नेपालगन्जले अर्थात् नेपालगन्जका अभियन्ताहरु, अगुवाहरुले नेपालगन्जको साहित्य, संस्कृति, कला, शिक्षा, स्वास्थ्य क्षेत्रमा कुनै अभिरुचि लिएनन् । तसर्थ नेपालगन्ज यस क्षेत्रमा टाक्सिएको देखिन्छ । यहाँ साहित्य, संस्कृति र कलाका क्षेत्रमा जे जति भए ती सबै व्यक्तिगत अभिरुचिका आधारमा भएको देखिन्छ । हुनत ती व्यक्तिगत प्रयासहरुलाई संस्थागत स्वरुप दिन प्रयत्न नगरिएको होइन । तर ती प्रयत्नहरु यहाँको अगुवाहरुका उदासिनतामा डुबेर त्यसै हराएर गए । नेपालगन्जका पुराना पुस्ताका मानिसहरु व्यापार गरेर धन कमाउने, जायजेथा जोड्ने र त्यस कार्यमा आफुहरुले गरेका अपराध बोधबाट मुक्ति पाउन मन्दिर बनाउन र संरक्षण गर्न जग्गादान गर्ने बाहेक कुनै काम गरेनन् । हो, एकजना पढेलेखेका बौद्धिक व्यक्तिले मन्दिरको सट्टा शिक्षा प्रसार योजना र धेरैपछि गएर उनकै प्रेरणाले फत्तेबाल आँखा अस्पताल बाहेक अन्य क्षेत्रमा यहाँका अगुवाहरुले लगानी देखिंदैन । साहित्य र संस्कृति र कलाको क्षेत्रमा कसैले अभिरुचि देखाएको देखिएन ।
शिक्षा र संस्कृतिको विषयमा त लेखिसकेको छु । नेपालगन्जमा कलाको विषयमा केही लेख्दैछु । नेपालगन्जका कला चेतनामा पनि शुन्य नै देखिएको छ । नेपाली संस्कृतिको कलात्मक झ्यालका कुरा छोडौं । यस भूमिको माटो र संस्कृति सुहाउँदो लोक कलामा नै पनि कसैले ध्यान पुर्याएको देखिएन । नेपालगन्जको निर्माण गरिंदा नेपाली शैलीको झिगटीको छाना भएको वास्तुकलाले यो नेपालगन्ज नेपालको एउटा सहर हो भनेर देखाउँथ्यो । त्यस बाहेक घरका झ्याल ढोका र त्यसको तल लेखिने गोबर माटोको अवधी लोक कला पनि यस बजारमा देखिएन । यहाँका मठ मन्दिरहरुमा अवधी संस्कृति झल्काउने कुनै विम्ब देखिंदैन । तिहार र दशैंमा घर अगाडि बनाउने रोचना र रंगोलीहरु पनि लोककलाको संरक्षण नभएर हराउँदै गए । आधुनिक कला कुन चराको नाम हो त्यसलाई जान्न पनि नेपालगन्जले २०४० साललाई पर्खनु पर्यो । राणाकालका दरबारहरुमा ब्रिटिश वास्तुकलाको प्रभाव पारे झै यहाँका राणा दरबारहरुमा मुगल वास्तुकलाको प्रभाव देखिन्थ्यो त्यो पनि क्रमशः हराइसकेको छ । लोक कला र वास्तुकला नै संरक्षित हुन नसक्ने ठाउँमा कलाको विकास कसरी हुन सक्थ्यो र ? मलाई थाहा छैन । यहाँका सामन्तहरु कति कला प्रेमी थिए । मैले उनीहरुको दरबारमा काठमाडौंका कलाकारहरुले बनाएका उनीहरुको मुहार चित्र बाहेक अरु कलात्मक र आधुनिक चित्रहरु देखेको थिइन ।
कलाको नाममा सिनेमाका हिरो हिरोइनका चित्रको प्रतिलिपि बाहेक अलिअलि काल्पनिक दृश्य चित्रहरु मात्रै देखिन्थ्यो ।
पुरानो भन्सार अहिलेको नगर भवन नजिकै बाँके आर्ट भनेर एउटा पसल थियो । त्यसका प्रोपराइटर बाँकेलालले सिनेमाका पोष्टर र साधारण दृश्य चित्रहरु बनाउँथे । उनको पसलमा धार्मिक चित्रहरुमा शीशाको फ्रेम लगाउने बिक्री गरिने गरिन्थ्यो । नेपालगन्जका अर्का कलाकार आशाराम मौर्य उनीबाट मुहार चित्र बनाउने कला सिक्दै थिए । पुरानो पुस्ताका मैले थाहा पाएका कलाकार यिनीहरु नै थिए । आधुनिक कला विम्ब, प्रतिक, रंगको अर्थ आदीको ज्ञान थिएन उनीहरुलाई पनि । सिनेमाका पोष्टर बनाउन पोख्त भएकाले हुने खाने शौकिनहरु आफ्नो आमा, बुबाको मुहार चित्र फोटोबाट प्रतिलिपि गरी बनाउँथे उनीहरु । आशाराम मौर्य नेपालगन्जका ठूला कलाकार मानिन्छन् तर पनि आधुनिक चित्रमा उनको ज्ञान अपूर्ण नै छ ।
आशाराम, बाँकेलालपछि नारायण हाईस्कुलमा कला शिक्षकको रुपमा भर्ना भएका विक्रम प्रसाद शर्माले धेरैलाई चित्र बनाउन सिकाए । तर उनले आफ्नो किर्तिमान राख्न सक्ने कुनै चित्र बनाउन सकेनन् । विष्णुलाल कुम्हाल, आनन्द कर्माचार्य, विष्णु प्रसाद श्रेष्ठ, डम्बर बहादुर, (डम्बर कलार्थी) आदी नयाँ पुस्ताका कलाकार उदाए नयाँ पुस्तामा । तर, आधुनिक कलाको ज्ञान सिकाउने मानिसको अभावमा उनीहरुको कला फक्रिन सकेन । रंगको अर्थज्ञान नभएका कारण रंग समायोजन मिलाउन नसकेपनि कलाकार बुद्धि प्रसाद श्रेष्ठको अभिरुचि अमूर्त चित्रकला तिर थियो । उनले केही नयना भिराम अमूर्त चित्र बनाएर नेपालगन्जमा एकल चित्रकला प्रदर्शनी पनि गरेका थिए । हुनत नेपालगन्जमा दुई चार बर्षको अन्तरालमा चित्रकला प्रदर्शनी हुनेगरेको पाइएको थियो । तर, ती प्रदर्शनीमा शिकारु पाएका चित्र प्रतिकृतिहरु नै हुन्थ्यो ।
नेपालगन्जमा कलाको विकास गर्नलाई कलाको सैद्धान्तिक ज्ञान र अभ्यास गराउने स्कुलको खाँचो छ । तर, त्यसतर्फ कसैले ध्यान दिने । अहिले पनि नेपालगन्जमा ललितकलाको क्षेत्रमा काम गर्ने मानिसको अभाव नै छ । न हुनु मामा भन्दा …मामा भएको राम्रो भने झंै कलाकार श्यामानन्द सिंहलाई देखाएर गर्नु परेको छ नेपालगन्जले । श्यामानन्द सिंहमा लगन छ, उत्साह छ कला क्षेत्रमा केही गरौं भन्ने भावना छ । उनले राम्रा–राम्रा हस्तकलाहरु निर्माण गरेका छन् । तर, उनलाई पनि कलाको सैद्धान्तिक ज्ञानको आवश्यकता छ । अवधी कला र मिथिला कला नै छुट्याउन सक्दैनन् उनी । मिथिला कला बनाउँछन्, अवधी कलाको नाम दिन्छन्, नेपालगन्जका अवधी कार्यक्रम सञ्चालकहरुले अवधीको नाममा भोजपुरी गीतहरु रेडियोमा बजाए जस्तै । रंग, दर्शन, अमूर्तकला र ब्रसको स्ट्रोकहरुमा विषयमा उनको ज्ञान पनि शुन्य बराबर छ । उनले रंग दर्शन, र अमूर्त कलाबारे अध्ययन गर्न जरुरी छ ।
कोहलपुरका विक्रम शिशिर आफ्नै सुरमा अमूर्त चित्रकला बनाउँदै छन् । बुद्धिनाथ श्रेष्ठ र उनको कलाकारिता एउटै कोटीका छन् । नयना भिराम अमूर्त चित्र बनाउन त कुशल छन् तर आफ्नै चित्रको ब्याख्या गर्न भने उनलाई स्वयं अप्ठ्यारो पर्छ । रंग र रंग संयोजनका विषयहरुमा उनले पनि आफ्नो अध्ययन बढाउनु पर्ने नै छ ।
१ सय ५० बर्षको नेपालगन्जको इतिहासले दिएका आश लाग्दा कलाकार हुन् यी दुई । भोजराज शर्मा नादिरमा पनि मैले कला चेतना भेटेको छु । तर, उनको एउटा कमजोरी के छ भने उनी कर्पोरेट संस्कृतिको चमकधमक र वाहवाही प्रति बढी आकर्षित छन् । राम्रो स्रष्टा हुन तर सिर्जनाको साधनामा टिक्दै टिक्दैनन् । विशाल क्यानभासको काल्पनिकतामा हराउँछन् उनी । कलाचेतका धनी छन् तर रंग र ब्रसले खेल्नै चाहन्नन् । नेपाली साहित्यमा स्वायल्ड जीनियस मोहनलाल श्रेष्ठ जस्तै अर्को स्वायल्ड जिनियस हुने हुन् कि नादिर, चिन्ता लाग्छ ।
नेपालगन्जको कला जस्तै यहाँको साहित्य पनि फष्टाउन सकेको छैन । १५० बर्षको नागर सभ्यता बोकेको नेपालगन्जमा उत्कृष्ट साहित्यकार निर्माण गर्न नसक्नुको आफ्नै अर्थ छन् । साहित्यमा मार्ग दर्शनको अभाव अभिरुचिले मात्र हुने होइन मार्गदर्शन पनि आवश्यक हुन्छ साहित्यको विकासका लागि । सामाजमा साहित्यका गुणग्राही भएनन् भने साहित्यकार कुंठित हुन्छ, नेपालगन्जको सन्दर्भमा त्यही भयो । साहित्यमा अभिरुचि भएका मानिस नभएका होइनन् नेपालगन्जमा तर उनीहरुको अभिरुचिले प्रोत्साहन पाएन नेपालगन्जबाट । उनीहरु कुंठित हुन पुगे । लेख्न छाडे ।
नेपालगन्जमा साहित्यको इतिहासमा दृष्टि दिंदा के पाइन्छ भने यो अवध क्षेत्र भएकाले अवधी साहित्यको पुस्तक नै यस क्षेत्रको पहिलो सांस्कृतिक कृति अवधी भाषामा नै पाइएको छ । अवधी भाषाका साहित्यकार बालक शरण नै नेपालगन्जको पहिला साहित्यकारको रुपमा देखिन्छन् । नेपालगन्जको बाँके गाउँमा सन् १९६० मा जन्मेका बालक शरणले १९९१ मा बाल दर्पण महाकाव्य लेखेका थिए । उनको सो महाकाव्य अवधी भाषामा सात अध्यायमा दोहा चौपायी छन्दमा लेखिएको छ भनेर नारायण हाइ स्कुलका शिक्षक जो पछि लखनउ विश्व विद्यालयमा हिन्दी विभागमा टिचर भए । उनले ‘नेपाल के हिन्दी कवि ओैर कविताएँ’ भन्ने डिलिटको थेसिसमा लेखेका छन् । त्यसदेखि बाहेक नेपालगन्जको अलखिया बाबा कुट्टीका एकजना जोगीले अवधीमा सात काण्डको रामायण सरल अवधीमा लेखेर लखनउबाट छपाएका थिए र सो पुस्तक बिक्री गर्न मेरो पुस्तक पसलमा दिएका थिए । बनारसबाट प्रकाशित सुन्दरी पत्रिकामा नेपालगन्जका कीर्तिबहादुर चन्दका नाउँमा एकल रचना पाइएको छ । वनारसबाटै छापिएको उदय पत्रिकामा मेघराज समशेर जबराको एउटा कथा पाइन्छ । २००१ साल पछि नेपालगन्जका इन्द्रमणि “मानव’का कथा र कविताहरु काठमाडौं र बनारसबाट छापिने ‘शारदा’ र उदय पत्रिकामा छापिएको पाइन्छ । निरन्तर साहित्यमा लागि पर्ने र नेपालगन्जमा साहित्यिक गतिविधिमा निरन्तर लागेका इन्द्रमणि ‘मानव’ नै नेपालगन्जका अग्रणी साहित्यिक व्यक्तित्व हुन् । उनले २०१६ सालमा जगत बहादुर सिंह (झल्ला राजा) को संयुक्त सम्पादनमा ‘स्व राष्ट्र’ २ महिने साहित्यिक पत्रिका प्रकाशन गरेका थिए । तर, समुचित प्रोत्साहनको अभावमा त्यो पत्रिका २ अंक प्रकाशित भएर बन्द भयो । त्यसपछि २०१८ सालमा पाटन प्रिन्टिङ्ग प्रेसबाट हिन्दी र नेपालीमा ‘अनुराधा’ पत्रिका द्वैमासिक रुपमा प्रकाशित भयो । ६ अंक सम्म प्रकाशित भएर यो पत्रिका पनि बन्द भयो । अनि मोहनलाल श्रेष्ठको प्रयासले नव युकक कला संस्कृति केन्द्रबाट ‘नौलो पाइलो’ दुई अंक प्रकाशित भयो । पहिलो अंकमा नै अञ्चलाधीशको कुदृष्टि परेकाले यो पत्रिका पनि २ अंक भन्दा बढी निस्कन सकेन । २०२३ सालमा भेरी अञ्चल पञ्चायतको तर्फबाट ‘पंचायत’ त्रैमासिक प्रकाशित भयो तर त्यो पनि नेपालगन्जले साहित्यिक अभिरुचि देखाएन भनेर आर्थिक कारण देखाई बन्द गरियो ।
यीनै सब कारणले इन्द्रमणि ‘मानव’ कुण्ठित भई लेख्न छोडेर घर थन्किनु भएको थियो । २०१३ सालको उदयमा कविता प्रकाशित गरी चर्चामा आएको वि. विकास नेपालगन्जका दोस्रो साहित्यकार व्यक्तित्वको रुपमा उदाएका थिए । उनीसँगै २०१६ सालदेखि प्रकाशित हुन थालेका प्रतिभाशाली युवक मोहनलाल श्रेष्ठ देखा परेका छन् । १०÷१५ कविता २÷३ निबन्ध र लौलोनीका नामबाट २÷३ हाँस्य व्यङ्ग्य लेखेका मोहनलाल श्रेष्ठ पनि नेपालगन्जले साहित्यिक क्षेत्रलाई हेरेन भनेर कुण्ठित भएर लेख्न छोडेका थिए । ललित सिंह सिजापति, केशव सिंह सिजापति, श्रवणकुमार श्रेष्ठ, महावीर प्रसाद गुप्त, अनिरुद्ध सिंह, पाटनदीन गुप्त, आशाराम ग्रामीण मोहम्मद आरिफ, अमीर मुहम्मद राईहरु साहित्यिक पत्रपत्रिकाको अभावले निराश हुँदै लेखन विमुख भएका थिए । नेपालगन्जको साहित्यिक माहोल रुग्ण अवस्थामा थियो । इन्द्रमणि मानव, वि. विकास, मोहनलाल श्रेष्ठहरु निराश भएर लेखन विमुख भैसकेका थियो । यस्तो निराशापूर्ण अवस्थामा मेरो साहित्यिक अभिरुचिले बाटो खोज्दै थियो । इन्द्रमणि ‘मानव’ त साहित्यको नाम सुन्नासाथ झर्किन थाल्नु हुन्थ्यो ।
त्यस्तो अवस्थालाई चिर्न मैले सर्वप्रथम मानवज्यू कुंठामुक्त गर्नका लागि पुस्तक प्रकाशन गर्ने अठोट लिएँ । मैले इन्द्रमणि मानवज्यूको कथा संग्रह अभिशप्त जीवन र अर्को कथा कविता संग्रह छाप्ने निर्णय गरे र आर्थिक कारणले मैले इन्द्रमणि ‘मानव’ज्यूको अभिशप्त जीवन कथा संग्रह प्रकाशित गराएँ । मानवज्यूलाई कथा लेख्न अनुरोध गरें । उहाँको लेखन पातलो थियो । भाषामा पनि लाहुरे भाषाको प्रभाव थियो । आधुनिक लेखनतर्फ उहाँ बढ्नै चाहनु भएन । शारदाकालीन शैलीमै कथा लेखिरहनु भयो तो पनि सारै थोरुै । वि. विकास जीसँग मिलेर ‘समय’ पत्रिका निकालियो । २०२८ सालमा पहिलो अंक नै प्रतिबन्धित भयो । दोस्रो अंकमा आफ्ना नाम हटाएर छापियो । विज्ञापन सहयोग नपाइने, साहित्यिक क्षेत्रमा कोही लगानी गर्न नचाहने, आर्थिक कारणले बन्द भयो । समयका लागि संकलन गरिएका रचनाहरु महेन्द्र बहुमुखी क्याम्पस विद्यार्थी संघको मुखपत्र ‘दियालो’को ३ अंकमा छपाइयो । पछि व्यक्तिगत रुपमा वि. विकासजीले परिवेश निकाल्नु भयो । त्यो पनि दुई अंक भन्दा अघि बढ्न सकेन ।
२०३० सालमा वि. विकासजीका आफन्त, नातेजार, रामप्रसाद श्रेष्ठ अञ्चलाधीश भएका बखत वि. विकासजीले एउटा साहित्यिक संस्था चलाउने इच्छा प्रकट गरेपछि राम प्रसाद श्रेष्ठको संरक्षकत्वमा भेरी साहित्य विकास समिति गठन भयो र सो संस्थाको मुख्यपत्रका रुपमा ‘सिर्जना’ दश अंक प्रकाशित भयो र साहित्यिक गतिविधि बढ्न थाल्यो २०३६ सालको जनमत संग्रहको राजनीतिक माहौलले भेरी साहित्य विकास समिति र सिर्जना दुवै निष्क्रिय हुँदै समाप्त भए ।
नेपालगन्जले राष्ट्रिय स्तरमा इन्द्रमणि मानव, वि. विकास, सनत रेग्मी, नन्दराम लम्साल, नयनराज पाण्डे, सिर्जन लम्साल जस्ता प्रतिभा पाएको हो तर आफ्नो प्रतिभाहरुको संरक्षण, सम्वद्र्धन र सम्मान गर्न सकेन नेपालगन्जले । आज पनि कोहलपुरको ‘पूर्णिमा’ नियमित छ र नेपालगन्जको दांैतरी र सिर्जना टुहुरो नै छन् । नेपालगन्जका व्यापारी र समाजसेवीहरुको लगानी भएको बार्दली फाउन्डेशन तामझामका साथ कर्पोरेटेड संस्कृतिको पदचिन्हमा, स्कुल, कलेजले गर्ने अतिरिक्त क्रियाकलाप र ट्यालेन्ट शो गरेर ‘प्रतिभाको खोजी’मा व्यस्त छ । बार्दलीले एउटा राम्रो पत्रिका प्रकाशन गरेर यहाँका साहित्यकारहरुलाई स्पेस दिन सक्थ्यो । साहित्यिक विमर्शमा गोष्ठीहरु गरेर नेपालगन्जको साहित्यलाई दिशा निर्देश गर्न सक्थ्यो । तर, बार्दली साहित्यिक संस्था भन्दा पनि विभिन्न शोहरुको तामझाममा हराउने बाटोमा हिंडिरहेको छ । बाल साहित्यको विकास, साहित्यमा महिलाहरुको हस्तक्षेप, साहित्य र सामाजिक सद्भाव, यसका विषयमा कसले सोंचिदिने । साहित्यिक सन्दर्भमा सहयोग माग्न जाँदा, हामीले ‘बार्दली फाउण्डेशन’ खोलिदिएका छौं । राम्रै लगानी लगाउन तयार छौं भन्छन् । तर ‘बार्दली’को भिजन के ट्यालेन्टको खोजी मात्र हो कि साहित्यिक विकासको योजना पनि छ ? मैले अझैसम्म नेपालगन्जका अगुवाहरु, व्यापारी उद्योगपतिहरु, साहित्य, संस्कृति र कलाको विकासमा के गर्न चाहन्छन् बुझ्न सकेको छैन । यस्तै, यस्तै छ, नेपालगन्ज र संस्कृति साहित्य र कलाको कहानी !