नेपालगन्ज उपमहानगरपालिकाले पार्किङ्ग शुल्क नलिने निर्णय गरेको छ । सुर्खेतरोडमा पार्किङ्गका लागि क्षेत्रफल छुट्याएर ठेक्का आव्हान गरेको उपमहानगरपालिकाले शुल्क नलिने निर्णय गरेको हो ।
पार्किङ्ग शुल्क लिने योजना सहित टेण्डर आव्हान भएपनि उपमहानगरपालिकाको सोमबार बसेको नगरकार्यपालिका बैठकले हाललाई शुल्क नलिने निर्णय गरेको नगर प्रमुख डा. धवल समशेर राणाले जानकारी दिए । ‘आम जनताको भावनालाई सम्बोधन गरेर तत्कालका लागि शुल्क नलिने निर्णयमा पुगेका हौं’, डा. राणाले दैनिक नेपालगन्जसँग भने, ‘तर, ट्राफिक व्यवस्थापनका लागि तोकिएका ५० वटै ठाउँमा पार्किङ्ग स्थल बढाउने कार्य अगाडि बढ्दैछ ।’ उनले टेण्डर रद्द गरिएको जानकारी दिंदै ट्राफिक व्यवस्थापनका लागि प्रहरीलाई ती ठाउँको जिम्मा दिइने बताएका छन् ।
‘उपमहानगरपालिकाले हाम्रा कुरा सुनेर राम्रो गरेको छ’, दुई दिनअघि पार्किङ्ग शुल्क नलिन अनुरोध गर्दै डेलिगेशन गएका नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले दैनिक नेपालगन्जसँग भने, ‘नगरलाई व्यवस्थित गर्ने कुरामा हाम्रो सधै साथ रहनेछ ।’ संघले तत्काललाई पार्किङ्ग शुल्क नलिन आव्हान गर्दै उपमहानगरपालिकाको ध्यानाकर्षण गराएको थियो ।
वैठकले नागरिकता सिफारिस, स्वास्थ्य उपचार सिफारिस निशुल्क गर्ने निर्णय गरेको छ । यस अघि नागरिकता सिफारिसका लागि एक सय रुपैयाँ लिने गरिएको थियो । वैदेशिक बाहेक अन्य छात्रवृत्ति सिफारिस पनि निशुल्क गरिएको सूचना अधिकृत शरद पौडेलले जानकारी दिएका छन् ।