कस्ले गर्यो समीक्षाको हत्या ?

विकाश पराजुली
गत असार २० गते रहस्यमय ढंगले जलेर मृत्यु भएकी समीक्षा ठकुरीको घटना छिटो बाहिर ल्याउन सामाजिक संघ संस्थाहरुले प्रहरीलाई दवाव दिएका छन् । रुपन्देहीको कञ्चन गाउँपालिका रुद्रपुरकी समीक्षाको ज्यान गएको १५ दिन बितिसक्दा पनि सत्यतथ्य बाहिर नआएको भन्दै उनीहरुले प्रहरीलाई दवाव दिएका हुन् ।

 
असार ९ गते राती साढे ३ बजे जलेर घाइते भएकी समीक्षाको असार २० गते काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको थियो । समीक्षाकी आमा माया थापाले बुटवलको इलाका प्रहरी कार्यालयमा जाहेरी दर्ता गरेपछि प्रहरीले अनुसन्धान थालेको थियो । तर, अनुसन्धान थालेको प्रहरीले १६ दिन सम्म पनि दोषी पत्ता नलागेको भन्दै स्थानीय आमा समूहले घटनाको सत्य तथ्य छिटो बाहिर ल्याउन माग गर्दै दवाव दिएका हुन् ।

 
प्रहरीले अनुसन्धानमा चासो नदिएको भन्दै उनीहरुले घटनाको यथार्थ बाहिर ल्याउन माग गरे । मृतक समिक्षाकी सानीआमा रचना बुढाथोकीले प्रहरीले कसैको दवावमा रहेर घटनाको अनुसन्धानमा ढिलाई भएको आरोप लगाइन् । उनले घटनाको लामो समय भइसक्दा समेत प्रहरीले घटनाका बारेमा गम्भीर नलिएको दावी गरिन् ।

 

घटनापछि कञ्चन गाउपालिकामा रहेका ९ वटा आमा समुह र सामुदायिक बन उपभोत्ता समितिका महिलाहरुले ईलाका प्रहरी कार्यालय सालझण्डीमा दुई घण्टा दवाव दिएका छन् । उनीहरुले प्रहरीले पटक पटक म्याद थप गर्दै आएपनि घटनाको अनुसन्धानमा चासो नदेखाएपछि दवाव दिन प्रहरी चौकीमा आएको बताए । १५ दिन देखि घटना बारे केही रहस्य बाहिर आउने आश गरेपनि केही नभएपछि दवाव दिन प्रहरी चौकीमा आएकी कञ्चन गाउपालिका रुद्रपुरकी समाजसेवी गौरा थापाले बताइन् । उनले पटक पटक म्याद थप गर्दै दुई जनालाई राख्ने र अरुलाई छाड्ने गरेको भन्दै घटनाको यथार्थ बाहिर नआउन्जेल सबैलाई अनुसन्धानको दायरमा राख्नुपर्ने उनले बताइन् ।
। गत कार्तिक देखि पिपराचापमा बस्दै आएकी समीक्षाको मृत्यु भएपछि आमा माया थापाले परिबारका अन्य सदस्यहरुले यातना दिने गरेको र छोरीलाई परिबारकै सदस्यले आगो लगाइदिएको आरोप लगाइन् । समीक्षा जन्मिएको ९ महिनामै बुवा तेजेन्द्र ठकुरीले दोस्रो विवाह गरेपनि उनी आमा माया संगै मामा घरमा बस्दै आएकी थिइन् । मामाघरमै हुर्किएकी समीक्षा गत तिहारपछि रुपन्देहीको कञ्चन गाउँपालिका ५ पिपरीचापा स्थित घरमा बस्दै आएकी थिइन् । आमा इराक गएपछि घर फर्किएर समीक्षाले अंश दाबी गरेको परिवारिक स्रोत बताउँछ । समीक्षाले घरमा हजुरआमा, बाबा, हजुरबाबालगायतको यातना खेप्ने गरेको मायाको आरोप छ ।
यता प्रहरीले भने अनुसन्धान जारी रहेकाले केही बोल्न नमिल्ने बताएको छ । इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी डिल बहादुर मल्लले घटनाको बारेमा गम्भीर अनुसन्धान भइरहेको भन्दै अहिले केही बोली हाल्न नमिल्ने बताए । प्रहरीले मृतक समीक्षाकी हजुरआमा हरिमाया ठकुरी, कान्छी फुपु शोमा रानालाई म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया