पश्चिममा बढ्दै कालाजार !

बुटवल/समाचारदाता

दुई वर्षपछि सन् २०२० मा उन्मुलन लक्ष्य लिइएको कालाजार पश्चिम नेपालमा बढ्दै गएको भेटिएको छ । उन्मूलन भइसकेको भन्दै नियन्त्रण कार्यक्रम बन्द गरिएको नारायणी पश्चिम क्षेत्रमा कालाजारका बिरामी बढ्न थालेका हुन ।
सरकारले सन् २०१४ मा नारायणी पश्चिममा कालाजार नरहेको भन्दै नियन्त्रण कार्यक्रम बन्द गरेपनि पुनः नारायणी पश्चिम ९० जना बिरामी फेला परेका छन । प्रदेश नम्बर ५ मा मात्रै बिरामीको संख्या ८० रहेको छ । बुटवलको लुम्बिनी अञ्चल अस्पताल सहित विभिन्न अस्पतालमा स्याङ्जा बाट आएका १० र सल्यानका १ जनामा कालाजार भेटिएको हो । प्रदेश ५ को पाल्पामा सबैभन्दा बढी ४१ जना कालाजारका बिरामी भेटिएका हुन् । ‘उन्मुलन भएको भनिएको कालाजारका विरामी अहिले भेटिन थालेका छन, अञ्चल अस्पतालमा समेत विरामीहरु आउने गरेका छन्,’ अञ्चल अस्पताल बुटवलका मेडिकल रेकर्ड लक्ष्मीराज रेग्मीले भने ।

 

कालाजारलाई विशेषगरी तराईमा फैलिने रोगका रुपमा लिइन्छ । यो रोग फैलिनका लागि उपयुक्त तापक्रम १६ देखि ३० डिग्री हो । तर पहाडमा तापक्रम बढेकाले भुसुना फैलदै गएको आकलन गरिएको छ । पछिल्लो ४ वर्षमा पाल्पामा ४१ र प्यूठानमा १७ बिरामी भेटिएका छन् । दाङ, अर्घाखाँची र गुल्मीमा ५/५ जना, रूपन्देहीमा ३ तथा कपिलवस्तु, रोल्पा, नवलपरासी र बाँकेमा एक/एक जना बिरामी भेटिएका छन् । भाइरसहरुको परिवर्तनका कारण पहाडमा कालाजार लगाउने भुसुना पुगेकाले पहाडमा समेत कालाजारको विरामी बढेको हुन सक्ने अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डन डा. कृष्ण खनालले बताए ।
सन् २०१३ मा गरिएको सरकारी सर्वेक्षणले पर्सा देखि झापासम्मका तराई तथा भित्री मधेसका जिल्लामा मात्र कालाजार रहेको तथ्यांक सार्वजनिक गरेको थियो । नारायणी पश्चिमका जिल्लामा संक्रमण नरहेको भन्दै रोकथाम र औषधि वितरण रोकिएको थियो । २०१४ मा प्युठानका बिरामीमा कालाजार भेटिएपछि पश्चिम नेपालमा पनि निशुल्क उपचारको व्यवस्था गरिएको छ । सरकारले सन् २०२० सम्म कालाजार उन्मूलन गर्ने लक्ष्य लिएको छ तर नियन्त्रणमा समस्या देखिएको छ ।
के हो कालाजार ?
यो रोग लामखुट्टे, भुसुना जस्ता परजीवीको टोकाइबाट लाग्ने रोग हो । यो रोग सेन्ड फ्लाई भनिने भुसुनाको टोकाइबाट सर्छ । लिस्मेनिया परजीवीको संक्रमणबाट तीन प्रकारका रोग उत्पन्न हुन्छन् ।
१. क्युटेनिएस लिस्मेनियासिस ः जसले छालामा असर गर्छ । २. म्युको–क्युटेनिएस : जसले मुख, नाक, घाँटीको आवरण अर्थात् म्युकस मेम्ब्रेनमा असर गर्छ । ३. भिसरल लिस्मेनियासिस जसलाई ’कालाजार’ भनिन्छ । यसले कलेजो, स्प्लिन जस्ता शरीरका भित्री अंगमा असर गर्छ । कालाजारले शरीरको प्रतिरोधात्मक शक्ति घटाउँछ । उपचार नगरेको खण्डमा यो रोगले मान्छेको ज्यानै लिन्छ ।
अस्ट्रेलिया र अन्टाकटिका बाहेक नेपाल लगायत संसारभरि यो रोग पाइन्छ । तथापि यो रोगका ९० प्रतिशतभन्दा बढी बिरामी भारत, बंगलादेश, इथियोपिया, ब्राजिल र सुडानमा भेटिन्छन् । यो रोगबाट प्रायः जसो गरिब, अशिक्षित, कुपोषित, प्रतिरोधात्मक शक्ति कमजोर भएका मानिसहरु पीडित हुन्छन् ।
कालाजारको कारक परजीवी लिस्मेनिया पोथी भुसुनाको टोकाइबाट कालाजार मानिसमा सर्छ । प्रायः गर्मीयाममा साँझपख र राति भुसुनाहरु बढी सक्रिय हुन्छन् । लिस्मेनिया परजीवी कुकुरमा पनि पाइन्छ । संक्रमित कुकुरलाई टोकेका भुसुनाले मान्छेलाई टोक्दा पनि यो रोग सर्न सक्छ । संक्रमित रगत ट्रान्स्फ्युज गर्दा वा एउटै सिरिन्ज रोगी तथा अन्य मानिसलाई प्रयोग गर्दा यो रोग सर्छ ।
भुसुनाले टोकेपछि कालाजार रोगका लक्षणहरु देखिन २/८ महिना लाग्छ । दुब्लाउनु, कमजोर हुनु, खोकी लाग्नु, महिनौँ ज्वरो आउनु, जिउको रङ कालो हुँदै जानु, छाला खस्रो हुनु, रक्त अल्पता, राति पसिना आउनु, पेट फुल्नु, कलेजो तथा स्प्लिनको आकार बढ्नु, रगत बग्नु आदि कालाजार रोगका लक्षणहरु हुन् ।
कालाजार रोग रगतको जाँच तथा हाडभित्रको मासी जाँच गरेर यो रोगको निदान गरिन्छ । कालाजार उपचारबाट निको हुने रोग हो । एम्फोटेरेसिन बि, सोडिएम स्टिबोग्लुकोनेट, मिल्टेफोसिन आदि कालाजार विरुद्ध प्रयोग गरिने औषधि हुन् ।

प्रतिक्रिया

प्रतिक्रिया