नेपालगन्ज उपमहानगरपालिकाले धम्बोझी चोकमा ‘फ्लाइओभर ब्रिज’ बनाउने निर्णय गरेको छ । सोमबार बसेको उपमहानगरपालिका नगर कार्यपालिका बोर्ड बैठकले धम्बोझी चोकमा फ्लाइओभर ब्रिज बनाउने निर्णय गर्दै त्यसका लागि डिपिआर बनाउने भएको हो ।
‘तत्काल कन्सल्टेन्ट नियुक्तिका लागि आव्हान गर्दैछौं’, बैठकको अध्यक्षता गरिरहेका नगरप्रमुख डा. धवल समशेर राणाले निर्णयपछि दैनिक नेपालगन्जसँग भने, ‘नेपालगन्जलाई महानगर बनाउने दिशातर्फ अगाडि बढ्न आवश्यक सबै संरचना र सम्भाव्यतातर्फ हामी केन्द्रित भैरहेका छौं ।’ उपमहानगरपालिकाले फ्लाइओबर ब्रिजका लागि तत्काल १ करोड बजेट छुट्याइसकेको छ ।
नगर कार्यपालिका बोर्डको सोमबारको बैठकले नेपालगन्ज–१४ भवानीयापुरमा करोडौं लागतको बहुउद्देश्यीय नगर भवन निर्माणको निर्णय पनि गरेको छ । ‘त्यसका लागि केन्द्र सरकारले २८ करोड बजेट उपलब्ध गराउने सुनिश्चित भैसकेको छ’, चार विगाह क्षेत्रफलमा बहुउद्देश्यीय प्रकृतिको अत्याधुनिक नगर भवन बनाइन लागेको जानकारी दिंदै डा. राणाले भने । सोही बजेट लगायतका कामहरुका लागि डा. राणा सोमबार नै काठमाडौं पुगेका छन् ।
त्रिभुवन चोक नजिकको हालको नगर भवनलाई पनि आधुनिकिकरण गरिने भएको छ । ‘हालका सबै संरचना भत्काएर अत्याधुनिक सुविधाको सानो नगर भवन बन्छ’, नगर प्रमुख डा. राणाले खासगरी आम नागरिकका लागि उपयोग गर्न मिल्ने पार्टी प्यालेस समेत उपयोग गर्न मिल्ने गरी नगर भवन आधुनिकिकरण गर्न लागिएको जानकारी दिंदै भने । त्यसका लागि पनि बजेट छुट्याइसकिएको छ ।
नगर भवनमा रहेको बारुणयन्त्र कक्ष अब त्यहाँ रहनेछैन । ‘वारुणयन्त्र भवन पनि नगरको अन्यत्र ठाउँमा छुट्टै निर्माण गरिंदैछ’, सुविधा सहितको वारुणयन्त्र भवन बनाउन लागिएको जानकारी दिंदै नगर प्रमुख डा. राणाले भने, ‘अब तरकारी र फलफुल बजार पनि छुट्टै व्यवस्थित गर्ने योजना बनिसकेको छ ।’
उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालका अनुसार, सोमबारको बैठकले दीर्घकालीन प्रभावका महत्वपूर्ण निर्णयहरु गरेको छ । ‘नेपालगन्जको विकासमा दीर्घकालीन प्रभाव पार्ने खालका निर्णयहरु बैठकले गरेको छ’, सोमबार नै प्रवक्ता नियुक्त भएका रिजालले दैनिक नेपालगन्जसँग भने । नगर प्रमुख डा. राणा काठमाडांै प्रस्थान गर्नुअघि नेपालगन्ज–१ का वडाध्यक्ष समेत रहेका प्रवक्ता रिजाललाई कार्यवाहक नगर प्रमुख जिम्मेवारी पनि प्रदान गरेका छन् ।
प्रवक्ता रिजालका अनुसार, राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन जग्गा बिस्तार गरिने भएको छ । त्यस्तै, नगरमा रहेका केही सरकारी भवन उपमहानगरपालिकाले लिने योजना पनि बनाएको छ । त्यसका लागि नेपालगन्ज–१० का वडाध्यक्ष बिन्दु भुषण बस्नेतको नेतृत्वमा कार्यदल बनाइएको छ । कार्यदलमा वरिष्ठ आलेप अधिकृत खिमानन्द अर्याल, वडा अध्यक्ष दिपक वर्मा, कृष्ण कार्की र वडा सदस्य कौशल धोवी सदस्य छन् ।