आश्रय स्थलका लागि स्रोत खोज्दै निल सागर

झण्डै ५ करोडको ‘कैलाश भवन’ बनाउन सरकारसँग सहयोगको अपेक्षा गर्दै ज्ञापनपत्र बुझाइएको छ

सडकमा बेसहारा अवस्थामा भेटिएका असहाय तथा ज्येष्ठ नागरिकहरुलाई आश्रय दिंदै आएको निल सागर वृद्धाश्रमले निजी क्षेत्रको सहकार्यमा मात्रै सेवा सम्भव नभएको भन्दै सरकारसँग गुहार लगाएको छ । संस्थाका अध्यक्ष सरिता खनाल, उपाध्यक्ष अमन सुवेदी, इन्दिरा खड्का, शान्ति पुलामी मगर, सुर्य थापा लगायतको टोली काठमाडौं पुगेर सरकारसँग सहयोगको याचना गरेको हो । ‘महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयदेखि प्रधानमन्त्री सचिवालयसम्म सहयोगका लागि आग्रह गर्दै भेटघाट गरेका छौं’, सुवेदीले सबैतिरबाट सकारात्मक प्रतिक्रिया आएको जानकारी दिंदै भने, ‘यसबाट हामी उत्साहित छौं ।’

 

 
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले सहयोगका लागि प्रतिबद्धता जनाएकी छन् । ‘सहरी विकास मन्त्री इस्तियाक राईबाट हामीले धेरै अपेक्षा गरेका छौं’, सुवेदीले मन्त्रीसँगको भेटघाटपछि सहयोगको प्रतिबद्धता पाइएको जानकारी दिंदै भने, ‘उहाँले त ज्येष्ठ नागरिक विरामी हुँदा आवागमनका लागि अटो रिक्सा सहयोग गर्ने प्रदान गर्ने वचन दिनुभएको छ ।’ आर्थिक अभावले विभिन्न ठाउँमा डेरा सर्दै हिडेको निलसागर वृद्धाश्रमका लागि दाताले जग्गा प्रदान गरेपछि भवन निर्माणका लागि सञ्चालक समिति अग्रसर भएको हो । त्यसका लागि झण्डै ५ करोड लागतको ३० कोठे ‘कैलाश भवन’ प्रस्ताव गरेको निल सागरले सरकारी सहयोग अपेक्षा गरेको छ । ‘एक करोडसम्म आउने स्रोत सुनिश्चित भयो भने हामी निजी क्षेत्रसँगै साझेदारी गरेर काम सुरु गर्छौ’, निल सागरका अभिभावक सदस्यका रुपमा सक्रिय विजयकुमार गुप्ताले दैनिक नेपालगन्जसँग भने, ‘सानो लगानीमा काम सुरु गर्दा दीर्घकालीन आवश्यकताको भौतिक संरचना बन्न सक्दैन ।’ गुप्ता निरन्तर वृद्धाश्रमका लागि स्रोत संकलनमा सक्रिय छन् ।

 

 
निल सागर वृद्धाश्रम सञ्चालनमा नेतृत्व गरिरहेकी अध्यक्ष सरिता खनालले प्रदेश सरकारसँग पनि त्यसबारे निरन्तर सहयोगको याचना गरिरहेकी छन् । ‘नेपालगन्जलाई मगन्तारहित सहर बनाउने हाम्रो उद्देश्य भएकाले पनि स्थानीय तहदेखि केन्द्र सरकारसम्मले सहयोग गर्नुपर्छ भन्ने मान्यता हो’, अध्यक्ष खनालले भनिन् । यसअघि राष्ट्रिय मानवअधिकार आयोग, प्रदेश सरकारका सामाजिक विकास मन्त्री लगायतले वृद्धाश्रमको स्थलगत अनुगमन गरी खनाल नेतृत्वको प्रयासको सराहना गरेका थिए ।

 

 
बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म आश्रित निल सागरले पुनःस्थापनामा जोड दिंदै आएको अध्यक्ष खनालले बताइन् । ‘वृद्धाश्रम सकभर नभएकै राम्रो’, उनले भनिन्, ‘तर सडकमा अलपत्र पारिएका बालबालिकादेखि वेवारिसे छाडिएका ज्येष्ठ नागरिकसम्मलाई संरक्षणका लागि राज्य आफै अग्रसर हुनुपर्ने हो ।’ अध्यक्ष खनालले यसबीच कैंयनलाई घरमै पुनस्र्थापन गरिएको जानकारी दिइन् ।

 

 
निल सागरले परोपकारी सर्वसाधारण, उद्योगी, व्यवसायी, विभिन्न सामाजिक अभियन्ताहरुको जन्मदिन, वैवाहिक उत्सव लगायतको अवसर पारेर आउने सहयोगबाट स्रोत व्यवस्थापन आश्रम सञ्चालन गरिरहेको छ । ‘आश्रमको भाडा धान्न सबैभन्दा ठूलो समस्या छ’, अध्यक्ष खनालले भनिन्, ‘औषधीमूलोका लागि समेत निःशुल्क सहयोग हुँदै आएको छ ।’

प्रतिक्रिया

प्रतिक्रिया