घरेलु मदिरा विरुद्ध प्रहरी अप्रेशन

गाउँबाट भारत तिर गइरहेको अवैध मदिरा विरुद्ध प्रहरी कारवाही

सिमावर्ती गाउँमा मदिरा सस्तो पाइने भ्रम र भारतीय सेवाग्राहीको उपलब्धता बढी रहेका बेला बाँके राप्तीपारि क्षेत्रमा प्रहरी अवैध मदिरा विरुद्ध अप्रेशन सुरु गरेको छ । बाँके नरैनापुर र राप्ती सोनारी गाउँपालिको आधा बढी क्षेत्र हेर्दै आएको इलाका प्रहरी कार्यालय भगवानपुरले घरेलु मदिरा विरुद्ध कारवाही थालेको हो । सो क्रममा नरैनापुर गाउँपालिका वडा नं.५ नयाँ वस्तीबाट कारवाही थालिएको प्रहरीले जनाएको छ ।

 
बाँके राप्तीपारि क्षेत्रबाट स्थानीय मदिरा संगै सस्तो ब्राण्डका मदिरा भारतीय क्षेत्रमा तस्करी बढेपछि प्रहरीले कारवाही सुरु गरेको हो । गाउँमा रहेका मदिरा पसलमा आएस मदिरा सेवन गर्ने र पछि वादविवाद गरि समस्या उत्पन्न गर्ने घटना आउन थालेपछि प्रहरीले कारवाही अघि बढाएको हो ।

 
राप्तीपारि क्षेत्रमा घरेलु मदिरा कारोबारमा प्रहरी संलग्नता रहेको बारे तथ्यहरु बाहिर आउन थालेपछि प्रहरीले सो विषयमा कारवाही अघि बढाएको हो । ‘हामीले नयाँ वस्तीमा उत्पादन भइरहेको स्थानीय मदिराको तीन वटा केन्द्रलाई नष्ट गरेका छौं’, दैनिक नेपालगन्ज संग कुरा गर्दै इलाका प्रहरी कार्यालय भगवानपुरका इन्चार्ज प्रहरी निरीक्षक विरेन्द्र विर विश्वकर्माले भने, ‘विस्तारै अन्य क्षेत्रमा पनि कारवाही बढाउने तयारीमा छौं ।’

 
अनुमति प्राप्त मदिरा ब्यवसायिक केन्द्रहरुमा समेत घरेलु मदिरा बिक्री वितरण हुने गरेको पाइएको छ । स्थानीय बासिन्दाले दिएको जानकारी अनुसार भारतीय उपभोक्ताले लोकल मदिरानै खोज्ने भएकोले पसलमा स्थानीय मदिराको कारोबार हुँदै आएको हो । उत्पादन हुने स्थान, भारतीय क्षेत्रमा तस्करी गर्ने सन्जाल र कारोबारमा संलग्न ब्यक्तिहरु बारे अनुसन्धान पूरा भएपछि प्रहरीले सो सन्दर्भमा कारवाही अघि बढाएको हो । उत्पादन हुने मदिरा र खपत हुने मदिरा बारे विश्लेषण गरिसकेपछि कारवाही अघि सारिएको इन्चार्ज विश्वकर्माले बताए ।

 
गृहमन्त्रालयले घरेलु मदिराको कारोबार नियन्त्रण गरी समाजलाई कानून बमोजिम ब्यवस्थापन गर्न निर्देशन दिएपछि प्रहरीले पछिल्लो समयमा मदिरा विरुद्ध कारवाही गर्दै आएको हो । ‘समाजमा ब्याप्त रहेको मदिराको समस्या र चुनौती बारे स्थानीय स्तरमा पनि ब्यक्तिहरु संग कुरा गरियो’, इन्चार्ज विश्वकर्माले भने, ‘मदिराकै कारण परिवारमा झैझगडा हुने अशान्ति हुने गरेको पाइएपछि नियन्त्रणको प्रयास थालिएको छ ।’वडा प्रहरी कार्यालय नेपालगन्जले वडा नं.६ बाट यसअघि घरेलु मदिरा नष्ट गरेको एक सातापछि प्रहरी चौतर्फी रुपमा एक्सनमा देखिएको हो । अवैधानिक तरिकाले भइरहेको कारोबारको सूचनाको आधारमा अनुसन्धान अघि बढाइएको थियो ।

 
कानून बमोजिम कर नतिरेर घरमा उत्पादन गरिएको मदिरालाई कडाईका साथ निस्तेज पार्न सक्रिय दिएको प्रहरीले सिमावर्ती क्षेत्रमा भइरहेको तस्करी अझै नियन्त्रणमा लिन सकेको छैन । सोंफी र सो बमोजिम मुल्य पर्ने अन्य ब्राण्डका मदिरा भारतीय क्षेत्रमा निरन्तर बरामद हँुदै आएपछि सिमावर्ती क्षेत्रमा तस्करीको जालो कामय रहेको पाइएको हो । भारतीय क्षेत्रमा मदिरा निषेध भएपछि विहार र उत्तर प्रदेशमा नेपाली मदिराले बजार लिँदै आएको छ ।

 
सस्तो मुल्यमा खरीद गरि भारतीय क्षेत्रमा लगिएको मदिरा महंगो मुल्यमा बिक्री हुन थालेपछि तस्करले मदिरालाई प्राथमिकतामा राख्दै आएको प्रहरी भनाई छ । पछिल्लो समयमा सिमाक्षेत्रका बढाइएको निगरानी पछि केहि नियन्त्रण भएपनि कारवाही अझै बाँकी रहेको इलाका प्रहरी कार्यालय भगवानपुरले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया