ड डाइग्नोसिस सेन्टर प्रालि सार्वजनिक जग्गामा बनाइएको हो । प्रालिका प्रबन्ध निर्देशक मुस्लिम खाँले ग्रामीण जनतालाई सेवा दिने उद्देश्यले अस्पताल स्थापना गरिएकाले जग्गा विवादको विषयको नरहेको’ बताए । ‘बस्ती नै सार्वजनिक जग्गामा बसेकाले अस्पताल सञ्चालन गर्ने कुरामा सबैको साथ हुन्छ भन्ने उद्देश्यले उक्त क्षेत्र छनोट गरियो प्रबन्ध निर्देशक खाँले दैनिक नेपालगन्जसँग भने, २४ घण्टा उपचार सेवा दिने उद्देश्यले विशेषज्ञ स्वास्थ्य दिइने भएकाले जग्गा विवाद भन्दा सेवा ठूलो कुराका रुपमा लिइनु पर्छ ।’
गाउँपालिका प्रमुख नरेन्द्र चौधरीले भने सार्वजनिक जग्गामा निजी अस्पताल बनाउनै नमिल्ने बताएका छन् । एउटा निजी कम्पनीले सार्वजनिक जग्गामा कसरी अस्पताल सञ्चालन गर्न मिल्छ ? गाउँपालिका प्रमुख चौधरीले दैनिक नेपालगन्जसँग भने, सबै कुरा बुझेर अगाडि बढ्छु ।’ वडाध्यक्ष परशुराम बुढाथोकीले सरकारी सार्वजनिक जग्गामा अस्पताल सञ्चालनमा ल्याइएको जानकारी दिए । ‘म काम विशेषले प्युठान छु दैनिक नेपालगन्जसँग कुरा गर्दै वडाध्यक्ष बुढाथोकीले भने,फर्किएपछि त्यसबारेमा नजिकबाट अध्ययन गर्नेछु ।’
अस्पताल सञ्चालनको विषय भएकाले आफुले त्यसबारे धेरै चासो लिनेभन्दा सकारात्मक रुपमा सोंचेको धारणा वडाध्यक्ष बुढाथोकीको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले सरकारी सार्वजनिक जग्गामा निजी कम्पनीले उपयोग गर्ने कुरा गैर कानुनी भएकाले त्यसबारे प्रश्न उठाउनै नपर्ने बताए । यो त प्रश्न नै गर्नु पर्दैन कि सरकारी जग्गामा निजी नाफामूखी व्यवसाय सञ्चालन गर्न पाइन्छ,प्रजिअ भुजेलले दैनिक नेपालगन्जसँग भने, ‘तर, कम्दीमा सार्वजनिक जग्गामा अस्पताल स्थापना भएको कुरा के रहेछ बुझेर मात्रै धेरै कुरा बोल्न सकिन्छ ।’
सार्वजनिक जग्गा कब्जा गरेर बनाइएको निजी अस्पताल उद्घाटन गर्न गएका मन्त्री राईले भने आफुलाई त्यसबारे जानकारी नभएको बताए । ‘अनुमति लिएर खोलिएको अस्पताल उद्घाटनका लागि बोलाइएपछि पुगेको हुँ’, मन्त्री राईले दैनिक नेपालगन्जसँग भने, ‘जग्गाको विषय मलाई जानकारी हुने कुरा होइन ।’ उनले ग्रामीण क्षेत्रमा निजी लगानीमा अस्पताल बन्नु नै महत्वपूर्ण कुरा भएकाले सदासयता राखेको बताए ।
अस्पतालका प्रबन्ध निर्देशक खाँले डुडुवा, राप्तीसोनारी र नरैनापुरलाई लक्षित गरी मिलनचोकमा अस्पताल सञ्चालनमा ल्याइएको जानकारी दिए । हाडनसा जोर्नी बालरोग पेट छाती तथा सरुवा रोगहरुको विशेषज्ञता सेवा प्रदान गर्ने इकरा पोलिक्लिक एण्ड डाइग्नोसिस सेन्टरले आधुनिक ल्याब एक्सरे फार्मेसी लगायतका सेवा सञ्चालनका लागि लगानी गरेको हो ।
स्थानीयबासीहरुले निजी लगानीमा नाफामूलक उद्देश्यले खोलिएको कम्पनीले सरकारी जग्गा कब्जा गरेर मन्त्री लगायतका सरकारी शक्तिको दुरुपयोग गरेको भन्दै आलोचना गरेका छन् । ‘सार्वजनिक जग्गा कब्जा गरेर सेवा दिन्छु भन्नु र त्यसमाथि सरकारका शक्तिशाली मन्त्री नै उपस्थिति हुनुले राज्य स्रोतको दुरुपयोग गर्न खोजिएको प्रष्ट छ’स्थानीयबासीले दैनिक नेपालगन्जसँग टेलिफोन सम्पर्कमा भने, ‘सेवा मूलक व्यवसाय हो भने पनि राज्यको नियम कानुन मिचेर गर्न कति उचित हुन्छ ?’